सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)ले मदन भण्डारी र जीवराज आश्रितको नियोजित हत्या भएको बताएका छन्।
मदन भण्डारीको जन्मजयन्तिको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले मदन भण्डारीको हत्यापछि २०५८ सालमा भयानक घटनाका रुपमा दरबार हत्याकाण्ड मच्चाइएको बताए । अहिले पनि त्यस्ता हत्याकाण्ड रोक्न सक्ने क्षमता विकास नभएको भन्दै प्रचण्डले भने, ’तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी ४५ वर्षकै उमेरमा मारिए, हामी मारिन सक्छौं ।’
अध्यक्ष प्रचण्डले भयानक डिजाइनअन्तर्गत मदन भण्डारीको हत्या गरिएको बताउंदै दाहालले भने, ‘हामी सरकारमा छौं, तर हत्यारा फलानो हो भनेर किटेर भन्ने प्रमाण प्रस्तुत गर्न सकेका छैनौं। चालकलाई जोगाउन सकिएको भए पनि केही प्रमाण त खुल्थ्यो कि !’
भण्डारीको सच्चा उत्तराधिकारीको रूपमा प्रधानमन्त्री केपी शर्मा ओली र आफू रहेको बताउदै प्रचण्डले आफू पहिलो पटक प्रधानमन्त्री भएपछि नारायणहिटीमा उभिएर दरबार हत्याकाण्डको यथार्थ पत्ता लगाइछाड्छौं भनेको तर, अहिलेसम्म नसकिएको स्वीकारे ।
प्रकाशित: १४ असार २०७६ १७:०२ शनिबार