निर्वाचनपछि एमाले : के हो प्रधानमन्त्री कार्ड ?

निर्वाचनपछि एमाले : के हो प्रधानमन्त्री कार्ड ?


वैशाख ३० गते सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार प्रतिपक्षी दल नेकपा एमाले दोस्रो दल बनेको छ ।

देशभरका ७५३ पालिकामध्ये बाजुराको बूढीगंगा नगरपालिकाबाहेक ७५२ पालिकाको निर्वाचन सम्पन्न भएको छ। मतपरिणामअनुसार गत निर्वाचनमा पहिलो बनेको एमाले यो निर्वाचनबाट भने खस्किएको छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेले २९४ पालिका प्रमुखसहित जनप्रतिनिधिमा बहुमत थियो । तर यो निर्वाचनमा भने एमालेले २०५ पालिका प्रमुखमा चित्त बुझाउनु परेको छ । निर्वाचनबाट प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस ३२९ पालिका प्रमुख सहित पहिलो दल बनेको छ भने अर्को सत्तारुढ दल नेकपा माओवादी केन्द्रले १२१ पालिका जितेको छ ।

पाँच दलीय सत्ता गठबन्धनले ६ महानगर र ११ उपमहानगरमा पुर्ण रूपमा चुनावी तालमेल गरेको थियो । तलका पालिकाहरूमा पनि आफू कमजोर भएका र एक्लै लड्दा प्रतिपक्षी एमालेलाई फाइदा हुने ठाउँहरूमा गठबन्धन दलहरुबीच चुनावी तालमेल गरिएको थियो । कतिपय ठाउँमा भने गठबन्धनकै निर्णयअनुसार गठबन्धन दलहरूबीचमै प्रतिस्पर्धा भयो ।

प्रतिपक्षी एमालेले पनि कतिपय ठाउँहरूमा गठबन्धनकै दलहरूसँग पनि तालमेल गरेको थियो । माओवादी बलियो भएको केही ठाउँमा एमाले र काँग्रेसबीच चुनावी तालमेल समेत भएका थिए । त्यस्तै कतिपय ठाउँमा एमाले र माओवादीबीच चुनावी तालमेल गरेर कांग्रेसविरुद्ध पनि चुनाव लडेका थिए । हुम्ला जिल्लाको एउटा पालिकामा एमाले र एमालेबाट केही समय पहिले मात्रै छुट्टिएर गएको नेकपा एकीकृत समाजवादीबीच पनि चुनावी तालमेल भएको थियो ।

समग्रमा निर्वाचनबाट पाँच दलीय गठबन्धन बलियो देखिएको छ भने गठबन्धनका अगाडि एमाले कमजोर देखिएको छ । दोस्रो भएको एमालेले गठबन्धनका कारण एमाले कमजोर भएको प्रतिक्रिया पनि दिँदै आएको छ । तर सँगै मतपरिणामका हिसाबले एमाले दोस्रो भएपनि जनमतका हिसाबले एमाले बलियो भएको एमाले महासचिव शंकर पोखरेल लगायतका नेताहरूले दाबी गर्दै आएका छन् ।

त्यसो त निर्वाचनमा निर्वाचित सिट संख्यालाई आधार मानेर दलहरूले बलियो र कमजोर दलका रूपमा ब्याख्या गर्ने गरिन्छ । तर प्रमुख प्रतिपक्षी दल एमालेले भने विगतको निर्वाचन भन्दा कम पालिकामा जीत हासिल गरेपनि समग्रमा निर्वाचनमा प्राप्त मत भने बलियो भएको दाबी गर्दै आएको छ ।

यहीबीचमा दोस्रो दल बनेपछि एमाले अहिलेको सत्ता गठबन्धन भत्काउने खेलमा लागेको चर्चा सुरू भएको छ । एमालेको प्रस्तावमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्नसक्ने चर्चा चलेको छ ।

प्रधानमन्त्री कार्ड १

मूलतः स्थानीय निर्वाचनपछि पुनः बाम गठबन्धन बन्नसक्ने चर्चा नेताहरूबीचमा चल्न थालेको छ । विशेषगरी एमाले अध्यक्ष केपी शर्मा ओलीले बाम गठबन्धन बनाउनेगरी पुष्पकमल दाहाललाई प्रधानमन्त्री प्रस्ताव गरेको कुरा बाहिर आएको छ। यो कुराको नेता दाहालले पनि पुष्टी गरेका छन्। 

बिहीबार एउटा अनलाईनमा अन्तरवार्ता दिँदै दाले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएको बताएका छन् । 'मलाई प्रधानमन्त्रीको प्रस्ताव नआएको होइन । प्रत्यक्ष-परोक्ष कुराहरू आइरहेकै छन् । तर म एकदम क्लियर छु, अहिले प्रधानमन्त्रीको रेसमा छैन । जसरी हिजो पनि थिइनँ', नेता दाहालले भनेका छन् 'वाम गठबन्धनको बेलामा पनि मलाई अफर आउँदा सरी १ अहिले प्रधानमन्त्री हुन्न भनेको हुँ । अहिले पनि भन्न आउनेलाई धन्यवाद, तर सरी भनिराख्या छु । यही गठबन्धनबाटै अघि जान्छु, उहाँ (देउवा)कै नेतृत्वमा संघ र प्रदेशको निर्वाचन हुन्छ । विकास र स्थायित्व नै चाहेको छु ।'

बुधबार मात्रै माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरूका लागि आयोजीत प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कांग्रेसलाई पनि ठेगान लगाइन्छ भनेर बोलेका थिए । विगतमा एमालेलाई ठेगान लगाइएको प्रसंग निकाल्दै उनले दिएको अभिव्यक्तिको अहिले चर्चा छ । जसका कारण सत्ता गठबन्धनभित्र कतै अविश्वास बढेको त होइन रु भन्ने आंशका पनि जन्मिएको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि गठबन्धन इमान्दार नभएको भन्दै आएका छन् । अध्यक्ष नेपालले पनि बिहीबार सुर्खेत पुगेर आफूलाई प्रधानमन्त्रीको अफर आएको बताएका छन् । पाँच दलीय गठबन्धन टुटाउन एमालेले प्रधानमन्त्रीको अफर गरेको बतादै उनले प्रधानमन्त्रीको प्रलोभनमा नफस्ने अभिव्यक्ति दिएका छन् ।

आगामी निर्वाचनभन्दा पहिले गठबन्धनमा प्रतिकूल असर पर्ने कुनैपनि काम नगर्ने समेत उनले बताएका छन्। ‘प्रचण्डजीले एउटा कार्यक्रममा भन्नुभयो, मलाई प्रधानमन्त्रीको अफर आयो। त्यसपछि मैले जवाफ दिँदै भनेको थिएँ';, नेपालले भनेका छन्, 'तपाईँलाई मात्र होइन, अन्त पनि आएको होला है। मैले सांकेतिक कुरा गरेको थिएँ। यो कार्ड प्रयोग गर्ने तरिका, मान्छेलाई मूर्ख बनाउन सकिन्छ भन्ने ठूलो भ्रम हो।’

चुनावी समिक्षामै छौ अरू विषयमा छलफलै भएको छैनः एमाले

दाहाल-नेपाललाई प्रधानमन्त्री अफर गरेको चर्चा चलिरहदा एमालेले भने उक्त कुरा अस्वीकार गरेको छ । दाहाल-नेपालले आफै हल्ला चलाएको भन्दै एमालेले आफूहरू अहिले चुनावी समिक्षामै रहेकाले अरू विषयमा कुनैपनि कुरा नभएको समेत स्पष्ट पारेको छ ।

एमाले उपाध्यक्ष विष्णु पौडेलले वाम गठबन्धन वा प्रधानमन्त्रीको अफर गरेको भन्ने कुरा हल्ला माओवादी र नेकपा एस आफैले चलाएको दाबी गरे । कांग्रेससँग बार्गेनिङ गर्नका निम्ती उनीहरू आफैले आफैलाई प्रधानमन्त्री अफर गर्ने र एमालेले गरेको भनेर मिडियाबाजी गर्ने काम भइरहेको उनको भनाई छ । एमालेबाट कुनै प्रस्ताव अनौपचारिक रुपमा पनि नगएको पौडेलले बताए ।

एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजाल चुनावी समिक्षामै रहेकाले अगाडि कसरी जाने भन्ने सन्दर्भमा छलफल नै नभएको बताउछन् । सञ्चारमाध्ययममा माओवादी अध्यक्ष दाहाल र समाजवादीका अध्यक्ष नेपालको अभिव्यक्ति सुनेको भन्दै नेता रिजालले तर एमालेले यस्ता कुनैपनि कुरा अगाडि नबढाएको बताए । 'हामी चुनावी समिक्षामै छौ  । चुनावको आन्तरिक रिपोर्टहरू लिइरहेका छौ । कमरेड प्रचण्डले मलाई प्रधानमन्त्रीको अफर आएको छ भनेर दिएको अन्तरवार्ता पनि पढेु, नेता रिजालले भने, 'माधव कमरेडले पनि सुर्खेत पुगेर मलाई प्रधानमन्त्रीको अफर आएको छ भन्नुभएको छ । तर यस विषयमा केही कुरा अगाडि नै बढेको छैन । अब अगाडिका अप्सनहरू के हुन सक्छन् भनेर झारफुक गरेको होला ।'

पछिल्लो समय बाम गठबन्धनका विषयमा केही नेताहरूबाट अभिव्यक्ति आएपनि यसविषयमा ठोस छलफल भने भएको पाइँदैन । यतिसम्म की एमाले र माओवादीका नेताहरूबीच गतिलो संवाद पनि भएको देखिँदैन । दुई पार्टीबीचको गतिलो सम्वाद् समेत नभएको अवस्थामा एमाले अध्यक्ष ओलीले एक्कासी प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गर्लान् भन्ने कुरामा भने शंका गर्नुपर्ने ठाउँ छ ।

Skip This
Logo