राष्ट्रिय एकतामा धार्मिक एवं सांस्कृतिक चाडपर्वको योगदान : मुख्यमन्त्री पोखरेल

राष्ट्रिय एकतामा धार्मिक एवं सांस्कृतिक चाडपर्वको योगदान : मुख्यमन्त्री पोखरेल


गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सामाजिक एकता, सद्भाव र धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउन धार्मिक एवं सांस्कृतिक चाडपर्वको महत्वपूर्ण योगदान रहेको बताएका छन् । 

मुस्लिम समुदायको पर्व इद (इदुल फित्र)का उपलक्ष्यमा शुभकामना सन्देश व्यक्त गर्दै पोखरेलले यस पर्वले विविध धर्म, संस्कृति मान्ने सबै नेपालीबीच भातृत्व, प्रेम र एकताको भावना बढाइ समुन्नत, शान्त र समृद्ध मुलुक बनाउन सबैमा प्रेरणा दिने कामना गरेका छन् । 

बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त विशेषता भएको हाम्रो मुलुक संविधानतः धर्मनिरपेक्ष राज्य भए पनि धार्मिक सहिष्णुता अनुकरणीय रहेको सन्देशमा उल्लेख छ । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल)को पहिलो दिन मुसलमान समुदायले नमाज पाठ गरी मान्यजनबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउने गर्दछन् ।

एक महिना (रमजान)भर बिहान सूर्योदयअघि र बेलुकी सूर्यास्तपछि मात्र भोजन ग्रहण गर्ने यो पर्वको आफ्नै विशेषता छ । आफूभन्दा कमजोर आर्थिक अवस्था भएकालाई दान गर्नु यो पर्वको अर्को विशिष्टता हो ।

Logo