माओवादीको प्रभाव बढ्दै गएपछि पार्टी फुटाउने षड्यन्त्र भयो : पुष्पकमल दाहाल

माओवादीको प्रभाव बढ्दै गएपछि पार्टी फुटाउने षड्यन्त्र भयो : पुष्पकमल दाहाल


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी नेकपामा आफ्नो प्रभाव बढ्दै गएपछि पार्टी फुटाउने षड्यन्त्र भएको बताएका छन्।

बिहीवार ललितपुरमा आयोजित नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको माओवादी ध्रुवीकरण तथा एकता कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो  बताएका हुन् । 

उनले तत्कालीन नेकपामा रहेका पूर्व एमालेका ८० प्रतिशत नेताहरुले माओवादी जनआन्दोलनको ऐतिहासिकता स्वीकार्न थालेपछि पार्टीमा विद्रोह शुरु भएको बताए ।

अध्यक्ष दाहालले तत्कालीन नेकपामा पूर्व एमालेका अधिकांश नेताहरुले अबको नेता प्रचण्ड भन्न थालेपछि पार्टी फुटाउने षड्यन्त्र भएको पनि दाबी गरे । 

उनले नेकपामा रहँदा माओवादीको पंक्ति ठूलो भइदिएको भए पार्टी कब्जा माओवादीले गर्ने पनि बताए। अध्यक्ष दाहालले अझै पनि नेकपा एमालेमा रहेका अधिकांश नेताहरु समाजवादी क्रान्तिका लागि तयार इमान्दार कम्युनिष्ट रहेको र उनीहरुको नेतृत्व पनि आफूले गर्नुपर्ने बताए। उनले नेकपा एमालेको नेतृत्वले पार्टीका नेताहरुलाई प्रतिक्रान्तिकारी र प्रतिगमनका बन्दी बन्न बाध्य बनाएको आरोप पनि लगाए । 

अध्यक्ष दाहालले भने, ‘हामीले नेकपा एमालेसँग एकता गरेका थियौँ । के विश्वासमा गरेको थियो भने अब तत्काल भूमिगत जाने, जनयुद्ध गर्ने र विद्रोह गर्ने स्थिति छैन । त्यो अवस्थामा हिजो एउटा चरण त हामीभन्दा चर्को क्रान्तिकारी कुरा गर्ने, झापा विद्रोह । माले कालका थुप्रो नेता, कार्यकर्ता त्यहाँ छन्, अहिले पनि समाजवादतिरै जाने हो भन्ने पनि छन् भने हामी किन ध्रुविकृत नहुने भनेर गरियो । त्यो पनि अरुले गरेका भएन, तपाईंहरुलाई प्रचण्डले के के गर्छ गर्छ भन्ने भएको थियो होला, तर जसरी एकताकेन्द्र बनाउँदा जोखिम उठाउन खोजिएको थियो। त्यो एकताबाट कम्युनिष्टहरु सबैलाई एक ठाउँमा राखेर समाजवादतिर लानुपर्छ र सकिन्छ भन्ने विश्वासले हामीले नै अझ मेरै प्रस्तावमा काम अघि बढेको थियो ।’ 

 उनले थपे, ‘अध्यक्ष प्रचण्डको नेतृत्वमा केन्द्रिय समितिको दोस्रो बैठकमा सबै पूर्व एमालेको पनि अत्याधिक ठूलो संख्या ८/१० जना छोडेर अबको नेता अध्यक्ष प्रचण्ड हो, भन्ने ठाउँमा पुग्यो त्यसपछि षड्यन्त्र शुरु भयो । भयानक षड्यन्त्र शुरु भयो । आजकाल तपाईंहरुले सुन्नुभएको होला, एमालेका केही नेताहरु भन्ने गर्छन्, अझै केही समय रोकेको भए त प्रचण्डले सम्पूर्ण पार्टी खाइसकेको थियो नि । उनीहरु नै भन्छन् हामीले भन्नुपर्दैन । हामीले एकता गर्दा ६०/४० भनियो । यदी माओवादी नफुटेको भए त्यो हुँदैन थियो । हामी ६० हुन्थ्यौँ, एमाले ४० हुन्थ्यो, माओवादी ६० भएको भए पार्टी फुट्दैन थियो । हामी साच्चै समाजवादतिर त्यो पार्टीलाई लिएर जान्थ्यौँ।’

अध्यक्ष दाहालले देशभित्र र बाहिर प्रतिगमनकारी तत्वले माओवादीको उपलब्धीलाई नष्ट गर्न खोजिरहेको पनि आरोप लगाए । उनले  माओवादीका उपलब्धिलाई सुरक्षित गर्न सबै माओवादी एकत्रित भएर लड्नुपर्ने बेला आएको बताए ।

Logo