आईजीपी नियुक्तिविरुद्धको रिटको सुनुवाइ सार्न नपाइने, ३० जेठमा सुनुवाइ हुने

आईजीपी नियुक्तिविरुद्धको रिटको सुनुवाइ सार्न नपाइने, ३० जेठमा सुनुवाइ हुने


आईजीपी नियुक्तिविरुद्धको रिटको सुनुवाइ सार्न नपाइने भएको छ । प्रहरी महानिरीक्षक आईजीपी नियुक्ति र एआईजीको बढुवासम्बन्धी परेको रिटमाथिको सुनुवाई जेठ ३० गते हुने भएको छ । आजका लागि सुनुवाइको मिति तोकिएपनि विपक्षीका नाममा म्याद तामेल हुन नसक्दा पूर्ण सुनुवाइ हुन सकेको थिएन । 

नियमित पेसी अन्तर्गत जेठ १७ गते न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा.कुमार चुडालको संयुक्त इजलासमा परेको रिट निवेदनमा पुनः ७ दिनको समय दिएर म्याद तामेल गर्ने आदेश दिइएको छ ।

 यसअघिको आदेश अनुसार हाल महानिरीक्षक रहेका धिरजप्रताप सिंह, वसन्तकुमार पन्त र रविन्द्र बहादुर धानुकको नाममा म्याद तामेल हुन सकेको थिएन । सर्वोच्चले बसन्त कुमार पन्त कैलालीमा रहेको र अन्य प्रत्यर्थीहरु प्रहरीको उच्च पदमा रहेका कारण प्रहरी प्रधान कार्यालयको सहयोग लिई म्याद तामेल गर्न आदेश दिइएको छ । 

डीआईजीहरु घनश्याम अर्याल र प्रकाशजंग कार्कीले एआइजी बढुवाको विरुद्धमा गत चैत १७ गते सर्वोच्चमा रिट दायर गरेका थिए । त्यसैगरी एआइजी विश्वराज पोखरेलले आफू वरिष्ठ एआइजी हुँदाहुँदै धिरजप्रताप सिंहलाई आइजीपीमा नियुक्ति गरेको भन्दै उक्त निर्णय बदर गरी आफूलाई आईजीपीमा नियुक्ति दिलाउन परमादेशको समेत माग गरेर रिट दायर गरेका थिए । 

Logo