काठमाडौं महानगरको मेयरमा ५ सेलिब्रेटी आकांक्षी (भिडियाे)

काठमाडौं महानगरको मेयरमा ५ सेलिब्रेटी आकांक्षी (भिडियाे)


अधिकांशको सपनाको सहर, अनि धेरैको सफलताको गतव्य । त्यसमा पनि संघीय राजधानी भएकाले पनि काठमाडौं सहरप्रति धेरैको चासो रहने गर्दैछ । स्थानिय तहको निर्वाचन नजिकिएसँगै काठमाडौंको मेयर बन्ने आकांक्षीबीच होडबाजी समेत सुरु भएको छ । उक्त दौडमा कलाकार, पूर्वडिआइजि सहित पूर्वमन्त्री पनि छन् । 

मानिसहरुको सहर केन्द्रीत मोह, यो सहरले दिने अवसर र देशको संघिय राजधानी भएकाले काठमाडौं महानगरको निर्वाचन विशेष हुनेगर्दछ । शीर्ष नेताहरु चुनावी तालमेलका लागि गठबन्धनको बैठक र घरदैलो कार्यक्रममा दौडिरहेका बेला पुरानो नेतृत्वबाट दिक्क भएका समय सर्वासाधरण भने मेयरको आकांक्षीमा सेलिब्रेटिको चर्चा समाजिक सञ्जालमा गर्न र उनिहरुकै अन्तर्वार्ता हेर्न ब्यस्त देखिन्छन् ।

एकपछि अर्का सेलिब्रेटिले उमेदवारी घोषणा गरिरहेका बोला काठमाडौं महानगरका वर्तमान मेयर विद्यासुन्दर शाक्य भने पुनः मेयरमै दोहोरिने सोचमा छन् । उपमेयर हरीप्रभा खड्गी पनि मेयरकै आकांक्षी छन् । तर यी दुबैको चर्चालाई ओझेलमा पार्दै सेलिब्रेटि र्यापर बालेन शाहको चर्चा अहिले चुलिएको छ । अर्का सेलिब्रेटि भुवन केसीले समेत मेयरमा उठ्ने घोषणा गरेपछि काठमाडौं महानगरमा सेटिब्रेटी मोह चुलिएको हो । केही समय अघि महानायक राजेश हमालले आफ्नो यूट्युब च्यानलमा अव्यवस्थित काठमाडौंका बाटाघाटालाई ब्यङ्ग्य गर्दै मेयरमा उठ्नु पर्छ कि भन्दै दिएको अभिव्यक्तिलाई लिएर स्वागत र विरोध गर्नेहरुको पनि कमी थिएन । पूर्व मन्त्री रहिसकेका भिमशेन दास प्रधान, केशव स्थापित र रामवीर मानन्धर पनि मेयरकै दौडमा रहेका छन् । यही दौडमा पूर्व डिआइजि रमेश खरेल र पूर्व मिस नेवा सुनिता डंगोल समेत देखिन्छन् ।

यहाँ हामीले काठमाडौंको मेयरको दौडमा रहेका ५ सेलिब्रेटिको मात्र चर्चा गर्ने प्रयास गरेका छौं । 

१ इन्जिनियर तथा र्यापर बालेन साह

युवा पुस्तमा रुचाइएका र्यापर बालेन साहको चर्चा चुनावको मिती तय हुन अघिबाटै छ । भारतबाट स्टक्चरल इञ्जिनियरिङमा मास्टर सकेका साहले काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उमेदवारको रुपमा आफुलाइ अघि सारेका छन् । पुरानो नेतृत्वले नेपाललाई विकसित मुलुक जस्तै बनाउने आस्वासन दिँदै आएको समयमा साहले काठमाडौंलाई काठमाडौं जस्तै बनाउने दाबी गर्दै आएका छन् । उनले काठमाडौंको ट्रफिक र फोहोर व्यवस्थापनका विषयमा समेत गृहकार्य गरिरहेका छन् । र्यापर शाह काठमाडौं मै जन्मिएका हुन् । 

२ अभिनेता भुवन केसी 

मेयरमा उम्मेद्वारी घोषणा गरेपछि कलाकार भुवन केसीको चर्चा सामाजिक सञ्जालमा एकाएक बढेको छ । उन्नत लोकतन्त्र पार्टीको मंगलबार बसेको बैठकले कलाकार केसीलाई काठमाडौं महानगरको मेयर पदको उमेदवारको रुपमा अघि सारेपछि उनको चर्चा सुरु भएको हो । काठमाडौंबासी केसीले साढे ३ दशक नेपाली चलचित्रमा विताएका छन् । पार्टीबाट नाम अघि आएपछि उनी पनि चुनावी तायारीमा लागेका छन् । 

३ पूर्व मिस नेवाः सुनिता डंगोल 

सन् २०११ को मिस नेवाको ताज पहिरिएकी सुनिता डंगोल पनि काठमाडौंको मेयरको प्रतिस्पर्धामा उत्रिएकी छन् । कुनै पार्टीबाट नभइ उनले स्वतन्त्र उम्मेदवारी दिन लागेकी हुन् । नेपाल टेलिभिजनबाट शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएकी डंगोल यतिबेला निर्वाचनको आन्तरिक तयारीमा छन् । आफु जन्मिएको भूमिमा आफ्नो ज्ञान, सीप र क्षमताको उपयोग गर्दै काठमाडौंलाई सुन्दर र समृद्ध बनाउने उनको सपना रहेको छ ।

४ पूर्वडिआईजी रमेश खरेल

२०७४ सालमा नेपाल प्रहरीबाट राजीनामा दिएका पूर्वडिआईजी रमेश खरेलले गत पुसमा नेपाल सुशासन पार्टी दर्ता गराएका थिए । सेलिब्रेटी छवि बनाएका खरेलले पनि काठमाडौं महानगरपालिकाको मेयरमा आफ्नो उमेदवारी घोषणा गरेका छन् । नेपाल प्रहरीबाट राजीनामा दिएपछि उनी नेपाल सुशासन अभियानमा लागेका हुन् । अभियान्ताको रुपमा काम गर्दै आएका उनी यतिबेला भने पार्टी खोलेर संगठन विस्तारमा लागिपरेका छन् । उनको मतदाता नामावली काठमाडौं ३१ बाट रहेको छ । 

५ काठमाडौंका पूर्व मेयर केशब स्थापित

केशव स्थापितले काठमाडौं महानगरलाई अहिलेको अवस्थामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । ०५४ सालमा नै उनले महानगरको नेतृत्व सम्हालेका हुन् । ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौं’ भन्ने नारा उनले नै चर्चामा ल्याएका थिए । मेयरमा सफल स्थापित फेरि एक पटक चर्चामा छन् । उनले पुनः मेयरमा उम्मेदवार घोषणा गरेका छन् । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका स्थापित वाग्मती प्रदेशका सांसद पनि हुन् । निर्वाचनको मिति नजिकिएसँगै उनको चर्चा मात्र हैन चुनावीसभाहरु समेत बढ्न थालेको छ ।  

विगतका वर्षमा देशले भोगेको कोरोना महामारी र पदमा भएकाहरुले गरेको स्वार्थर्पूण राजनीतिबाट जनता दिक्क भएका बेला सेलिब्रेटिहरुको यो कदमलाई मतदाताले भने कुन रुपमा लिन्छन्, मत परिणामले देखाउला । तर काठमाडौं महानगरलाई सम्बृद्ध र सुविधा सम्पन्न बनाउन उनीहरुले लिएको चासो भने प्रशंसायोग्य छ । महानगरको मेयरमा उनीहरुको चासो, सेलिब्रेटीको चर्चाका लागि मात्र नहोस शुभकामना ।

 

Logo