हरेक मतलाई मैले मेरो अठोट पुरा गर्ने बलियो सहाराको रूपमा लिएकी छु : सुनिता डंगोल

हरेक मतलाई मैले मेरो अठोट पुरा गर्ने बलियो सहाराको रूपमा लिएकी छु : सुनिता डंगोल


काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डंगोलले हरेक मतादाताले दिएको मतलाई आफ्नो अठोट पुरा गर्ने बलियो सहाराको रूपमा लिएको बताएकी छिन् । काठमाडौँको उपमेयरमा निर्वाचित मुलुकको संघीय राजधानी समेत रहेको सबै भन्दा ठुलो र पुरानो महानगरपालिकामा निर्वाचित भइसकेपछि धन्यवाद पत्र सार्वजनिक गर्दै काठमाडौँबासी र यहाँ बस्ने सबै नागरिकहरूले चाहेको जस्तो सहर बनाउन चाहेको बताएकी छिन् ।

जितमा उत्साहित हुने भन्दा पनि मतदाताले आफूमाथि गरेको परीक्षामा सफल हुनैपर्ने महत्त्वपूर्ण जिम्मेवारी प्राप्त भएको भन्दै उनले मतादाताले गरेको विश्वासलाई हरेक मतपेटिकामा खसालेका मतपत्रलाई पाँच वर्षे कार्यकालका लागि दिएको कार्यभारका रूपमा ग्रहण गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । ‘म मेरो कार्यकालमा तपाईँहरूले दिनुभएका कार्यभारहरू इमानदारिताका साथ कर्तव्यनिष्ठ भई पूरा गर्न लागि पर्नेछु । युवाप्रति अथाह भरोसा गरेर काठमाडौँ जस्तो महत्त्वपूर्ण महानगरपालिकामा काठमाडौँ महानगरवासी मतदाताले मलाई विजयी गराउनु भएको छ’, उपमेयर डंगोलले भनेकी छिन्, ‘त्यसैले यो तपाईँहरूको विश्वासलाई शिरमा राख्दै शासक होइन सेवक भएर काम गर्ने प्रण पनि व्यक्त गर्न चाहन्छु ।’

‘जित–हारको मनोविज्ञानलाई त्यागेर अब काठमाडौँ महानगरको विकास र समृद्धिका लागि सहकार्य, सहमति र सहअस्तित्वको सिद्धान्तलाई अघि बढाउने प्रण पनि व्यक्त गर्न चाहन्छु । साथै निर्वाचित सबै जनप्रतिनिधिहरू पनि तत् अनुरूप अघि बढौँ भन्ने पनि अनुरोध गर्न चाहन्छु । काठमाडौँको विकास र समृद्धिका लागि म कुनै पनि ठाउँमा बाधक बन्ने छैन’, निर्वाचनपछि परिणाम प्राप्त भएसँगै जित–हारको मनोविज्ञानलाई अन्त्य गरेर अपिल गर्दै सुनिता भन्छिन्, ‘र निर्वाचनमा मैले जनतासामु गरेका प्रतिवद्धताहरु पूरा गर्नका लागि पनि सम्बन्धित सबैले सहकार्य, सहमति र सहअस्तित्वको सिद्धान्तलाई पालना गरी सबै मिलेर यो काठमाडौं महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त, व्यवस्थित र सांस्कृतिक नगरका रूपमा थप विकास गर्न दत्तचित्त भई लागि परौँ भन्ने पनि आह्वान गर्न चाहन्छु ।’

काठमाडौँ महानगरलाई सुन्दर र व्यवस्थित सहर बनाउने एजेन्डाप्रति विश्वास गरी काठमाडौँका मतदाताले विजयी गराएको भन्दै एमालेको तर्फबाट उम्मेदवार रहेकी डंगोलले आफूप्रति देखाएको अपार विश्वासका कारण उपमेयर पदमा निर्वाचित भएको र मतादाताले दिएको हरेक मतलाई मैले मेरो अठोट पूरा गर्ने बलियो सहाराका रूपमा लिएको बताएकी हुन् । धन्यवाद पत्रमा सुनिताले भनेकी छिन्, ‘उपमेयरमा निर्वाचित भएसँगै मेरो विपक्षमा मतदान गर्नुहुने मतदाताहरूको समेत सम्मान गर्दै तपाईँहरूले गरेको विश्वास र भरोसालाई अधुरो हुन नदिन म मेरो कार्यकाल भरी मेरो योग्यता, क्षमता र बर्कतले भ्याएसम्म काठमाडौँ महानगरवासीको साझा जनप्रतिनिधिको हैसियतमा काम गर्ने प्रण व्यक्त गर्न चाहन्छु ।’

राजनीतिलाई फोहोरी खेल भनेर युवा पुस्ता टाढिइरहेको सन्दर्भमा काठमाडौँबासीले युवामाथि विश्वास गर्नुलाई आफूले थप चुनौतीको रूपमा लिएको उनले बताइन् । ‘राजनीतिलाई फोहोरी खेल भन्दै निराश बनेका युवाहरूको मनोविज्ञानले पनि आशाको दियो बाल्दै हामी जस्ता युवामाथि भरोसा गर्नुलाई मैले थप चुनौतीका रूपमा लिएकी छु । अहिले नगरे कहिले गर्ने ? युवाहरूले नगरे कसले गर्ने ? भन्ने मनोविज्ञान पनि यो निर्वाचनमा प्रखर बनेको अनुभूति मैले गरेकी छु । त्यसैले युवाहरूको त्यो मनोभावनालाई समेत प्रतिनिधित्व गर्दै उहाँहरूको आशाको दियो मर्न नदिने प्रण गर्न चाहन्छु । तपाईँहरूको साथ, सहयोग र समर्थन भएन भने मेरा सपनाहरू सबैका साझा सपना बन्न सक्दैन अनि ती सपना आफैँ विलय भएर जानेछन् । त्यसैले काठमाडौँ बनाउने सपना सबैको साझा बनाउन तपाईँहरू सबैको सहयोगको अपेक्षा मैले गरेकी छु’, उनले भनेकी छिन् ।

Logo