ओलीको अत्याचार रोक्न पाँचदलीय गठबन्धन : देउवा

ओलीको अत्याचार रोक्न पाँचदलीय गठबन्धन : देउवा


नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीको अत्याचार रोक्न पाँच दलीय गठबन्धन बनेको बताएका छन्। बुटवलमा शनिबार आयोजित पाँचदलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले ओली सरकारमा हुँदा गरेको अत्याचारका कारण अहिलेको गठबन्धन जन्मिएको बताएका हुन्।

‘एमाले अध्यक्ष ओली सरकारमा हुँदा अरु दल र जनतामाथि अत्याचार गरेका र प्रतिनिधिसभा दुई पटकसम्म विघटन गरेकाले अहिलेको गठबन्धन बनेको हो,’  देउवाले भने । उनले बहुचर्चित अमेरिकी सहायता परियोजना एमसीसीबाट सबैभन्दा बढी लाभ बुटवल, भैरहवा र दाङवासीलाई हुने दाबी पनि गरे। 

‘एमसीसीमा बुटवलदेखि भालुवाङ हुँदै लमहीसम्म अत्यन्त बलिया महत्वपूर्ण चौडा रोड बन्दैछन्,’ उनले भने, ‘एमसीसीले सबैभन्दा बढी बुटवल, भैरहवा र दाङ देउखुरीसम्मका जनतालाई फाइदा हुने वाला छ।’

उनले कांग्रेस महाधिवेशनले नै गठबन्धन गरेर चुनावमा जाने अनुमति दिएको स्मरण गर्दै सबैले गठबन्धनका उम्मेदवारहरूलाई मत दिन आग्रह गरे। उनले गठबन्धनलाई टिकाएर लैजाने घोषणा गर्दै कसैले शंका नगर्न आग्रह गरे।

प्रधानमन्त्री देउवाले एमसीसी परियोजनाअन्तर्गत बुटवलदेखि दाङसम्मको सडक विस्तार हुने र विद्युत प्रशारण लाइन बन्ने भएकाले त्यसबाट सबैभन्दा बढी फाइदा बुटवलदेखि दाङसम्मका जनतालाई हुने बताएका हुन्।

बुटवलको मुख्य समस्या बुटवलको समग्र विकास, सुकुम्बासी समस्या र रोडको समस्या रहेको बताउँदै देउवाले गठबन्धनका उम्मेदवारले जिते त्यस विषयमा ध्यान दिने पनि बताए। बुटवलको विकासमा सरकारको पूर्ण साथ रहने पनि देउवाकाे भनाइ छ। 

Logo