४८ वर्षदेखि नबनेको बसपार्क तीन वर्षमा बनाउने पोखराका मेयरको घोषणा

४८ वर्षदेखि नबनेको बसपार्क तीन वर्षमा बनाउने पोखराका मेयरको घोषणा


पोखरामा बसपार्क निर्माण पाँच दशकदेखि चुनावी नारा मात्रै बनिरहेको छ । बसपार्क बनाउनका लागि जग्गा अधिग्रहण गरेको ४८ वर्ष पुगिसक्यो । २०३२ सालमा तत्कालीन अञ्चलाधीश तथा नगर योजनाका अध्यक्ष शंकरराज पाठक र योजनविद् पदमबहादुर क्षेत्रीले पृथ्वीचोकमा करिब दुई सय रोपनी जग्गा बसपार्कका लागि छुट्याएका हुन् । 

जग्गा अधिग्रहण भए पनि व्यवस्थित बसपार्क देख्ने पोखरेलीको लामो सपना अधुरै छ । हरेक चुनावमा यहाँका जनप्रतिनिधि उम्मेदवारको प्रमुख चुनावी एजेण्डा बन्छ, तर कार्यान्वयन हुँदैन । बसपार्कको जग्गा अधिग्रहण हुँदा ६ वर्ष उमेरका धनराज आचार्य अहिले पोखराको मेयर बनेका छन् । 

उनले आउँदो ३ वर्षमा बसपार्क निर्माण सक्ने घोषणा गरे । प्रदेश सरकारले बजेट छुट्याएको नाला निर्माणको शिलान्यासमा उपस्थित भएर उनले ३ वर्षमा व्यवस्थित बसपार्क निर्माण हुने भाषण गरे ।

पोखरा बसपार्कमा नाला निर्माणको काम सुरु भएको छ । नाला निर्माणको गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का र पोखरा महानगरका मेयर धनराज आचार्यले एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन् । पोखरा महानगरका मेयर धनराज आचार्यले पोखरा बसपार्क अबको तीन वर्षभित्र निर्माण गरिसक्ने प्रतिबद्धता जनाए । उनले यसलाई सिटी बसपार्कको रूपमा निर्माण गरिने बताए । 

ठूलो बसपार्क भने पोखरा ३२ लामेआहालमा बनाइने आचार्यको भनाई छ । ‘अधिग्रहण गरेको बेलाजति ठूलो बसपार्क अव बन्दैन । यसलाई सिटी बसपार्कको रूपमा निर्माण गर्छौं । ठूलो बसपार्क लामेआहालमा बन्छ,’ उनले भने, ‘अहिलेको नयाँ बसपार्क समेत सिटी बसपार्कको रूपमा स्तरोन्नति गर्छौं । यो काम हाम्रो प्रमुख प्राथमिकतामा छन् ।’

निर्माणाधीन बसपार्कमा सबैभन्दा ठूलो समस्या सुकुम्वासीको छ । त्यहाँ सुकुम्वासी भरिएका छन् । सुकुम्वासी समस्यालाई हल गरेरै महानगरले बसपार्क निर्माण गरिछाड्ने मेयर आचार्यको भनाइ छ । ‘केही जग्गाका समस्या छन् । अरू पनि त्यस्ता समस्या छन्,  उनले भने, ‘सबै समस्या समाधान गर्छौं । तीन वर्षमा बसपार्क बन्छ । कसैले अन्याय भोग्नु पनि पर्दैन ।’ 

बसपार्क निर्माणका लागि संघ र प्रदेश सरकार समेत आफूसँगै रहेका उनको भनाई छ । बसपार्कमा नाला निर्माणको योजना बनाएर प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्काले समेत बसपार्क बनाउन सकेजति प्रयास गर्ने बताएका छन् । ‘ठाउँ पोखरा भए पनि काम हाम्रो पनि हो । 

बसपार्क निर्माणमा धेरै पटक कार्यक्रम पर्छ तर कार्यान्वयन भएको छैन,’ उनले भने, ‘अब काम हुन्छ । प्रदेश सरकारले चासो दिन्छ ।’ यो ठाउँमा कति परिवार सुकुम्वासी छ भन्ने कुनै रेकर्ड छैन । बसपार्क बनाउनका लागि १ सय रोपनी जग्गा पनि बाँकी नभएको नगर विकास समितिले जनाएको छ । समितिकै पदाधिकारीले बसपार्क निर्माणका लागि अधिग्रहण भएको जग्गा घडेरी बनाएर बेचेका थिए । पछि एयरपोर्ट स्तरोन्नति गर्दा त्यहाँ रहेका व्यवसायीलाई बसपार्कको जग्गामा राखियो ।

तत्कालीन समयमा ७४ परिवारलाई सहुलियत दरमा घडेरी दिइएको थियो । त्यसपछि पृथ्वी राजमार्गको सडक मापदण्ड, पोखरा विमानस्थलबाट सारिएका र केही जग्गाधनीलाई सट्टा जग्गा दिँदा अधिग्रहण गरिएको २ सय ५ रोपनी जग्गा डेढ सय रोपनीमा खुम्चिएको छ ।  

सेती नदी किनारमा धाँजा फाटेको भनिएको ६८ रोपनी जग्गामा सुकुम्वासीको नाममा अतिक्रमण भएको छ । सबै गरेर ८० रोपनी हाराहारी मात्रै जग्गा बाँकी रहेको बताइएको छ ।

Logo