हामीले भरतपुर नै चाहिन्छ भनेका छैनौं, सहमतिमा जुन महानगर भए पनि हुन्छ : अध्यक्ष दाहाल

हामीले भरतपुर नै चाहिन्छ भनेका छैनौं, सहमतिमा जुन महानगर भए पनि हुन्छ : अध्यक्ष दाहाल


माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू भरतपुर महानगरपालिका नै चाहिन्छ भन्ने अडानमा नरहेको बताएका छन्। पाँच दलीय गठबन्धनमा जुन जुन क्षेत्रमा सहमति हुन्छ त्यहीअनुसार अगाडि बढ्ने उनको भनाइ छ । 

पेरिसडाँडामा साेमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले भने, 'हामीले भरतपुर महानगरपालिका नै चाहिन्छ भनेका छैनौं । हामीलाई काठमाडौं भए पनि हुन्छ । अरू कुनै महानगरपालिका भए पनि हुन्छ । बाहिर भनेजस्तो हामीले भरतपुर नै चाहिन्छ, रेणु नै चाहिन्छ भनेका छैनौं।' 

महानगरपालिको विषयमा सहमति नजिक पुगिसकेको भन्दै उनले उपमहानगरपालिकाको विषयमा पनि सहमतिअनुसार नै अगाडि बढ्ने बताए। अहिले पाँचदलीय गठबन्धनको बैठक र कार्यदलको बैठकमा छलफल भइरहेको र आजै वा भोलिसम्ममा टुंगोमा पुगिने बताए। 

गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउन खोजियो

अध्यक्ष दाहालले गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउने षड्यन्त्र भइरहेको पनि बताएका छन् । उनले संविधानविरोधी गतिविधि गर्दै आएको समूह अहिले गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउन लागिपरेको आरोप लगाए । 

‘हिजो संविधानविरोधी गतिविधि भयो । यसविरुद्ध हामी गठबन्धनआवद्ध दल लड्याैं,’ प्रचण्डले भने, ‘अहिले गठबन्धन र तालमेलका नाममा गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउन खोजिएको छ। विचार र सिद्धान्त नै फरक भएका दल, धर्मनिरपेक्षताको एजेन्डा बोकेका दल र हिजो संविधानविरोधी गतिविधि गरेकाबीच गठबन्धन र तालमेल भएकाे छ।’ 

उनले स्थानीय तहको निर्वाचन निर्धारित मिति ३० वैशाखमै हुने जानकारी दिए । निर्वाचन सर्ने हल्ला फैलाइएको भन्दै उनले कुनै पनि हालतमा निर्वाचन नसर्ने बताए ।

Logo