प्रधानमन्त्रीले निजगढमा दुई वटा रनवे बनाउन गो अहेड भनिसक्नुभयो : दाहाल

प्रधानमन्त्रीले निजगढमा दुई वटा रनवे बनाउन गो अहेड भनिसक्नुभयो : दाहाल


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निजगढ विमानस्थलमा दुई वटा रनवे हुने गरी बनाउन स्विकृत गरेको बताएका छन्। 

शनिबार बारास्थित निजगढको अवलोकन गर्न पुगेका उनले सम्बोधनको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा दुईवटा रनवे बनाउने गरी गो अहेड भनेको बताए। प्रधानमन्त्री देउवा लगायत सत्ता गठबन्धनका शीर्ष नेताहरू विमानस्थल बन्ने क्षेत्रको अवलोकन गर्न पुगेका छन्। 
उनले त्यहाँ पुगेर प्रधानमन्त्री देउवाले भनेको कुरामा अरू नेताहरूले पनि समर्थन गरेको बताए।  ‘ दुईटा रनवे बनाउने गरी गो अहेड भनिसक्नुभएको छ। हामी सबैले समर्थन गरिसक्यौं,’ उनले भने। 
त्यस्तै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लागि अर्बौ लगानी भइसकेको पनि बताए। यो नबनेको अवस्थामा फास्ट ट्र्याकको पनि त्यति औचित्य नहुने प्रचण्डले बताए।

‘यदी निजगढ बनाउने प्रक्रिया समयमा बनेन भने हामीले अरबौं लगानी गरेको फास्ट ट्र्याकको त्यति औचित्य हुने छैन। त्यस दृष्टिले निजगढ एयरपोर्टलाई बुझ्न जरुरी छ,’ उनले भने, ‘फास्ट ट्र्याकको डिपिआर बनाउँदाखेरी नै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकतालाई मध्यनजर गरेर गरिएको हो।’ यो राष्ट्रिय गौरवको आयोजना भएको र गेमचेन्जर समेत भएको उनले बताए ।

‘यो राष्ट्रिय गौरवको एक खालको ड्रिम प्रोजेक्ट पनि हो। गेम्चेन्जर भनिन्छ, देशको अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउने यो प्रोजेक्ट पनि हो। त्यस अर्थमा पहिला पनि धेरै अध्ययन छलफल गरेर नै निजगढ नै सबैभन्दा उपयुक्त छ भनिएको हो,’ उनले भने, ‘निजगढ नै उपयुक्त छ भन्ने मान्यता राखेर नै अरबौं लगानी भइसक्यो, झन्डै तीन अरब त यहाँ लगानी भइपनि सकेको छ। त्यो परिस्थितिमा राज्यले यो पहलकदमी लिएको छ त्यसलाई दृढता पूर्वक अगाडि बढाउन जरूरी पनि छ।’  

Logo