सामाजिक सञ्जालमा भाइरल यौनहिंसा घटनामा संसद्काे चासाे

सामाजिक सञ्जालमा भाइरल यौनहिंसा घटनामा संसद्काे चासाे


सभामुख अग्निप्रसाद सापकोटाले सामाजिक सञ्जालमा भाइरल यौनहिंसाको घटनाको सम्बन्धमा छानविन गरि दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सामाजिक सञ्जालमा एक युवतीले आफूलाई बलात्कार भएको घटना सार्वजनिक गरेको उल्लेख गर्दै घटनामा संलग्न पीडकलाई कारबाही गर्न माग गरेका थिए । लगत्तै समामुख सापकोटाले सांसद थापाको कुराप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै सो घटनाको सम्बन्धमा शीघ्र छानबीन गरि सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका हुन्।

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सामाजिक सञ्जालमा एक युवतीले ८ वर्ष अगाडि बलात्कृत भएको घटना सार्वजनिक गरेको उल्लेख गर्दै अभियोग लागेको व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउन सरकार समक्ष माग गरे । उनले बलात्कारको घटनाको हदम्यादको सम्बन्धमा पनि पुनर्विचार गर्नुपर्ने बताए । 

एक युवतीले केही दिनअघि सामाजिक सञ्जालमार्फत् आफूलाई ८ वर्षअघि सुन्दरी प्रतियोगिताको आयोजकबाट बलात्कार भएको घटना सार्वजनिक गरेकी थिइन् । उनले सो घटनामा केही व्यक्तिहरुको संलग्नता देखाएकी थिइन् । उनको न्यायको लागि सामाजिक सञ्जालमा चर्को आवाजहरु आएका छन् भने पीडकलाई कानूनी दायरामा ल्याउन माग गरिएको छ । सोही विषयले आज संसदमा पनि प्रवेश पाएको हो ।

Logo