पछिल्लो १९ दिनमा २२ अवैध लागुऔषध कारोबारी पक्राउ

पछिल्लो १९ दिनमा २२ अवैध लागुऔषध कारोबारी पक्राउ


नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरो, कोटेश्वरले प्रतिवन्धित लागुऔषधसहित २२ जनालाई पक्राउ गरेको छ । बुधवार ब्यूरोले पत्रकार सम्मेलन गरी गत असार ३२ देखि साउन १८ अर्थात बुधबारसम्म २२ लागु औषध कारोबारीहरुलाई पक्राउ गरेको जनाएको हो ।

पक्राउ पर्नेमा ४ महिला र १८ जना पुरुष रहेका छन् । कुल पक्राउ परेका २२ जनाबाट अवैध लागुऔषध खैरो हेराइन ४५९ ग्राम, लागु औषध डायलेक्श डिसी ११८० बोतल (१०० एमएल), लागुऔषध नाइट्रभेट ट्याब्लेट १२६० थान, प्रोक्सीभन क्याप्सुल १५० थान फेला परेको हो । यी सबै लागुऔषधको कुल अवैध बजारमूल्य ५८ लाख १० हजार ८ सय रहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले विशेष निगरानी र विशेष सूचनाको आधारमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अवैधरुपमा लागुऔषध खैरो हिरोइन, त्यस्तै नियन्त्रित लागुऔषध डायलेक्श डिसी, नाइट्राभेट ट्याब्लेट र खैरो हिरोइन कारोवार गर्ने व्यक्तिहरुलाई पक्राउ गरेको बताए ।

उनले अहिले कारोबारीमाथि काठमाडौं जिल्ला अदालतबाट म्याद थप भएर लागुऔषध ऐन २०३३ अनुसार कानूनी कारबाही भइरहेको बताए । उनका अनुसार बुधबार मात्र पनि प्रहरी टोलीले सर्लाहीबाट २ जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । 
 

Logo