स्थानीय निर्वाचनको मिती नजिकिएसँगै राजनीतिक दलहरू उम्मेदवार छनौटमा केन्द्रित भएका छन् । देशभरका ७५३ वटा स्थानीय तहको प्रमुख, उप्रमुख तथा सदस्यका लागि अहिले राजनीतिक दलका नेता कार्यकर्ताहरू उम्मेदवार बन्ने लबिङमा व्यस्त छन् । केन्द्रमा सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सम्मिलित पाँच दलीय गठबन्धन छ तर गठबन्धनको भावना र सहमती विपरित तल्लो तहमा भने आफैं उम्मेदवार हुने होडबाजी छ ।
गठबन्धनको सोमबार बसेको बैठकले विशेष स्थानमा गठबन्धन गरेर जाने निर्णय गर्दै गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह समेत गरेको छ । देशभरका पालिकामध्ये चितवनको भरतपुर महानगरमा कुन दलबाट कसले टिकट पाउला भन्ने सर्वत्र चासो छ । गठबन्धनबाट माओवादी केन्द्रले भरतपुर महानगरको मेयरमा दाबी छाडेको छैन तर कांग्रेसका नेता कार्यकर्ताले भने यसपाली मेयर नछाड्दै अडान कायम राखेका छन् । यदी केन्द्रले हस्तक्षेप गरेर भरतपुरको मेयर माओवादीलाई दिने सहमति गरे बिद्रोह गर्ने तयारीमा चितवन कांग्रेस छ । २०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेस र माओवादीको तालमेलका कारण भरतपुरको मेयर माओवादीले जितेको थियो । यी सबै हिसाबले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा दबाबमा छन् । त्यसो त महानगरका मेयरको सन्दर्भमा कसलाई कहाँ दिने भन्ने सन्दर्भमा गठबन्धको बैठकले निर्णय गर्नेछ ।
आन्तरिक मागभित्रै गठबन्धन अल्झिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने भरतपुरमा महानगरमा एमाले नेता विजय सुवेदीलाई उम्मेदवार बनाउने भएको छ । उनी चितवनमा 'हेभि वेट'का नेता मानिन्छन् । सुवेदी तिनै व्यक्ति हुन् जसले एकीकृत चितवनको पक्षमा आन्दोलनको नेतृत्व गरेका थिए ।
संविधानसभाको राज्य पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँट समिति र राज्य पुनर्संरचना उच्चस्तरीय आयोगले १४ प्रदेशको प्रस्ताव गर्दै नेपालको केन्द्रबिन्दु मानिने चितवनलाई विभिन्न टुक्रामा विभाजित गरेर नयाँ भूगोल बनाउने प्रस्ताव गरेको थियो । सोही प्रस्ताव पछि एकीकृत चितवनको पक्षमा आन्दोलन चर्केको थियो । उक्त आन्दोलनको नेतृत्व गरेका सुवेदीलाई आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीसमेत सहभागी एमाले भरतपुर महानगरपालिका नगर कमिटीको बैठकले सुवेदीलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरी केन्द्रमा सिफारिस गरेको हो ।
पाँच दलीय गठबन्धन एकातिर र एमाले एकातिर भएको अवस्थामा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा सर्वसम्मत निर्णय गरेर सिफारिस गरेको एमाले केन्द्रीय सदस्य तथा चितवनका नेता पार्वती रावलले बताइन् । २०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रकी रेनु दाहालसँग पराजित एमाले नेता देवी ज्ञवालीको प्रस्ताव र संघीय सांसद कृष्णप्रसाद पोखरेलको समर्थनमा सुवेदीलाई मेयरमा सर्वसम्मत रुपमा सिफारिस गरिएको रावलले बताइन् । नगर क्षेत्रमा बलियो पकड राख्ने नेता सुवेदी २०७४ को प्रदेशसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ ‘ख’ बाट निर्वाचित भएका थिए । तीन कार्यकाल नेकपा एमाले चितवनको नेतृत्व गरिसकेका सुवेदी बागमती प्रदेश कमिटी सचिव हुन् ।
त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र इतिहासमा स्नातक तथा लुम्बिनी बौद्ध विश्वविद्यालयबाट ‘बुद्धिजम’मा स्नातकोत्तर गरेका सुवेदी सत्ता गठबन्धनसँग टक्कर गर्नसक्ने देखेरै एमालेले उम्मेदवार बनाएको हो । भरतपुरको सहरी क्षेत्रमा बलियो पकड रहेको मानिने विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका व्यक्ति हुन् सुवेदी । अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री हुँदा सामाजिक विकासमन्त्री समेत भएका उनी राजनीतिसँगै सामाजिक काममा पनि उत्तिकै सक्रिय छन् ।
चितवनका एमाले कार्यकर्तामाझ रुचाइएका सुवेदी २०२० चैत ५ स्याङ्जामा जन्मिएका थिए । स्याङजाबाट ०३७ सालमा चितवनको गुञ्जनगर आएको उनको परिवार ०६५ देखि भरतपुर-१२ मिलनचोकमा स्थायी बसोबास गरिरहेको छ । २०३९ सालमा पार्टी सदस्यता लिएका सुवेदी तत्कालीन पञ्चायती शासकविरुद्धको आन्दोलनका क्रममा पटकपटक गरी ६ महिना जेल परेका थिए ।
कांग्रेसले बिद्रोह गर्ने संकेत
मुलुकका ६ वटा महानगरमध्ये भरतपुर महानगरमा माओवादी केन्द्रको आँखा छ । यसअघिको निर्वाचनमा मेयर जितेकी माओवादी नेता तथा पुष्पकमल दाहाल पुत्री रेनु दाहाललाई नै मेयर पदमा दोहोर्याउनेगरी माओवादीले भरतपुर माग्दै आएको छ । स्रोतका अनुसार यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा सहमत भइसकेका छन् । तर आधिकारिक रुपमा गठबन्धनले निर्णय गर्न भने बाँकी नै छ ।
अघिल्लो पटक माओवादीलाई दिएको तथा भरतपुरमा माओवादी कमजोर भएकाले पटकपटक त्याग गर्न नसक्ने भन्दै चितवनका कांग्रेस कार्यकर्ताले यसपटक मेयर छाड्न नसकिने बताउदै आएका छन् । चितवन कांग्रेसका सभापति राजेश्वर खनालले भरतपुरको मेयर कांग्रेसले पाउनुपर्ने तर अन्य पालिकामा भने तालमेल हुनसक्ने भनेर सार्जनिक अभिव्यक्ति समेत दिइसके छन् ।
केन्द्रमा सत्ता गठबन्धनले माओवादीलाई भरतपुरको मेयर दिएमा चितवनमा विद्रोह हुनसक्ने देखिन्छ । चितवनको मेयर कांग्रेसले पाउनुपर्ने सन्दर्भमा कांग्रेस नेता शेखर कोइरालाले समेत समर्थन गर्दै आएका छन् । भरतपुर महानगरको विषयमा माओवादीले जर्बजस्ती गर्न खोजे आगामी संसदीय निर्वाचनमा माओवादी अध्यक्ष दाहाल स्वयंलाई अप्ठ्यारो पर्न सक्ने नेता कोइरालाको चेतावनी छ ।
उनले स्थानीय तह निर्वाचनका उम्मेदवार छनोटमा केन्द्रको हस्तक्षेप भएको भन्दै आपत्ति समेत जनाएका छन् । आफ्नै निर्णय र निर्देशन अवज्ञा गरेर केन्द्रबाट उम्मेदवार छनौटमा हस्तक्षेप भएको कोइरालाले बताए । नेता कोइरालाले भने, 'स्थानीय, जिल्ला र क्षेत्रबाटै उम्मेदवार छनोट गर्ने र आवश्यकता र औचित्यका आधारमा चुनावी तालमेल गर्न स्थानीय तहलाई भनिएको भए पनि अहिले केन्द्रबाट उम्मेदवार छनौटमा हस्तक्षेप भएको छ । संयम र धर्यताकासाथ अघि बढ्न म कांग्रेस नेता तथा कार्यकर्तालाई आग्रह गर्दछु ।'
प्रतिक्रिया