तातोपानी, गुर्जो खाएर कोरोना निको हुने भ्रममा नपर्न आग्रह

तातोपानी, गुर्जो खाएर कोरोना निको हुने भ्रममा नपर्न आग्रह


काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोरोना भाइरसका विषयमा अनावश्यक भ्रम नफैलाउन आग्रह गरेको छ । मंगलबार प्रतिनिधि सभा अन्तर्गत बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै महाशाखाका प्रतिनिधिले त्यस्तो आग्रह गरेका हुन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस तातोपानी वा गुर्जो खाएर निको हुन्छ भन्ने भ्रममा नपर्न उनीहरुकाे आग्रह छ ।

प्राविधिकहरुले संवेदशील विषयमा बोल्दा ध्यान दिनुपर्ने महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बताए । आफूलाई विज्ञ भनेर चिनाउनेहरुले समेत अनावश्यक भ्रम फैलाएको पाइएकोले त्यसो नगर्न उनले आग्रह समेत गरे । संघीयता सुरु हुनुभन्दा पहिले सिधै जिल्ला स्वास्थ्य कार्यालयहरुसँग समन्वय गरेर काम गर्न सकिने अवस्था भएपनि अहिले तीन तहको सरकार हुँदा आवश्यक बजेट समेत दिन समस्या भएको उनको भनाइ छ । महामारीको समयमा स्थानीय तहसम्म स्वास्थ्य संस्थासँग सिधा सम्बन्ध राख्न सकिने वातावरण बनाउन आवश्यक रहेको उनले बताए ।

त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले अहिले नेपालमा दैनिक २३ हजार जनाको पीसीआर परीक्षण गर्न सक्ने क्षमता भएपनि १८ हजारभन्दा बढी परीक्षण गर्न समस्या हुने बताइन् । ८ नीजि समेत गरी ४८ वटा परीक्षण प्रयोशालाबाट दैनिक १८ हजारसम्म परीक्षण गर्न सक्ने अवस्था रहेको उनको भनाइ छ ।

स्वाव नमुना प्रयोगशालामा आएको ३८ देखि ४८ घण्टासम्म सामान्यतया रिपोर्ट आउने भएपनि तत्काल परीक्षण गर्र्नुपर्ने र २, ३ दिनपछि पनि परीक्षण गर्दा हुने स्वावहरुसँगै आउँदा केही समस्या भएको उनको भनाइ छ । रिपोर्ट पोजेटिभ आएकाहरुलाई ट्रेसिङ नगरी तत्काल रिपोर्ट दिँदा व्यवहारिक समस्याहरु आउने उनको तर्क छ । प्रयोगशालाहरुमा जनशक्ति अभाव रहेको र नीजि क्षेत्रमा प्रयोगशाला सञ्चालनका लागि दबाब आउने गरेको उनले बताइन् । साथै नीजि क्षेत्रले विशुद्ध व्यापारिक हिसाबले इच्छा देखाउने गरेको पाइएको उनको दाबी छ ।

Logo