बालेन साहले जनताको मन जितेको भन्न मिल्दैन : रामकुमारी झाँक्री

बालेन साहले जनताको मन जितेको भन्न मिल्दैन : रामकुमारी झाँक्री


शहरी विकास मन्त्री तथा नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले काठमाडौं महानगरबाट स्वतन्त्र उम्मेदवार बालेन साहले ल्याएको भोट लाई ‘नो भोट’ को रूपमा व्याख्या गरेकी छन् । यो मतलाई लिएर बालेन साहले जनताको मन जितेको भन्न नमिल्ने उनले बताइन् ।

प्राइम टिभीमा ऋषि धमलालाई अन्तर्वार्ता दिँदै झाँक्रीले नेपालको कानूनी व्यवस्थामा ‘नो भोट’ को प्रावधान नभएकाले दलहरूसँग असन्तुष्ट मत स्वतन्त्र उम्मेदवारलाई गएको दाबी गरिन् ।

उनले भनिन्, ‘उहाँले उठाएको मुद्दा राम्रो लागेर वा मतदाताको विश्वास जितेर भोट पाएको भनेको सुन्छु । त्यस्तो होइन । हाम्रो कानूनले चुनावमा यो वा त्यो दललाई भोट हाल्नैपर्ने बाध्यता बनाएको छ । नो भोटको व्यवस्था छैन । बालेन साहले पाएको भोट नै नो भोट हो । तिमीहरूको दल र तिमीहरूको उम्मेदवारभन्दा बाहिर मत हाल्छु भनेको हो । नो भोटको अप्सन भएको भए यो परिणाम त्यता आउन सक्थ्यो ।’

झाँक्रीले काठमाडौंको मतदानले दलहरूलाई सच्चिने मौका दिएको पनि उल्लेख गरिन् । ‘अब संघीय र प्रदेश चुनावहरू आउँदैछन् । त्योभन्दा अगाडि दलहरूलाई सच्चिने मौका हो । सूरूमै संकेत दिएको हो । यो हदसम्म म जनताको मतलाई रिगार्ड गर्छु, सम्मान गर्छु । जनताले यस्तो मत राख्न पाउनुहुन्छ,’ उनले भनिन् ।

अहिलेको मतपरिणाम एकदम ठीक भइरहेको पनि उनले बताइन् । ‘मलाई यो एकदम ठीक भइरहेको जस्तो लागेको छ । कसैले चुनौती नदिइकन दलहरू सच्चिन्नन् । अब पार्टीहरू रुपान्तरण हुनैपर्छ भन्ने यसले म्यासेज दिएको छ,’ उनले भनिन् ।

Logo