एमाले प्रवेश गर्ने भन्ने कुरा गलत हो, विधि पद्धति सकिएपछि पार्टी परित्याग गरें : जीवन गौतम

एमाले प्रवेश गर्ने भन्ने कुरा गलत हो, विधि पद्धति सकिएपछि पार्टी परित्याग गरें : जीवन गौतम


नेकपा (माओवादी केन्द्र) दाङका इन्चार्ज जीवन गौतमले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। सोमबार घोराहीमा पत्रकार सम्मेलन गरि गौतमले माओवादी परित्याग गरेको बताए। पार्टी परित्यागको घोषणा गरेसँगै घोराही उपमहानगरपालिकाको मेयरको टिकट नपाउने भएपछि पार्टी छाडेको गौतमलाई लागेको छ। 

तर माओवादी पार्टीभित्र विधि, पद्धतिको अन्त्य भएको भन्दै कम्युनिस्ट आदर्श, मूल्य, मान्यताबाटै पार्टी च्युत भएकाले पार्टी परित्याग गरेको गौतमले बताए । ‘कम्युनिस्ट आदर्श, मूल्य, मान्यताबाट कम्युनिस्ट पार्टीहरू विचलित भइराखेका छन् । पार्टीमा विधि, पद्धति हराउँदै गएको छ। त्यसकारण त्यो भन्दा स्वतन्त्र भएर जनताको, समाज सेवा गर्नु उपयुक्त ठानेर पार्टी छाडेको हुँ’, गौतमले भने । 

यसअघि माओवादी केन्द्रले संसदबाट एमसीसी पास गर्दा पक्षमा मतदान गरेको विषयमा माओवादीका नेता नारायणकाजी श्रेष्ठ पक्षधर नेताहरूले सार्वजनिकरूपमै विरोध गरेका थिए। पार्टीबाटै अलग हुनेसम्मको छलफल पार्टीभित्र भएको थियो । तर पछि केन्द्रीय समितिको बैठकमा उक्त विषयमा छलफल गरि विषय साम्य पारिएको थियो। 

गौतम सोही समूहका नेता हुन् । तर अहिले माओवादीभित्र त्यस्तो कुनै विवाद नरहेको अवस्थामा गौतमले पार्टी छाडेको घटनालाई भने मेयर नपाउने सम्भावना देखिएपछि पार्टी छाडेको भन्ने रूपमा व्याख्या गरिएको छ। एमसीसीको सन्दर्भमा पनि माओवादीले देशभक्त चरित्र अन्त्य गरेको उनको टिप्पणी छ । ‘एमसीसी पास गरेर पार्टीले देशभक्त चरित्र पनि अन्त्य गर्‍यो । न कम्युनिस्ट आदर्श छ न मूल्य मान्यता छ’, गौतमले भने, ‘न देशभक्त चरित्र छ । केही पनि बाँकी नरहेपछि यो पार्टीमा बसिरहनु मैले उपयुक्त ठानेन ।’

मेयर नपाएर पार्टी छाड्यो भन्ने कुरा सरासर गलत भएको उनले बताए । घोराही वा दाङ जिल्लामै पार्टी कमिटीले कसैको पनि नाम सिफारिस नगरेकाले मेयर नपाएर छाड्यो भन्ने कुरा गलत भएको उनको दाबी छ । उनले भने, ‘मेयरका सन्दर्भमा माओवादीले कुनै पनि निर्णय गरिसकेको छैन । घोराहीबाट मेयरका कुनै पनि उम्मेदवारहरू सिफारिस भएका छैनन् । त्यसकारण मैले मेयर पाउने वा नपाउने त सन्दर्भ नै रहँदैन । माओवादीभित्र घोराही नगर र दाङ जिल्लाको पार्टीमा कसले पाउने भनेर  केन्द्रमा सिफारिस गर्ने हो, निर्णय गर्ने केन्द्रले हो । मेरो नाम सिफारिस गरिदेऊ भनेर भन्दा पार्टीले सिफारिस नगर्ने कुरा त थिएन । त्यसैले यो सरासर गलत कुरा हो ।’ उनले आफू पद नपाएर पार्टी छाड्ने मान्छे नभएको बताए । ‘यो पार्टीले विचार, राजनीति, सिद्धान्त, आदर्श, मूल्य मान्यता, विधि, पद्धति सबै कुरा छोडेर कम्युनिस्ट पार्टी जस्तो नभइसकेपछि मैले पार्टी छाडेको हुँ’, गौतमले भने । 

योसँगै नेकपा एमालेमा प्रवेश गर्नका निम्ति माओवादी छाडेको भन्ने आरोप पनि लागेकाले त्यो कुरा पनि गलत भएको बताउँदै गौतमले अहिले कुनै पनि पार्टीमा नजाने र चुनावसम्म स्वतन्त्र भएर भूमिका निर्वाह गर्ने बताए । ‘पार्टी छाडेपछि एमालेमा जान्छ भनेर जो हल्ला फैलाइरहेका छन् । यो गलत कुरा हो । म एमालेमा प्रवेश गर्दिनँ । यो निर्वाचनसम्म पूर्ण रुपमा स्वतन्त्र भएर अगाडि जान्छु । बाँकी जीवनको अर्को कालखण्डमा आउँदा राजनीतिक ढङ्गले निर्णय गर्दाखेरि के हुन्छ त्यो त्यति बेला हुन्छ’, गौतमले भने, ‘ तर अहिले म एमालेमा प्रवेश गर्ने कुनै योजना छैन । मेरो कसैसँग छलफल पनि भएको छैन कसैसँग कुराकानी पनि भएको छैन । कुनै एमालेको नेताले मलाई फोन पनि गर्नुभएको छैन । र मैले पनि कुनै एमालेका नेतालाई फोन गरेको छैन । र यो सम्भावना जिरो सम्भावना हो । अहिले चुनावसम्म अर्को पार्टीमा जाने भन्ने कुनै योजना छैन ।’

Logo