पुष्पा भुसाललाई उपसभामुखको उम्मेदवार बनाउने गठबन्धनको तयारी

पुष्पा भुसाललाई उपसभामुखको उम्मेदवार बनाउने गठबन्धनको तयारी


पाँच दलीय सत्ता गठबन्धनले नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाललाई उपभासमुखको उम्मेदवार बनाउने तयारी गरेको छ ।

प्रतिनिधि सभाको उपसभामुख चयनका लागि पर्सी ३१ गते निर्वाचन हुँदैछ । संसद सचिवालयका अनुसार बिहीबार बिहान ११ देखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
उम्मेदवार चयन गर्ने विषयमा गठबन्धनका नेताहरुबीच छलफल भएको छ । छलफलका आधारमा भुसाललाई उम्मेदवार बनाउने गरी गृहकार्य अगाडि बढाइएको छ । तर, कांग्रेसमा उपसभामुखका लागि भुसाल बाहेक डिला संग्रौला लगायतले पनि दाबी प्रस्तुत गर्दै आएका छन ।
भुसालले भने उपसभामुखभन्दा मन्त्रीका लागि चाहना राख्दै आएकी थिइन् । नेताहरुका अनुसार मन्त्री नभए प्रमुख सचेतक पाउनुपर्ने भुसालको दाबी थियो । तर, उपसभामुख संवैधानिक परिषदको सदस्य समेत रहने भएकाले भुसाललाई नै उपसभामुख बनाउनुपर्ने भनी प्रधानमन्त्री शेरबहादुर देउवाले नै प्रस्ताव राखेको कांग्रेसका नेताहरु बताउँछन् ।
सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था छ । सभामुखमा माओवादी केन्द्रका तर्फबाट सांसद निर्वाचित अग्निप्रसाद सापकोटा छन् । संवैधानिक व्यवस्था अनुसार उपसभामुखमा माओवादी केन्द्रबाट निर्वाचित सांसद दाबेदार हुन पाउँदैनन् । सभामुखमा पुरुष भएकाले उपसभामुखमा महिला मात्रै उम्मेदवार हुन पाउँछन् ।
गठबन्धनमा रहेको जनता समाजवादी पार्टीलाई उपसभामुख दिने विषयमा छलफल भएको छैन । राष्ट्रिय जनमोर्चाले उपसभामुख नबन्ने सार्वजनिक रुपमै बतायो । नेमकिपा र राप्रपामा महिला सांसद नभएकाले ती दलबाट उपसभामुख चुनिन पाउने अवस्था छैन ।

यस हिसाबले जसपा, लोकतान्त्रिक समाजवादी, कांग्रेस र एमालेबाट उपसभामुखको उम्मेदवार हुन पाउँछन् ।

लोकतान्त्रिक समाजवादीलाई उपसभामुख दिएर सत्तागठबन्धनमा ल्याउने प्रयास गरिएको भए पनि लोसपासँगको थप सहकार्यको विषय प्रष्ट गर्न नसकिएकाले आफैँले उपसभामुख राख्न खोजेको स्वमं कांग्रेस नेताहरु बताउँछन् ।

स्पष्ट बहुमत भएकाले सत्ता गठबन्धनले जसलाई उम्मेदवार बनाउँछ उही सभामुख चुनिनेछन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभामा अहिले एमालेको ९८, कांग्रेस ६३, माओवादी केन्द्रको ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी २१, लोसपा १३ र अन्य साना दल र स्वतन्त्रसमेत गरी ४ जना सांसद छन ।

Logo