एसपीपीमा सहभागी हुन सेनाले अमेरिकालाई लेखेको पत्र सार्वजनिक, सेनाको दाबी झुठो

एसपीपीमा सहभागी हुन सेनाले अमेरिकालाई लेखेको पत्र सार्वजनिक, सेनाको दाबी झुठो


नेपाली सेनाले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीमा सहभागी हुन २०७२ सालमा नै अमेरिकालाई पत्र लेखेको पाइएको छ । बिहीबार सार्वजनिक भएको पत्रमा सेनाले २०७२ कात्तिक १० गते नेपालको लागि तत्कालिन अमेरिकी राजदूत एलिना बी टिप्लिट्जलाई पत्र लेखि एसपीपीमा सहभागी हुन अनुरोध गरेको पाइएको हो । 

पत्र तत्कालिन नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले राजदूतलाई सम्बोधन गरी लेखेका छन् । पत्र सेनाले परराष्ट्र मन्त्रालय मार्फत नपठाई सिधै राजदूतलाई सम्बोधन गरी पठाएको छ भने वोधार्थ रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई दिएको छ । 

सेनाले एसपीपीमा सहभागी हुन अमेरिकालाई पत्र लेख्दा देशको प्रधानमन्त्री केपी शर्मा ओली रहेका थिए । ओली नयाँ संविधान जारी भएपछि २०७२ असोज २५ गते पहिलो पटक देशको प्रधानमन्त्री बनेका थिए । ओली प्रधानमन्त्री बनेको १५ दिनपछि सेनाले अमेरिकी राजदूतलाई एसपीपीमा सहभागी हुन पत्र लेखेको थियो । 

काठमाडौंस्थित अमेरिकी दूतावासले बुधबार पत्रकार सम्मेलन गरी एसपीपीमा सहभागी हुन नेपाल सरकार र नेपाली सेनाले प्रयास गरेको र त्यसलाई सन् २०१९ मा अमेरिकाले स्वीकृति दिएको जनाएका थिए । 

प्रधानमन्त्री शेरबहादुर देउवाको यसै महिना हुने अमेरिका भ्रमणका बेला एसपीपी सम्झौता गर्न लागेको सूचना बाहिरिएपछि यसको चौतर्फी विरोध भएको थियो । संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताले यसको विरोध जनाउँदै एसपीपी सम्झौता नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।
 
एसपीपी धेरै विरोध भएपछि अमेरिकी दूतावासले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी स्पष्ट पारेको थियो । पत्रकार सम्मेलनमा दूतावासले एसपीपी सम्झौताको प्रस्ताव अमेरिकाले गरेको नभई नेपाली सेना र नेपाल सरकारले गरेको जनाएको थियो । 

अमेरिकी दूतावासले पत्रकार सम्मेलन गरेको केही मिनेटपछि नै नेपाली सेनाले त्यसको खण्डन गरेको थियो । सेनाले बुधबार नै एक विज्ञप्ति जारी गरी एसपीपी सम्झौता गर्न सेनाले हालसम्म कुनै पक्रिया अघि नबढाएको र यस्तो सम्झौता गर्न नहुने स्पष्ट शब्दमा भनेको थियो । 

सेनाले विज्ञप्ति जारी गरेको चौबिस घण्टा नबित्दै २०७२ कात्तिक १० गते सेनाले अमेरिकी राजदूतलाई पठाएको पत्र बिहीबार सार्वजनिक भएको हो ।  पत्रमा भविष्यमा एसपीपीमा सहभागी गराउन अनुरोध गरिएको छ । 

 

Avatar

 

Logo