भुवन केसी, श्वेता खड्का र रविन्द्र खड्का कांग्रेस प्रवेश

भुवन केसी, श्वेता खड्का र रविन्द्र खड्का कांग्रेस प्रवेश


नायक भुवन केसीसहित नायिका श्वेता खड्का र कलाकार रविन्द्र खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

मंगलबार बिहानै उनीहरू कांग्रेस सभापति शेरबहादुर देउवाको हातबाट टीका लगाउँदै कांग्रेस प्रवेश गरेका हुन् ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूलाई कांग्रेस सभापति देउवाले कांग्रेसमा स्वागत गरेका थिए ।

सबै पार्टीबाट आग्रह भएपनि लोकतान्त्रिक चरित्रको पार्टीमा प्रवेश गर्न उचित ठानेर कांग्रेस प्रवेश गरेको केसीले बताए । ‘सबै पार्टीबाट आफ्नोमा आउन आग्रह थियो’, उनले भने, ‘तर सबै कुरा विचार गर्दा लोकतान्त्रिक चरित्रलाई आत्मसात गर्ने पुरानो पार्टी भएको नाताले कांग्रेस ठीक लाग्यो ।’

कांग्रेसमा कुन जिम्मेवारी पाउने भन्ने विषयमा भने केही टुंगो नभएको बताए । ‘पदको केही कुरा भएको छैन । त्यो भोलि उहाँहरुले हेर्ने कुरा हो’, उनले भने ‘स्थानीय निकायको चुनावको मुखमा थप केही कुरा हुनसक्ने कुरा भएन । पछिको कुरा पछि नै हुन्छ ।’

स्थानीय चुनावको घोषणा भएसँगै भुवन केसी राप्रपा जाने हल्ला चलेको थियो । पछि उनलाई उन्नत लोकतन्त्र पार्टीले मेयरको उम्मेदवारको रुपमा उठाउन लागेको घोषणा नै गरेको थियो । तर केसीले आफू त्यो पार्टीबाट उठ्न लागेको कुरा निराधार रहेको बताएका थिए ।

०७० सालको चुनाव ताका भुवन केसी एमाले प्रवेश गरेका थिए । त्यहाँबाट संसदीय चुनावमा सिफारिस भए पनि विरोध भएपछि एमालेले उनको नाम फिर्ता लिएको थियो ।

Logo