स्थानीय तह निर्वाचन : कार्यकाल दोहोर्‍याउन चाहान्छन् गाउँपालिका अध्यक्षहरु

स्थानीय तह निर्वाचन : कार्यकाल दोहोर्‍याउन चाहान्छन् गाउँपालिका अध्यक्षहरु


वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि यो बेला गाउँगाउँमा चहलपहल सुरु भएको छ । चुनावमा सहभागी हुन सहरबाट मतदाताहरु गाउँ पस्न थालेका छन् । आफ्ना नेतालाई विजयी गराउन उनीहरुले चुनावी कार्यक्रम सुरु गरेका हुन् ।

नेताहरु पनि मतदातालाई आफ्नो पक्षमा तान्न लागि परेका छन् । युवा मतदाता यो पटकको निर्वाचनमा निर्णायक हुने भएपछि युवा लक्षित कार्यक्रम ल्याएर आफूतिर ध्यान खिच्न उनीहरु तल्लिन छन् । अर्को तर्फ केन्द्रदेखि गाउँ तहसम्म नेताहरुलाई चुनावी तालमेल मिलाउँदै भागवन्डा मिलाउन पनि भ्याइनभ्याइ छ।

२००४ साल जेठ २७ गते भएको काठमाण्डौं नगरपालिकाको निर्वाचनलाई नेपालकाे इतिहासमा पहिलो निर्वाचन मानिँदै आएको छ। २०७४ सालसम्म आइपुग्दा धेरै पटक निर्वाचन भए। २०७४ सालमा संघीयता आएपछिको पहिलो निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), मधेश केन्द्रित दल, राप्रपाबीच प्रतिस्पर्धा थियो । वैशाख ३० गतेका लागि तोकिएको निर्वाचनमा सत्ता गठबन्धनका कांग्रेस, माओवादी, नेकपा एस, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेलको तयारी छ। नेकपा एमालेले पनि राप्रपाका दुबै पार्टीसँग गठबन्धनका लागि कुराकानी गरिरहेको छ । 

यो लेखमा हामीले महिला अध्यक्ष भएका ११ वटा गाउँपालिकामध्ये ५ वटा पालिका अध्यक्षसँग अनुभव र आगामी योजनाबारे कुराकानी गरेका छौं । 

कुमारीबराल,सिस्ने गाउँपालिका,रुकुमपूर्व
‘खास गरेर म यहाँ जानेभन्दा पनि पार्टीले गरेको निर्णय मान्ने हो। म जहाँ गएपनि प्रत्यक्ष निर्वाचन प्रणालीबाट जाने सोचमा छु । अबको निर्वाचनमा दोहोरिन चाहान्छु किनकी मलाई गाउँबासीले फेरि तपाईं आउँनुपर्छ भन्नु भएको छ। पार्टी पनि म दोहोरिने  कुरामा सकारात्मक छ। यो ५ वर्षको अवधिमा हामीले स्थानीय तहको जग बसाल्ने काम गरेका छौं। गाउँपालिकालाई नयाँ नीति नियमसँग साक्षात्कार गराएका छौं। आवश्यक नीति नियम बनाएर लामो समय जनप्रतिनिधिविहीन भएको अवस्थामा स्थानीय सरकारको आभास दिएका छौं। रुकुमपूर्वको हाम्रो गाउँपालिका विकटक्षेत्र हो । यहाँका जनताको आधारभूत आवश्यकता नै पूरा नभएको अवस्था थियो । हामीले त्यसलाई प्राथमिकतामा राखेर काम गरेका छौं । शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार तथा वेरोजगारीको समस्या हल गर्न हामी निरन्तर लागेका छौं ।

गाउँमा उत्पादन बढाउने तथा कृषि कार्यक्रम गरेर स्थानीयलाई उत्पादनसँग जोडेका छौं। महिलाले नेतृत्व गरेको गाउँपालिकामा के नै विकास भएको होला र भन्नेहरुको मुख बन्द गराएका छौं। हाम्रो काम देखेर गाउँँबासीहरु सन्तुष्ट छन्। मैले मेरो जिम्मेवारीलाई इमान्दारीतापूर्वक पूरा गरेको छु । स्थानीय तहको नेतृत्व गरेको मानिस संघ प्रदेश जुनसुकै क्षेत्रमा गएर काम गर्न सक्ने क्षमता हुन्छ, त्यो क्षमता मैले पनि बनाएको छु। अब महिलालाई कोटा पुर्याउन मात्र जिम्मेवारी नदिएर देशको विकास गर्ने र निकाश दिने नेतृत्वदायी स्थानमा महिलालाई जिम्मेवारी दिन जरुरी छ। हामी महिलाले क्षमताअनुसार नेतृत्व दिए काम गर्न सकिन्छ भन्ने उदाहरण दिएका छौं। मेरो नगरमा मैले भ्रूण हत्या गरिने कुकामलाई रोक्न छोरी बचत कार्यक्रम, बालबिबाह रोक्न जनचेतनामुलक कार्यक्रमहरु निरन्तररुपमा गरिरहेको छु। हिंसापीडित महिलाहरुको लागि आपतकालिन सुरक्षित आवासको स्थापनासमेत गरेको छु। काम गर्न गाह्रो भएपनि जनतालाई खुसी बनाउँन पाउँदा आफूलाई पनि बढो आनन्द आउँने रहेछ।’

सीता पौडेल, कालिका गाउँपालिका, रसुवा 
‘मेरो नयाँ स्थानमा जाने सोच छैन। म पुनः अध्यक्ष दोहोर्याउन चाहान्छु । पार्टीले निर्णय गरेको छैन। मेरो व्यक्तिगत सोच हो। व्यक्तिगत स्वार्थलाई त्यागेर जनताको काममा लागेको छु। सबैले तपाईं आउँनुपर्छ भन्नु भएको छ। मेरो प्रमुख उद्देश्य भनेको भ्रष्टाचार अन्त्य गर्नु थियो । सो काम गर्न म सफल भएको छु। मेरो गाउँमा मैले जे जति काम गरेको छु, त्यो पारदर्शी छ। सुशासन कायम गर्न सफल भएको छु। भूकम्पबाट तहसनहस भएका यहाँका घरहरु पुनर्निर्माण गरेका छौं । गाउँपालिकालाई हरेक क्षेत्रबाट माथि उठाउन पारदर्शी ढंगबाट काम भएका छन् । हिजो चुलोचौकामा सीमित महिलालाई साक्षर गराउने तथा सभा समारोहमा उपस्थित गराउने वातावरण बनेको छ। अवसर दिए पुरुषको भन्दा राम्रो महिलाले कार्यसम्पादन गर्ने भएकाले अबका हरेक स्थानीय तहले महिलालाई नेतृत्वमा लैजान सोच्नुपर्ने दिन आएको छ। महिला भनेर हुँदैन आफू पनि अगाडि बढ्न उत्सुक हुने दिन आएको छ। अबका हरेक क्षेत्रमा महिलालाई देशको नेतृत्वदायी स्थानमा ल्याउन पार्टी परिवार र जनता जुट्नु पर्छ, तब मात्र देशको विकासले काँचुली फेर्ने छ। यसका लागि घर परिवार तथा जनसमुदायको भूमिका र साथ चाहिने गर्छ।’

दिलमाया बुढामगर, कुमाख मालिका गाउँपालिका, सल्यान 
‘म बाँकी रहेको कामलाई पूरा गर्ने तथा गाउँलाई विकास र समृद्धिमा बनाउन कम्मर कसेर लागेको छु। यसका लागि एक कार्यकालको समय मात्र अपुग भयो। दोहोर्याउने सोचमा छु । जनाधार पनि मेरो पक्षमा छ । मलाई पुनः तपाईं नै आउनुपर्छ भनेर पटकपटक भन्नु भएको छ। मेरो सोच पनि अधुरा कामलाई पूरा गरेर गाउँलाई नमुना बनाउने हो । २० वर्ष कर्मचारीको भरमा चलेको स्थानीय तहमा हामी आएपछि धेरै महत्वपूर्ण काम भएका छन् । सडक, शिक्षा, स्वास्थ्य तथा जनताका आधारभूत आवश्यकताको पूरा गरेका छौं। विकट गाउँ भएकाले जनताका आवश्यकता नै पूरा हुन सकेको अवस्था थिएन । हामीले उज्यालो गाउँ बनाउन सबै वडामा पहुँचले भ्याउने गरेर बिजुली तथा सौर्य उर्जा वितरण गरेका छौं। जनतालाई स्थानीय उत्पादनसँग जोडेका छौं। आवश्यकता अनुसारका भवन निर्माण तथा अनाथ बालबालिकाका लागि आवासीय विद्यालय भवन निर्माण गरेका छौं। यो जिम्मेवारीलाई मैले अवसरसँगै चुनौतीको रुपमा लिएको छु। गाउँका काम गर्दा धेरै चुनौती थियो, त्यसलाई चिरेर अगाडि बढेको छु। जनताको सेवक भएर काम गरेको छु। आगामी दिनमा पनि यसलाई जहाँ र जस्तो अवस्थामा भए पनि निरन्तरता दिनेछु। हामीलाई पार्टी  र जनताले अवसर दिए भने काममा जवाफदेहिता तथा पारदर्शी ढङ्गले काम गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छौं। 

मायादेवी रानाआले, म्याग्दे गाउँपालिका, तनहुँ 
‘म यो पटक गाउँपालिकामा नै रहने सोचमा छु। म एकपटक दोहोर्याउन चाहान्छु। पार्टीबाट पनि दाहोर्याउन आग्रह आएको छ। म प्रति मेरो कामप्रति जनता र पार्टी सकारात्मक छन् । नयाँ जिम्मेवारी लिँदा सिक्दै काम गरियो। कानूनी जटिलता धेरै थिए। हामीलाई कोभिड र बाढी पहिरोले विकास निर्माणको काम गर्न ठूलो अवरोध गर्यो । सोचेका र योजना बनाएका कामहरु पूरा हुन पाएनन्। तर जे गरेका छौं त्यो कामबाट नगरबासी सन्तुष्ट हुनुहुन्छ। अवसरको सदुपयोग भएको छ। पितृसत्तात्मक सोचलाई अन्त्य गरेर गाउँको विकासमा निरन्तर खटिएको छु। गाउँबासीको पनि साथ सहयोग राम्रो ढङ्गबाट पाएको छु। अब प्रतिबद्धता गरेअनुसारका सम्पूर्ण कामलाई त पूरा गर्न सकिएन किनकी प्रकोपका कारण नसोचेको क्षेत्रमा खर्च भएकाले केही कामहरु गर्न पाइएको छैन। अब कार्यकाल दाहोर्याएर बाँकी योजनालाई पूरा गर्दै थप कामलाई अघि बढाउने सोचमा छु। त्यसका लागि पार्टी र जनता सकारात्मक हुनुहुन्छ भन्ने मलाई लागेको छ। काम गरेर देखाएको छु। त्यो कारण मैले पुनः नेतृत्वमा आउन चाहदा सहयोग नगर्ने भन्ने कोही हुनुहुन्न जस्तो लागेको छ।’

दीपा बोहोरा , सुनकोसी गाउँपालिका,सिन्धुली 
‘म पुनः दोहोरिन चाहान्छु। पार्टी र जनता म प्रति सकारात्मक हुनुहुन्छ। मलाई जनताले फेरि आउनका लागि भनिरहनु भएको छ। हामी साथ दिन तयार छौं भन्ने कुरा गर्नुभएको छ। निर्वाचित भएर जाँदा पहिले नौलो अनुभव भएको थियो । काम गर्ने नीति नियम नभएका कारण गाह्रो अवस्था थियो । पछि सहज भएको छ। स्थानीय तहको नेतृत्व गरिरहँदा थुप्रै कुराहरुको मेलोमेसो मिलाउन सकस भयो तर जनताको सुझाव र कर्मचारीको साथले काम गर्ने वातावरण बन्दै गयो । भौगोलिक क्षेत्रका कारण पनि कतिपय समस्याहरु आउँने रहेछन् । त्यसलाई मिलाएर लगियो । हामीले सामाजिक विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गर्यौं। शिक्षा, स्वास्थ्य तथा सुविधाको पहुँच जनमानसमा पुर्याउन हामीले ज्यादै महत्वपूर्ण काम गरेका छौं। हाम्रो क्षेत्र सुख्खा गाउँपालिका थियो, हामीले खानेपानीको पहुँच सबैमा पुर्याएका छौं। महिलालाई आफ्नो अधिकारका लागि अग्रसर हुने बाटो निर्माण गरेका छौं । पहिलो वर्ष नीति निर्माणमा समय खर्चिएको भएपनि पछिल्ला वर्ष सहजरुपमा काम गर्न पाइएको छ। जनताले आफ्नो अधिकार घरघरमा आएको अनुभव गरेका छन्। महिलाले जनतालाई विस्वासघात गर्दैनन् भन्ने कुराको विश्वास दिलाउन हामी सफल भएका छौं। अब हरेक दलले राजनीतिमा महिला सहभागिता मात्र होइन, नेतृत्वमा नै महिलालाई अवसर दिए हरेक क्षेत्रको प्रगतिले चुली छुने थियो भन्ने लागेको छ ।’

Logo