सिसीटिभी फुटेज डिलिट गरेर अर्थमन्त्री जनार्दन शर्माले आर्थिक चलखेल गरे : प्रदिप ज्ञवाली

सिसीटिभी फुटेज डिलिट गरेर अर्थमन्त्री जनार्दन शर्माले आर्थिक चलखेल गरे : प्रदिप ज्ञवाली


बजेट निर्माणको बेलाको सिसीटिभी फुटेज डिलिट गरेर अर्थमन्त्री जनार्दन शर्माले ठूलै आर्थिक चलखेल गरेको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले आरोप लगाएका छन् । 

उपमहासचिव ज्ञवालीले बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश गराएको सरकारले त्यसको सिसीटिभी फुटेज डिलिट गराएर अर्को जघन्य अपराध गरेको उपमहासचिव ज्ञवालीको दावी छ । सोमबार संसद भवन परिसरमा पत्रकारहरुमाझ उनले सो घटनाको सिसीटिभी फुटेज डिलिट भएको भनेर अर्थ मन्त्रालयले त्यसमा गम्भिर घोटाला भएको आफैंले पुष्टि गरेको जिकीर समेत गरे ।  उपमहासचिव ज्ञवालीले सो घटना अक्षम्य अपराध भएको उल्लेख गर्दै त्यसमा संलग्न अर्थमन्त्री शर्मासहितलाई तत्काल छानवीन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने आफ्नो पार्टीको अडान रहेको पनि स्पष्ट पारे ।

उनले भने , ‘वास्तवमा यो दोहोरो अपराध हो । बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश र उनीहरुको उपस्थितिमा करका दरहरुको हेरफेर यो एउटा जघन्य अपराध त छँदैथियो । यो अपराधलाई लुकाउनका निमित्त त्यस सम्बन्धि प्रमाण नष्ट गर्नका लागि यदि साँच्चैनै सिसीटिभी फुटेज नष्ट गरिएको हो भने अर्को ठूलो अपराध हो । र, यो ढंगको अपराधमा संलग्नहरु अविलम्ब उनीहरुमाथि छानवीन भएर कारबाहीको दायरामा ल्याउनुपर्छ भन्ने हाम्रो प्रष्ट मान्यता छ । एउटा बदमासीलाई ढाकछोप गर्नका लागि अर्को बदमासी पनि गरिएको छ । जुन अक्षम्य हो भन्ने हाम्रो मान्यता छ ।’

उपमहासचिव ज्ञवालीले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर जघन्य अपराध गरेको सरकारले त्यसको प्रमाण नै नष्ट हुने गरी सिसीटिभी फुटेज पनि डिलिट गरेको बताए ।  

Logo