लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले राजीनामा दिइन्

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले राजीनामा दिइन्


लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको स्रोतले दावी गरेको छ । माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले आफूले पनि वलीले राजीनामा बुझाएको थाहा पाएर मुख्यमन्त्री कार्यालयमा बुझ्न गएको बताए ।

लुम्बिनी प्रदेशकी बहालवाला स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीले प्रेमी भनिएका एकराज बस्नेतको घरमै घुसेर श्रीमती मीना र ६ वर्षीया छोरीलाई हातपात गरेको विषयले दिनैभर चर्चा पाइरह्यो।

विमला यसअघि पनि विवादमा आइरहेकै व्यक्ति हुन्। यस पटक सरकारी झण्डावाल गाडीमा निजी सुरक्षा अधिकारी पीएसओ सहित सर्वसाधारणको घरमा घुसेर कुटपिट गर्नु अस्वाभाविक थियो।

घटनापछि मीनाका आफन्तले विमलालाई सोही घरमा थुनेर प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। इलाका प्रहरी कार्यालय बाहिर स्थानीय जम्मा भएर मन्त्रीलाई कारबाहीको माग गरेका थिए। खबर सार्वजनिक हुनासाथ जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्ले आफैं तुलसीपुर पुगेका थिए।

स्थिति थप तनावपूर्ण बन्दै गएपछि मध्याह्न १२ बजेतिर प्रहरीले कडा सुरक्षाबीच विमलालाई जिल्ला प्रहरी कार्यालय घोराही लगेको थियो। दाङ प्रहरीका अनुसार, उनी बेलुकी अबेरसम्मै त्यहाँ बसिन्। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको चर्को दबाबपछि मध्यराति विमलालाई पीएसओको जिम्मा लगाएर छाडिएको थियो।

के थियो घटना ?

विमला तुलसीपुर–५ बसपार्क, आलुमन्डीस्थित एकराजको घरमा बिहान पौने ९ बजे प्रवेश गरेकी थिइन्। मीनाका अनुसार, उनी लगातार गेटमा हान्दै खोल्न भनिरहेकी थिइन्। बाहिरै हल्लाखल्ला हुने गरी चिच्याइरहेकी विमलालाई मीनाले गेट खोलिदिइन्।

भित्र छिर्नासाथ उनी ‘मेरो एकराज खोइ’ भन्दै सोधखोज गर्न थालिन्। मीनाले ‘मेरो श्रीमान् घरमा हुनुहुन्न’ भन्दा विमलाले उल्टै ‘तेरो होइन, मेरो श्रीमान्’ भन्दै उनलाई कुटपिट गरिन्। यो देखेर छुट्याउन गएकी ६ वर्षकी छोरीलाई पनि उनले हातपात गरेको मीनाले जाहेरीमा उल्लेख गरेकी छन्। 

 

Logo