मोदीको लुम्बिनी भ्रमण : राजनीतिक कि अनुयायी

मोदीको लुम्बिनी भ्रमण : राजनीतिक कि अनुयायी


भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ गते लुम्बिनी आउँदैछन् । बुद्ध जयन्तीको अवसरमा लुम्बिनी आउन लागेका मोदी त्यहाँ आयोजना गरिने विशेष समारोहमा सहभागी हुनेछन् । भारतका प्रधानमन्त्रीको रुपमा मोदीको यो पाँचौं नेपाल भ्रमण हो । 

परराष्ट्र मन्त्रालयले बिहीवार मोदीको लुम्बिनी भ्रमण बारे विज्ञप्ती जारी गरेर औपचारिक जानकारी दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको औपचारिक निमन्त्रणमा मोदी लुम्बिनी भ्रमणमा आउन लागेका हुन् । लुम्बिनी भ्रमणको सन्दर्भमा दुई देशका प्रधामन्त्रीले संयुक्त रुपमा सेन्टर फर बुद्धिष्ट कल्चर एण्ड हेरिटेजुको शिलान्यास गर्ने कार्यक्रम छ । 

लुम्बिनीमा रहेको मायादेवीको मन्दिरमा दुवै देशका प्रधानमन्त्रीले प्रार्थना गर्ने कार्यक्रम समेत रहेको परराष्ट्रद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले भारतीय प्रधानमन्त्री मोदीलाई लुम्बिनीमा नै शिष्टाचार भेटवार्ता गर्नेछन् ।
एकदिने भ्रमणमा लुम्बिनीबाटै फर्किहाल्ने तालिका भएकाले उनको भ्रमणको विषयलाई लिएर केही प्रश्न उब्जिएका छन् । 

विशेषतः मोदीको भ्रमण राजनीतिक हो कि अनुयायी  संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन युनेस्कोको निम्तामा लुम्बिनी भ्रमणमा आउन लागेका मोदीले नेपाललाई प्राथमिकता दिएका हुन् कि बेवास्ता गरेका हुन्  भन्ने प्रश्न जन्माएको छ । भारतीय प्रधानमन्त्री मोदीको भ्रमण एकदिने हुनेछ । उनी लुम्बिनीबाटै फर्किने तालिका छ । सरकार प्रमुखको भ्रमण राजनीतिकभन्दा अनुयायीजस्तो हुनुचाहिँ नेपाल(भारत सम्बन्धका लागि सन्देहात्मक भने देखिन्छ ।

पछिल्लोपटक मोदीले २०७५ वैशाख २८ र २९ गते नेपालको भ्रमण गरेका थिए । उक्त भ्रमणमा मोदीले काठमाडौँ, जनकपुर र मुक्तिनाथको भ्रमण गरेका थिए । त्यतिबेला उनलाई काठमाडौँ महानगरपालिका र जनकपुर उपमहानगरपालिकाले अभिनन्दन गरेका थिए । अघिल्लो भ्रमणमा लुम्बिनी जान नपाएका मोदी यो पटक भने सीमावर्ती भारतीय शहरबाट सिधैँ लुम्बिनी पुग्नेछन् । 

२०७१ सालमा प्रधानमन्त्री भएपछि भारतका प्रधानमन्त्री मोदीले दुईपटक नेपालको राजकीय भ्रमण गरिसकेका छन् भने सार्क र बिमस्टेकका शिखर सम्मेलनमा दुईपटक नेपाल आएका छन् । भारतीय प्रधानमन्त्रीका रुपमा यो उनको पाँचौ नेपाल भ्रमण हो । मोदी २०७१ मंसिर ९ गतेदेखि ११ गतेसम्म सार्कको १८ औं शिखर सम्मेलनमा सहभागी हुन र २०७५ भदौ १४ र १५ गते बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएका थिए । 

देउवा र मोदीबीच द्विपक्षीय भेटवार्ता

बुद्धजयन्तीको अवसरमा लुम्बिनी भ्रमणमा आउन लागेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाली समकक्षी शेरबहादुर देउवाबीच द्विपक्षीय भेटवार्ता हुने भएको छ । नेपालको परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालयले बिहीबार एकै समयमा मोदीको नेपाल भ्रमणबारे विज्ञप्ति जारी गरी भ्रमणका क्रममा मोदीले लुम्बिनीको मायादेवी मन्दिरमा पूजाअर्चना गर्ने जानकारी दिएको छ । 

लुम्बिनी विकास कोषले नेपाल सरकारको संयोजकत्वमा योजना गर्ने बुद्धजयन्ती कार्यक्रमलाई मोदीले सम्बोधन गर्नेछन् । मोदीले लुम्बिनी विहार क्षेत्रभित्र अन्तर्राष्ट्रिय बौद्ध संस्कृति र सम्पदा केन्द्रको शिलान्यास पनि गर्नेछन् । मोदीको भ्रमणले छिमेकी पहिलो नीतिलाई अघि बढाउन र भारत तथा नेपालबीच उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । मोदीको भ्रमणले दुबै देशका जनताको साझा सभ्यताको सम्पदालाई जोड दिने मन्त्रालयको भनाई छ । 

मोदीलाई मानार्थ महाविद्यावारिधी

यसैबीच लुम्बिनी बौद्ध विश्वविद्यालयले प्रधानमन्त्री मोदीलाई मानार्थ महाविद्यावारिधीबाट सुशोभित गर्ने भएको छ । विश्वविद्यालयले मोदीलाई विश्वविद्यालयको प्राङ्गणमा एक कार्यक्रम गरी मानार्थ विद्यावारिधीले सम्मान गर्ने निर्णय भएको विश्वविद्यालयले जनाएको छ । 

नेपालका विश्वविद्यालयस्तरबाट यो स्तरको सम्मान प्राप्त गर्ने व्यक्ति मोदी पहिलो भारतीय प्रधानमन्त्री तथा पहिलो विदेशी नागरिक समेत हुन् । मोदीले लुम्बिनीको दर्शन गरिसकेपछि उनलाई सम्मान गर्ने कार्यक्रम तय भएको छ ।  
 

Logo