सत्तारुढ गठबन्धन प्रदेशसभा र प्रतिनिधिसभा चुनावसम्म कायम रहन्छ : अध्यक्ष नेपाल

सत्तारुढ गठबन्धन प्रदेशसभा र प्रतिनिधिसभा चुनावसम्म कायम रहन्छ : अध्यक्ष नेपाल


नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन प्रदेशसभा र प्रतिनिधिसभा चुनावसम्म कायम रहने बताएका छन्।

अध्यक्ष नेपालले आगामी मंशिरमा प्रदेशसभा र प्रतिनिधिसभा चुनाव हुने भन्दै त्यतिबेलासम्म सत्तारुढ गठबन्धनलाई कायमै राखेर अघि बढ्न आफ्नो पार्टीले चाहेको बताएका हुन् । पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीले  बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सत्तारुढ गठबन्धनलाई भत्काउने प्रयत्नहरु भईरहे पनि त्यसको पछि नलाग्न पार्टीको सिंगो पंक्तिलाई आह्वान गरे। 

गठबन्धनभित्र कमजोरी भए आलोचना गर्ने तर गठबन्धनलाई भने निरन्तरता दिएरै जाने अध्यक्ष नेपालको दृढता थियो ।

उनले भने, ‘अब यो गठबन्धनको भविष्य छैन भन्ने अनेकौं कुप्रचारहरु गरिएका छन्, त्यस्ता कुप्रचारको पछाडि हामी लाग्नु हुँदैन । हामी यो गठबन्धनलाई आउने चुनावसम्म, चुनाव पश्चातको अवस्थासम्म लिएर जान चाहन्छौं । यो गठबन्धन कसरी भत्कियोस् । आपसी अविश्वास कसरी बढोस् भनेर अनेकखालका प्रयत्नहरु पनि भएका होलान् । तर त्यसको पछाडि हामी लाग्नु हुँदैन । हामी इमान्दारिताका साथ चल्छौं । तर कमजोरी भएका छन् भने त्यसको आलोचना पनि गर्छौं । हामीलाई एक्ल्याउन खोजिएको छ भने त्यसको आलोचना गर्छौंं। आफ्नो अडानमा दृढताका साथ उभिन्छौं । हामी अडानमा नउभिने, अरुले पेल्यो भनेर रुने यस्तो काम गर्न हुँदैन । त्यसले हाम्रो कमजोरी झल्किन्छ । तथ्यको आधारमा, तर्कको आधारमा आफ्नो कुरालाई पुष्टि गर्न सक्नु पर्दछ । चाहिने दुईटा कुरा हो–पहिलो तथ्य हो, दोस्रो तर्क हो, सक्दै सक्दैनौं।’

अध्यक्ष नेपालले गठबन्धन गरेर स्थानीय तह निर्वाचनमा जाँदा आफूहरुले पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाको मेयरमा शान्दार ढंगले सफलता हासिल गरेको बताए । उनले पार्टीबाट फिर्ता बोलाइएका मन्त्रीहरुको अभिव्यक्तिलाई लिएर आलोचना नगर्न पनि पार्टी पंक्तिलाई सचेत गराए । पार्टीबाट फिर्ता बोलाइएका मन्त्रीहरुले सकेसम्म राम्रो काम गरेकाले उनीहरुलाई दोष लगाउनु राम्रो नहुने अध्यक्ष नेपालको भनाइ थियो । 

उनले सरकारमा रहेर राम्रो काम गरेका मन्त्रीहरुलाई आगामी दिनमा सम्मान गर्ने पनि बताए । अध्यक्ष नेपालले वडा तहसम्म पुगेर प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए। 

Logo