हेटौडाका कृष्ण २५ वर्षदेखि जमलमा, भन्छन्- घडी बनाउँदै मर्न पाउँ

हेटौडाका कृष्ण २५ वर्षदेखि जमलमा, भन्छन्- घडी बनाउँदै मर्न पाउँ


यो काठमाडौंको सडकले अहिलेसम्म कति मान्छेको पदचाप महसुस गर्यो होला ?

यो काठमाडौंले अहिलेसम्म कति ठाउँका मान्छेलाई आश्रय दियो होला ? यो काठमाडौंले अहिलेसम्म कतिलाई सफल बनायो होला अनि कतिलाई असफल ? यो काठमाडौंले कतिलाई सपना पूरा गर्न नदिएर गाउँ फर्कायो होला ? अनि यो काठमाडौंले अहिलेसम्म कतिलाई सफल बनायो होला र कतिलाई असफल बनायो होला ? यसको कुनै लेखाजोखा छैन । यो सहरले त्यसलाई मात्रै चिन्छ जोसँग पैसा, सान, मान र नाम छ । बाँकी पचास लाखभन्दा बढीको यो भीडमा कहाँ हराउँछन् पत्तै छैन । 

उज्ज्वल भविष्यको सपना बोकेर यो सहरमा प्रवेश गर्नेको संख्या पनि कम छैन । उमेर पुगेपछि होस अथवा बाल्यकालमै किन नहोस, सुरुवाती दिनमा सहज उनीहरुलाई पक्कै हुँदैन । थोरैले मात्रै आफ्ना सपना पूरा गर्छन् । केही सामान्य जीवन विताउँछन् अनि केही भने सहरबाटै बाहिरिन्छन् । यहीँ सहरमा ९ वर्षको उमेरमा प्रवेश गरेपछि ५६ वर्षसम्म निरन्तर संघर्ष गरिरहेका एक व्यक्ति हुन्, कृष्ण लामा । 

काठमाडौं जाग्नुभन्दा अघि नै उनी बिउँझन्छन् । धेरै पटक उनले काठमाडौं बिउँतिएको देखेका छन् । नगरकोटबाट दिनको उज्यालो छिर्दै गर्दा कृष्णको दिमागमा अनेकौ तर्कना आउँछन् । ५६ वर्षको यो सामिप्यतामा काठमाडौंको अनेक स्वरुप उनले देखेका र भोगेका छन् ।

४-५ दिनसम्म घाम नदेखिने गरीको चिसो महसुस गरेका छन् । हप्ता दिनसम्मको लगातार झरीमा रुझेका छन् । टन्टलापुर घाममा महिनौंसम्म सडकको पेटीमा दुई रुपैयाँ कमाउन पसिना पुछेका छन् ।

पञ्चायती शासकको रुखो आवाज सुनेका छन् । पञ्चायती प्रहरीका बुटले कुल्चिएको देखेका छन् । प्रजातन्त्र र निरंकुश शासनबीचको पौठेजोरी देखेका छन् । प्रजातन्त्रमा स्वार्थी नेताको पदचाप महसुस गरेका छन् । अनि अहिले गणतन्त्रको आनन्द लिदैछन् । उनले टेकेपछिको योबीचमा काठमाडौं कायापलट भएको छ तर कृष्णको उमेर मात्रै ढल्कियो, गाला मात्रै चाउरियो मन र जोशजाँगर भने उस्तै छ ।  

कृष्णले आफ्नो जीवनको अधिकांश समय असन, न्युरोड, जमल, रत्नपार्क आसपासमा बिताएका छन् । यीमध्ये पनि सबैभन्दा भिड हुने ठाउँ हो, रत्नपार्क । धेरै ठाउँ जान सकिने मध्यबिन्दुका रुपमा रहेकाले पनि रत्नपार्क कहिल्यै खाली बन्दैन । रत्नपार्कमा काठमाडौं भित्रै बस्ने धेरै मानिस ठोकिन्छन् । विभिन्न जिल्लाबाट आउने मानिसहरु पनि एक पटक रत्नपार्क घुम्न पुग्छन् । नजिकै रहेको धरहरा, घण्टाघर, रानीपोखरी, मुलुककै पुरानो त्रिचन्द्र कलेज, मुलुककै जेठो दरबार हाइस्कुल, राजदरबार, मुलुककै जेठो वीर अस्पतालले पनि रत्नपार्क, जमल, असनलाई सधैं व्यस्त बनाइरहन्छ । यहीँ भिडभाडमा भेटिन्छन्, कृष्ण लामा । 

न्युरोड हुँदै रत्नपार्क अनि अलि पर रानीपोखरी । त्यही रानीपोखरीसँगै छ जमालको आकाशे पुल । पुलमुनी छन् ६५ वर्षिय कृष्ण लामा । सडकको छेउमा बसेर कहिले पछाडी फर्केर रानीपोखरी, घण्टाघर नियाल्छन् त कहिले आफ्नै अगाडी भएको दरबार हाई स्कुलका केटाकेटी हेर्दै आफ्नै छोराछारीको याद गर्छन् । सडकमा हिड्ने मानिस रानीपोखरीको दृश्य नियाल्दै हिडछन् । कृष्ण भने उनीहरुलाई नियाल्छन् । उनी कहिले आफू अगाडि उभएिका मानिसलाई गफमा अल्मल्याउँछन् भने कहिले आफै अल्मलिन्छन् ।

दौतरीसँगको गफमा उनी बढी आनन्द महसुस गर्छन् । तर गफका सुरमा उनको काम भने रोकिँदैन । एवं रितले उनले काम गरेको २५ वर्ष भयो । उनको सुरु गरेको घडी बनाउने कामले सिल्भरजुब्ली बनाएको छ । हेटौँडा घर भएका कृष्ण सानै उमेरमा काठमाडौं छिरे । पहिलोचोटी काठमाडौं आउँदा उनको उमेर ९ वर्ष मात्रै थियो । उनी काठमाडौं कसैको सल्लाहमा हैन भागेर आएका हुन् । सानैदेखि जिद्धि स्वभावका उनलाई काठमाडौँ आउँन पनि कसैले रोक्न सकेन ।

सपनाको सहर काठमाडौं मनमा सपना बोकेर आएका उनलाई सजिलो त कहाँ थियो र ? कहिले भोकभोकै बस्नुपर्यो । कहिले सडकमै सुत्नुपर्यो । तर केही समयपछि उनलाई एकजना मानिसले होटलमा भाँडा माज्ने काम लगाइदिए । त्यो दिन उनको खुशीको सीमा रहेन । बाटोबाटोमा सुत्नु परेको पीडा सम्झेर उनी तयार भए होटलमा भाँडा माझ्ने काम गर्न । कृष्ण भन्छन्, ‘काठमाडौं ९ वर्षकै उमेरमा आएको हुँ । कसैलाई नभनी । काठमाडौं त आए तर के गर्ने केही थाहा थिएन । कति रात भोकभोकै सडकमा सुते । मानिसले फालेको खानकुरा खाए । केही समयपछि एकजनाले मलाई दया गरेर होटलमा भाडा माँझ्ने काम लगाइदिए । म धेरै नै खुशी भए ।

सानो मान्छे काम पनि राम्रोसँग जान्दिन थिए । होटलको साहुले गाली गथ्र्यो, पिट्थ्यो तर त्यति पनि सहनै पर्यो किनकी खान र बस्न उसैले दिएको थियो । त्यो साहुले गाली गर्दा सोच्थे, म पनि ठूलो भएर यत्रै होटल खोल्छु ।’ जब उमेर बढ्दै गयो अनि उनले थाहा पाए होटल खोल्न त ठूलो रकम चाहिने रैछ जुन उनको कल्पना बाहिरको थियो । होटलमा भाडा माझेर सुरु भएको उनको कामको सिलसिला कहिले ज्यामी काममा पुग्यो त कहिले भरिया बने । पछि आफै न्युरोडका सडकमा कपडा पसल राखे । जहाँबाट उनले मनग्गे आम्दानी गरे । 

थोरै रकम हातमा पर्न थाल्यो । काठमाडौंको झिलिमिलीले उनको मन अड्याएकै थियो । सानै बेलामा काठमाडौं आएर पनि उनलाई घर जान कहिल्यै मन लागेन । त्यसको कारणबारे उनलाई अहिले पनि थाहा छैन । न्युरोडको सडकमा कपडाको व्यापार गर्दागर्दै चिनजान भएकी युवतीसँग उनले लगनगाँठो कसे । एक पछि अर्को गर्दै तीन छोरा भए । अब उनीहरुको ध्यान छोराहरुको पढाई र लालनपालनमा केन्द्रित भयो । ती दिन सम्झदै टोलाएका कृष्ण भन्छन्,

‘मलाई घर जान कहिले मन लागेन । परिवार त सबै थिए तर पनि छोडेर आइहालेँ के जानु जस्तो लाग्यो ।

यही दुःख सुख गरेर बस्न मन लाग्यो । पहिले कहिले काँही दशैँमा जान्थेँ। मैले विहे पनि यही काठमाडौंमै गरेँ । छोराहरु भए । अहिले एउटा छोरो आर्मी, एउटा छोरो पुलिस र एउटा छोरो ड्राइभर छन् । मैले उनीहरुलाई दुःख सुख गरेर पढाए अहिले उनीहरु आफै कमाएर खाने भैसकेका छन् ।’

छोराहरु उनीसँग बस्दैनन् । छोराहरुले बाउआमा त्यागेका हैनन् । कृष्णले आफैं उनीहरुलाई आफ्नो जीवन स्वतन्त्र भएर बाच्न अनुमति दिएका हुन् । आफ्ना हातखुट्टा चलुन्जेल उनीहरुमाथि बोझ नबन्ने उनको संकल्प छ । श्रीमती पनि न्युरोडमा कपडा व्यापार गर्छिन् । दुई जनाको कमाइले उनीहरुलाई खानलाउन पुगेकै छ । भन्छन्, ‘जब आवश्यकता पर्ला तब आश्रय देलान् नि त छोराहरुले ।’ घडी बनाउन उनले कतै तालिम लिएका छैनन् ।

कपडा व्यापार गर्दै गर्दा साथीभाइले गरेको हेर्दै सिकेका उनलाई सोही सिप बुढेसकालको सहारा बन्यो । सिप सिके कुनै न कुनै दिन कही न कही काम लाग्छ भन्ने कुराको उदाहरण हुन् कृष्ण ।

उनी भन्छन्, ‘सडकमा पसल राख्दा फाइदा त किन नहुँनु र तर पुलिसले लखेटेको लेखेट्यै गर्छ । बरु यहाँ एकठाउँ बसिरह्यो भने केही गर्दैन जस्तो लागेर घडी बनाएर बस्न थालेको हुँ । पहिले नै मैले अलिअलि गर्दै घडी बनाउन सिकिसकेको थिएँ । कहिलेकाही काम लाग्छ जस्तो लागेर राम्ररी नै सिकेको थिए । तर यहीँ काम मेरो बुढेसकालको सहारा भएको छ । जब सम्म आँखा देख्छु तव सम्म यहीँ बसेर यही काम गरिरहन्छु ।’ कृष्ण र उनको परिवार असनमा बस्छ ।

कोठा भाडामा लिएर । एका बिहानै निस्कन्छन् दुबै जना । फर्कंदा साँझ पर्छ । उनका छोराहरु फरक फरक ठाउँमा बस्छन् । भेट हुन्छ परिवारको बेलाबेला तर सबै आ–आफ्नै खुट्टामा उभिएका छन । साथसहयोग फरक कुरा भयो तर एकअर्काकै भर पर्नु पर्ने अवस्था भने छैन । दिनभरी उनको कमाइ करिब हजारको आसपास हुन्छ । कहिले कम, कहिले बढी तर उनलाई न बढी कमाइ भयो भन्ने हर्स लाग्छ न कमाइ नभएकोमा कुनै चिन्ता नै । ६५ वर्षको उमेर कटिसकेपछि अब उनलाई कुनै लोभलालच छैन । छोराहरु हुर्किए, आफ्नो गरी खाँदैछन् । जीवनमा अब उनलाई एउटै कामना छ, घडी बनाउँदा बनाउँदै प्राण त्याग्न पाउँ । 
 

Logo