भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी आउँदै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी आउँदै


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदैछन्। प्रधानमन्त्रीको रूपमा पाँचौँ पटक नेपाल आउन लागेका मोदी सिधै लुम्बिनी आएर त्यहीँबाट स्वदेश फर्कनेछन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा बुद्ध जयन्तीको अवसर पारेर लुम्बिनीमा आयोजना गरिने एक विशेष समारोहमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन्। कार्यक्रमअनुसार मोदी भारतीय वायु सेनाको विशेष हेलिकप्टरबाट बिहान ११ बजे लुम्बिनी आउनेछन्।

हेलिकप्टरबाट ओर्लिएपछि उनी सिधै मायादेवीको मन्दिर जाने कार्यक्रम रहेको छ। त्यहाँ दुवै देशका प्रधानमन्त्री प्रार्थनामा सहभागी हुनेछन्। साढे ११ बजे मोदी त्यहीँ आयोजना गरिने भूमि पूजा कार्यक्रममा सहभागी हुने जनाइएको छ।

मोदीले लुम्बिनीमा बौद्ध संस्कृति र सम्पदा केन्द्रको शिलान्यास गर्ने कार्यक्रम रहेको छ। पूजा र शिलान्यासको काम सकेपछि उनी लुम्बिनीमा रहेको पवन इन्टरनेसनल होटलमा जानेछन्। केही समय उनले त्यही होटलमा बिताउने छन्।

होटलमा नै परराष्ट्रमन्त्री डा. नारायण खड्काले मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। त्यसपछि साढे १२ बजे प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। दुई देशका प्रधानमन्त्रीको भेटवार्ता सकिएपछि नेपाल–भारत द्विपक्षीय उच्चस्तरीय कूटनीतिक बैठक त्यहीँ सुरु हुनेछ।

बैठक सकिएपछि प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीको सम्मानमा दिवा भोजको आयोजना गर्नेछन्। मोदी दिवा भोजमा सहभागी हुनेछन्। साढे ३ बजे उनले बुद्ध जयन्तीको अवसरमा आयोजना गरिने विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उनी बेलुकी ५ बजे भारतीय वायु सेनाको हेलिकप्टरमा लुम्बिनीबाट स्वदेश फर्कने जनाइएको छ।

Logo