आवश्यकता अनुसार मन्त्रिमण्डल पुनर्गठन हुनेदेखि उपत्यकामा तरकारीको मूल्य ह्वातै बढ्योसम्म (भिडियोसहित)

आवश्यकता अनुसार मन्त्रिमण्डल पुनर्गठन हुनेदेखि उपत्यकामा तरकारीको मूल्य ह्वातै बढ्योसम्म (भिडियोसहित)


काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकताअनुसार मन्त्रिमण्डल पुनर्गठन गर्ने बताएका छन् । शनिबार साँझ एक निजी टेलिभिजनलाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठनबारे आफूले विचार गरिरहेको बताएका हुन् । त्यसको अधिकार प्रधानमन्त्रीमा हुने भएकाले सोहीअनुसार समीक्षा गरेर निष्कर्षमा पुग्ने उनको भनाइ छ ।

त्यस्तै भर्चुअल सोह्रश्राद्ध शास्त्रसम्मत नहुने विज्ञहरुले धारणा राखेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमका कारण भर्चुअल सोह्रश्राद्ध गर्नुपर्ने आवाज उठिरहेको बेला विज्ञहरुले भर्चुअल सोह्रश्राद्ध शास्त्रसम्मत नहुने धारणा राखेका हुन् ।

आर्थिक चहलपहलका हिसाबले देशकै मुटु मानिएको काठमाडौंको ठमेल क्षेत्रका व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण व्यापार, व्यवसाय ठप्प हुँदा ठमेल क्षेत्रका व्यवसायीहरु विस्तापित हुने अवस्थामा पुगेका हुन् । विदेशी पर्यटनमा निर्भर रहेको ठमेल क्षेत्र लकडाउन र निषेधाज्ञाका कारण पूर्ण रुपमा अस्तव्यस्त बनेको छ ।

त्यस्तैगरी नागरिक उड्डयन प्राधिकरणले अन्तरर्राष्ट्रिय उडानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पर्यटन मन्त्रालयले यही भदौ १६ गतेदेखि एक महिनाको अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेसँगै प्राधिकरणले सम्पूर्ण तयारी पूरा गरेको हो । एक महिनामा ६० वटा नियमित उडान र २७ वटा चार्टर्ड उडान हुनेछन् ।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञासँगै हरियो तरकारी तथा फलफूलको मुल्य ह्वातै बढेको छ । पछिल्लो एक महिनाको अवधिमा तरकारीको मूल्य दोब्बरभन्दा बढीले बढेको हो । सरकारी तथ्यांकअनुसार पछिल्लो एक महिनाकै अवधिमा तरकारीको मूल्य २ सय ७८ प्रतिशतसम्म बढेको देखिन्छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

Logo