माओवादी र एसलाई बराबरी भाग !

माओवादी र एसलाई बराबरी भाग !


पाँच दलीय सत्ता गठबन्धनले सहमति हुन नसकेका पालिका तथा वडाहरूमा मित्रवत् प्रतिस्पर्धा गर्ने भएको छ । बुधवार महानगर र उपमहानगरपालिकाको भागबन्डा टुंग्याउन बसेको बैठकले गठबन्धनको भागबन्डा टुंग्याएको छ ।

जसअनुसार नेपाली कांग्रेसलाई महानगरपालिकामा ३ वटा मेयर, ३ वटा उपमेयर, उपमहानगरपालिकामा ७ वटा मेयर ३ वटा उपमेयर पाएको छ । यसैगरी माओवादी केन्द्रले महानगरमा १ वटा मेयर, १ वटा उपमेयर, उपमहानगरमा २ वटा मेयर र २ वटा उपमेयर पाएको छ । यसैगरी नेकपा एकीकृत समाजवादीले महानगरमा १ वटा मेयर, १ वटा उपमेयर, उपमहानगरपालिकामा १ वटा मेयर र ३ वटा उपमहानगरमा उपमेयर पाएको छ । अर्का सत्ता घटक जनता समाजवादी पार्टीले महानगरमा १ मेयर र उपमेयर, उपमहानगरमा १ मेयर र २ उपमेयर पाएको छ ।

महानगर र उपमहानगरको भागबन्डा टुंग्याउदै बाँकी नगरपालिका र गाउँपालिकामा यसअघि गठबन्धनले जारी गरेको मापदण्ड, सहमतिको मर्म र भावना अनुरूप सम्बन्धित समितिहरूको बैठक बसी अविलम्ब सिट बाँडफाँट तथा उम्मेदवारहरूको चयन गर्न निर्देशन दिएको हो ।

बढीभन्दा बढी सहमतिको प्रयास गर्ने । तर सहमति बन्न नसकेको अवस्थामा पाँच दलीय गठबन्धन भित्रै मित्रवत् प्रतिस्पर्धा गर्न सकिने सहमति समेत गठबन्धनले छ । ‘पाँच दलीय गठबन्धनले यसअघि जारी गरेको मापदण्ड, सहमतिको मर्म र भावना अनुरूप सम्बन्धित समितिहरूको बैठक बसी अविलम्ब सिट बाँडफाँट तथा उम्मेदवारहरूको चयन गर्न निर्देश गरिन्छ’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘साथै, सहमति बन्न नसकेको अवस्थामा पाँच दलीय गठबन्धन भित्रै मित्रवत् प्रतिस्पर्धा गर्न सकिने समेत समझदारी भयो ।’

सहमतिमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।

माओवादी र एसलाई बराबरी भाग

नेकपा एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादीले १ महानगरपालिकाको नेतृत्व पाएको छ । गठबन्धनको सहमतिअनुसार गठबन्धनको बैठकले पोखरा महानगरको मेयर सँगै काठमाडौँको उपमेयर समेत पाएको छ । त्यसैगरी हेटौँडा उपमहानगरपालिकाको मेयर र इटहरी, बुटवल र तुलसीपुरमा उपमहानगरमा उपप्रमुख पनि एसलाई दिने सहमति भएको छ ।

एकीकृत समाजवादीले पाएको सिट नेकपा माओवादी केन्द्र बराबरजस्तै हो । नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको नेतृत्व पाएको छ भने ललितपुर महानगरपालिकाको उपप्रमुख पाएको छ । दुई वटा उपमहानगरको नेतृत्व माओवादीले पाएको छ भने दुई वटा नै उपप्रमुख पाएको छ । जितपुर सिमरा र  घोराही उपमहानगरपालिकामा माओवादीले प्रमुख पदमा उम्मेदवारी दिनेछ भने धरान र धनगढी उपमहानगरपालिकामा उपप्रमुख पाउनेछ ।

महा र उपमहानगरमा दुईमध्ये एक कांग्रेस उम्मेदवार

सत्ता गठबन्धनको भागबन्डाअनुसार सबै महानगर र उपमहानगरमा कांग्रेसको एकजना उम्मेदवार अनिवार्य हुने गरी भागबन्डा टुंग्याएको छ । जसअनुसार कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरमा मेयर उठाउने भएको छ । बाँकी रहेका सबै महानगर र उपमहानगरमा भने कांग्रेसले उपमेयर उठाउनेछ । जसअनुसार भने भरतपुर, वीरगन्ज र पोखरा महानगरमा कांग्रेसले उपमेयर उठाउने भएको छ ।

त्यसैगरी कांग्रेसले ७ वटा उपमहानगरमा मेयर उठाउनेछ । जसअनुसार धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगन्ज र धनगढी उपमहानगरमा मेयर पाएको छ भने बाँकी रहेका जनकपुर, जितपुर सिमरा, हेटौँडा र घोराहीमा कांग्रेसले उपमेयरमा उम्मेदवारी दिनेछ ।

गएको निर्वाचन २०७४ मा यीमध्ये ललितपुर र विराटनगरमा कांग्रेसले मेयर र उपमेयर दुवै जितेको थियो भने काठमाडौं, भरतपुर र वीरगन्जमा उपमेयर जितेको थियो। त्यसैगरी उपमहानगरमा धनगढी र कलैयामा मेयर र उपमेयर दुवै जितेको थियो भने नेपालगन्जमा उपमेयर जितेको थियो । धरानमा भने उपनिर्वाचनमा मेयर जितेको थियो ।

नेकपा माओवादी केन्द्रले भरतपुर महानगरमा मेयर ललितपुरमा उपमेयर पाएको छ भने घोराही र जितपुर सिमरामा मेयर उठाउन लागेको माओवादीले धनगढी र धरानमा उपमेयर पाएको छ । पोखरामा मेयर पाएको नेकपा एकीकृत समाजवादीले काठमाडौं महानगरमा उपमेयर उठाउनेछ । हेटौँडा उपमहानगरमा मेयर पाएको नेकपा एसले इटहरी, तुलसीपुर र बुटवल उपमहानगरमा उपमेयर पाएको छ ।

जनता समाजवादी पार्टीले वीरगन्ज र जनकपुरको मेयर पाएको छ भने कलैया र नेपालगन्जको उपमेयरमा उम्मेदवार उठाउने छ। 

यस्तो थियो गत निर्वाचन

२०७४ निर्वाचनमा ६ महानगरमध्ये काठमाडौं र पोखरा एमालेले जितेको थियो भने कांग्रेसले ललितपुर र विराटनगर जितेको थियो । भरतपुरमा कांग्रेसको समर्थनमा माओवादी केन्द्रले मेयर जितेको थियो भने वीरगन्जमा तत्कालीन संघीय समाजवादी फोरमले जितेको थियो । उपमहानगरमध्ये एमालेले घोराही, तुलसीपुर, बुटवल, हेटौँडा, जितपुर सिमरा, इटहरी र धरानमा जितेको थियो भने कांग्रेसले धनगढी र कलैयामा जितेको थियो । धरानमा भएको उपनिर्वाचनमा कांग्रेसले मेयर जितेको थियो। नेपालगन्जमा राप्रपा र जनकपुरमा राजपाले मेयर जितेका थिए ।

Logo