देशैभर भत्किँदै गठबन्धन, केन्द्रीय नेता नै गठबन्धनको विपक्षमा

देशैभर भत्किँदै गठबन्धन, केन्द्रीय नेता नै गठबन्धनको विपक्षमा


स्थानीय तह निर्वाचनको मिति संघारमा आइसकेको छ। निर्वाचन नजिकिएसँगै दलहरू उम्मेदवार छनौटमा केन्द्रित भएपनि पाँच दलीय सत्ता गठबन्धनमा आन्तरिक किचलो बढ्दै गएको छ। गठबन्धनले केन्द्रमा चुनावी तालमेलको मोडालिटी तयार गरेर तल्लो कमिटीलाई उम्मेदवार सिफारिस गर्न निर्देशन जारी गरे पनि किचलो बढ्दै जाँदा जिल्ला तथा पालिकाहरूमा गठबन्धन भत्किने क्रम शुरु भएको छ।

केन्द्रमा गठबन्धन निर्माण भएको केही दिनमै तलबाट तालमेल भत्काउने कार्य शुरु भएको छ। कतिपय स्थानमा आ-आफ्नो दाबी नपाएपछि गठबन्धन भत्काइएको छ भने कतिपय स्थानमा केन्द्रको निर्णय नमान्ने भनेर ठाडै उल्लंघन भएको छ। विशेषतः गएको निर्वाचनमा जसले जहाँ जितेको थियो ती ठाउँहरूमा अन्य दलले सहयोग गर्ने र गठबन्धन बाहेकका दलहरूले जितेको ठाउँमा भागबण्डा गर्ने मापदण्डको विषयमा तलका नेता कार्यकर्ताहरूले विरोध गर्दै आएका छन्। 

गठबन्धनकै नेतालाई मन परेको छैन तालमेल
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र सरकारमा आवद्ध अन्य राजनीतिक दलहरूबीचमा चुनावी गठबन्धनबारे चर्चा भइरहेकै सन्दर्भ तथा गठबन्धन भइसकेपश्चात् कांग्रेसका युवा नेताहरूले गठबन्धनको विरोध गर्दै आएका छन्। कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनले कसैलाई फाइदा नगर्ने अभिव्यक्ति दिँदै आएका छन्। उनले तल्ला कमिटी उम्मेदवार छान्नका निम्ती स्वतन्त्र रहेकोसमेत बताउँदै आएका छन्। 

चुनावी तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि हितकर नभएको बताउँदै उनले गठबन्धन र निर्वाचनअघि भएको तालमेलले कसैलाई पनि राम्रो नगर्ने दाबी गर्दै आएका छन्। ‘हामी जुन तालमेलको राजनीतिक संस्कृतितर्फ जाँदैछौँ, त्यसले नेपालको लोकतन्त्रको स्वास्थ्यलाई राम्रो गर्दैन', नेता थापाले भने, 'यसले हाम्रो पार्टीलाई मात्रै होइन, कसैलाई पनि राम्रो गर्दैन ।’ चुनावी तालमेलबारे बहस गर्नैपर्ने उनको भनाइ छ। चुनावको समयमा गरिने गठबन्धनले कांग्रेसलाई मात्र नभएर अन्य दलहरूलाई पनि राम्रो नगर्ने थापाले बताए। 

नेता थापाले स्थानीय कमिटीले नै कोसँग मिल्ने वा नमिल्ने भन्ने कुराको निर्णय गर्न पाउनुपर्ने बताउँदै आएका छन् । उनले स्थानीय कमिटी चुनावी गठबन्धनका विषयमा स्वतन्त्र रहेकोसमेत बताएका छन् । त्यस्तै कांग्रेसका अर्का नेता प्रदीप पौडेल पनि निर्वाचनमुखी गठबन्धनले देशलाई उपलब्धि दिन नसक्ने बताउछन् । उनी भन्छन्, ‘चुनावमुखी गठबन्धनले जिताउने मात्रै काम गर्छ । निर्वाचनमुखी गठबन्धनले देशलाई उपलब्धि दिनै सक्दैन ।’

कहाँ-कहाँ भत्कियो गठबन्धन् ?
सत्तागठबन्धनले गरेको चुनावी गठबन्धन देशैभर भत्किने क्रम शुरु भएको छ। गठबन्धन गर्दा नै चितवनको भरतपुर महानगरलाई केन्द्रमा राखेर छलफल अगाडि बढेपछि त्यहाँका स्थानीय कांग्रेस नेताहरूले विद्रोह गर्ने चेतावनी दिइसकेका छन्। कांग्रेस भरतपुर महानगरका सबै वडाका अध्यक्षहरूले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर विद्रोह गर्ने चेतावनी दिइसकेका छन्।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र सरकारमा आवद्ध अन्य राजनीतिक दलहरूबीचमा चुनावी गठबन्धनबारे चर्चा भइरहेकै सन्दर्भ तथा गठबन्धन भइसकेपश्चात् कांग्रेसका युवा नेताहरूले गठबन्धनको विरोध गर्दै आएका छन्।

सबैभन्दा ठूलो समस्या मोडालिटीमा देखिएको छ। गएको निर्वाचन जुन पार्टीले जुन जुन ठाउँमा जितेको हो, ती स्थानहरूमा सोही पार्टीले उम्मेदवारी दिने तर एमालेलगायत गठबन्धनबाहेकका दलले जितेका स्थानमा भने भागबन्डा गर्ने सहमति बाहिरिएपछि गठबन्धनमा किचलो बढेको हो।

भरतपुर माओवादी अध्यक्ष प्रचण्डको गृहनगर हो। त्यसकारण यसपटक पनि उनी आफूले नै भरतपुर पाउनुपर्ने माग राख्दै आएका छन्। यद्यपी यस विषयमा गठबन्धनमा सहमति भइनसकेपनि मोटामोटीरुपमा माओवादीलाई नै दिने आन्तरिक सहमति भएको कुरा बाहिरिइसकेको छ। नेकपा एमालेले भरतपुर महानगपालिकाको मेयरका लागि बागमती प्रदेश सांसद तथा त्यस क्षेत्रमा चर्तित व्यक्ति विजय सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । तर गठबन्धनले भने अहिलेसम्म आधिकारिक निर्णय गर्न सकेको छैन। गएको निर्वाचनमा पनि कांग्रेस र माओवादीबीच चुनावी गठबन्धन भएकाले माओवादीकी रेणु दाहाल विजयी भएकी थिइन् ।

कैलालीमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल गठबन्धनबाट बाहिरिएको छ। गठबन्धनबाट बाहिरिएर जसपाले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँग चुनावी गठबन्धन गरिसकेको छ। शनिबार धनगढीमा पत्रकार सम्मेलन गरेर जसपा र लोसपाले स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने जानकारी गराएको छ। जसलाई नेपाल लोकतान्त्रिक पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले समेतसाथ दिएका छन्। सुदुरपश्चिम सरकार पुनर्गठन हुँदा असन्तुष्ट जसपा नेपालले पाँच दलीय गठबन्धन तोडेर लोसपासँग गठबन्धन गर्ने निर्णयसँगै गठबन्धन तोडेको यो दोस्रो घटना हो। 

यसअघि बाँकेमा जसपाले गठबन्धन तोडिसकेको छ। नेपालगञ्ज उपमहानगरपालिकामा कांग्रेसले दावी नछाडेपछि जसपा नेपाल गठबन्धनबाट बाहिरिएको हो । एमालेले पशुपतिदयाल मिश्रलाई नेपालगञ्जको भावी मेयरको उम्मेदवार घोषणा गरिसक्दा पनि गठबन्धनभित्रका दलहरु मुख्यतः कांग्रेस र समाजवादीले दाबी गरेपछि गठबन्धनमा समस्या देखा परेको हो । एमालेले जितेका स्थानीय तहमा भागवन्डा गरेर जाने प्रस्तावलाई कांग्रेसले अस्विकार गरेपछि गठबन्धनवाट बाहिरिनु परेको जसपा नेपालका जिल्ला अध्यक्ष कमरुद्धिन राईले बताए।

पर्सा कांग्रेसले गठबन्धन नमान्ने र एक्लै निर्वाचनमा जाने निर्णय नै गरिसकेको छ। केन्द्रीय निर्णयअनुसार जसपा नेपालको भागमा परेको वीरगञ्ज महानगरपालिका स्विकार गर्न नसकिने भन्दै पर्साका १४ वटै स्थानीय तहमा एक्लै चुनाव लड्ने जिल्ला कांग्रेसले ३० चैतमा औपचारिक निर्णय नै गरिसकेका छन् ।  

केन्द्रबाट पाँच दलीय गठबन्धन बनाउन निर्देशन दिएपनि डोल्पामा भने गठबन्धन नगरी अलग–अलग निर्वाचन लड्ने निर्णय दलहरूले गरिसकेका छन्। कांग्रेस पार्टी सभापति तथा जिल्ला स्तरिय संयन्त्रका संयोजक दिपेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले गठबन्धन गर्न नसकिने भन्दै केन्द्रीय कार्यालयलाई जानकारी गराउने निर्णय नै गरेको छ।

नेकपा एसका अध्यक्ष माधव नेपालको गृहनगरमा पनि गठबन्धन तोडिएको छ। चन्द्रपुरमा कांग्रेसले गठबन्धन नगर्ने निर्णय लिएको हो। नगर सभापित मुकेश गिरीको सभापतित्वमा बसेको बैठकले कांग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने र एक्लै निर्वाचनमा लड्ने निर्णय लिएको हो। 
संखुवासभामा पनि गठबन्धन तोडिएको छ। 

खाँदबारीमा चार दिनसम्म बसेको पाँच दलीय गठबन्धनले कुनै निष्कर्ष निकाल्न नसकेपछि गठबन्धन टुटेको कांग्रेस सभापति दिपक खड्काले घोषणा गरेका छन् । मोरङका १७ पालिका मध्ये नेपाली कांग्रेस एक्लैले विराटनगर महानगरपालिकासहित १० स्थानीय  तहको नेतृत्वमा दावी गरेपछि पाँच दलीय गठबन्धनमा भागवन्डा टुंग्याउन निकै सकस देखिएको छ। कांग्रेसले विजयी हासिल गरेको विराटनगर महानगरपालिकाको भावी नेतृत्वका लागि कांग्रेस र जसपा नेपाल दुबैले दाबी गरिरहेका छन् ।

Logo