प्रश्नपत्र हुबहु निकाल्नेमाथि छानबिन भइरहेको छ, तत्काल कारबाही हुन्छ : शिक्षामन्त्री पौडेल

प्रश्नपत्र हुबहु निकाल्नेमाथि छानबिन भइरहेको छ, तत्काल कारबाही हुन्छ : शिक्षामन्त्री पौडेल


शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेलाई तत्काल कारबाही हुने बताएका छन् । आज बिहीवार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा मन्त्री पौडेलले प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेमाथि तत्काल कारबाही प्रक्रिया अघि बढेको बताउँदै कानुनअनुसार कारबाही हुने बताए ।  

देशको झन्डै ८० प्रतिशत व्ययभार बोकेको त्रिभुवन विश्वविद्यालयले आफ्नो गल्तीलाई सच्चाउँदै आउँदा दिनमा यस्तो काम गर्न नदिनेमा आफू सजग भएको उनले बताए । प्रश्नपत्र हुबहु निकाल्नेमाथि छानबिन भइरहेको बताउँदै उनीहरूमाथि कडा कारबाही हुने मन्त्री पौडेलले विश्वास व्यक्त गरे । 

अर्थशास्त्र विभागले जेठ १८ गते सञ्चालन गरेको स्नातकोत्तर तह तेस्रो सेमेस्टरको पब्लिक इकोनोमिक्स र मानविकी तथा सामाजिक विज्ञान सङ्काय अन्तर्गत डिन कार्यालयले २३ जेठमा सञ्चालन गरेको स्नातकोत्तर तह राजनीतिशास्त्रको पहिलो सेमेस्टरको इन्टरनेशनल पोलिटिक्सु विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो । 

हुबहु प्रश्नपत्र बाहिर आएपछि त्रिविको कार्यकारी परिषद्को बैठकले व्यवस्थापन सङ्काय अन्तर्गतको परीक्षा रद्द गरी साउन १ गतेदेखि परीक्षा सञ्चालन गर्ने र प्रश्नपत्र बनाउनेलाई तीन वर्षसम्म डिन कार्यालयका परीक्षासँग सम्बन्धित कुनै पनि कार्यमा संलग्न नगराउने निर्णय गरेको छ ।  त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाले स्नातक र स्नातकोत्तर तहका चार वटा प्रश्नपत्र बाहिरिएको र हुबहु दोहोरिएको बताए ।  

Logo