एमालेले फाइल रातारात गायब गरी अर्कै उम्मेदवार खडा गरेको अन्य दलको आरोप

एमालेले फाइल रातारात गायब गरी अर्कै उम्मेदवार खडा गरेको अन्य दलको आरोप


सप्तरीको कञ्चनरुप नगरपालिकाको उपमेयरमा नेकपा एमालेबाट मनोनयन दर्ता गराएकी उम्मेदवारको फाइल रातारात गायब गरी अर्कै उम्मेदवार खडा गरेको भन्दै अन्य दलले आपत्ति जनाएका छन् ।

एमालेबाट उपमेयरको उम्मेदवारको रूपमा असरादेवी चौधरीले मनोनयन दर्ता गराए पनि रातारात उनको फाइल हटाएर निर्वाचनमा खटिएका कर्मचारीले अर्कैको नाम बाहिर ल्याएको अन्य दलहरूको आरोप छ ।

उपमेयर पदमा मनोनयन दाखिला गरेकी असराको उम्मेदवारी समानुपातिक सूचीमा रहेको थाहा पाएपछि निर्वाचन अधिकृत हिमालय बरालले एमाले नेताको निर्देशनमा मध्य रातमा उम्मेदवार परिवर्तन गरेको अन्य दलका उपमेयरका उम्मेदवारले आरोप लगाएका छन् ।

उपमेयरका उम्मेदवार नेपाली कांग्रेसकी मुना पोखरेल, नेकपा माओवादी केन्द्रकी बन्सी चौधरी, जनमत पार्टीकी सम्झना राणा, जसपा नेपालकी कल्पना चौधरी, नेकपा एकीकृत समाजवादीकी होमकुमारी पोखरेलले मध्यरातमा भएको गतिविधि खारेज गर्न माग गर्दै निर्वाचन अधिकृत समक्ष निवेदन दिएका छन् ।

निवेदनमा स्थानीय तहको निर्वाचनको सन्दर्भमा कञ्चनरुप नगरपालिकाको उम्मेदवारी दाखिला गर्ने विषयमा निर्वाचन कार्यालयले मध्यरातमा उम्मेदवारी परिवर्तन गरेको उल्लेख छ । एमाले उपमेयरको उम्मेदवारको रूपमा असरादेवी चौधरीले समय सीमाभित्र मनोनयन दाखिला गरेको तर उनको उम्मेदवारी बदर हुने अवस्था देखेपछि निर्वाचन कार्यालयले एमाले नेतालाई सूचित गरी मध्यरातमा फाइल नै परिवर्तन गराई कल्पना चौधरीको नाम उपमेयरको उम्मेदवारको सूचीमा राखेको आरोप छ ।

निर्वाचन कार्यालयबाट भइरहेको यस्ता किसिमका गतिविधि अविलम्ब रोक्न, मध्यरातमा दाखिला गरिएको उम्मेदवारी खारेज गर्न, दोषीलाई कारबाही गर्न माग गरिएको छ । माग पूरा नभए कार्यालयमा तालाबन्दी गरी आन्दोलनमा उत्रने चेतावनी उनीहरूको चेतावनी रहेको छ ।

 

Logo