कृषि औजार कारखाना सञ्चालनबारे अध्ययन गर्न महावीर पुनलाई अर्थमन्त्रीको प्रस्ताव

कृषि औजार कारखाना सञ्चालनबारे अध्ययन गर्न महावीर पुनलाई अर्थमन्त्रीको प्रस्ताव


अर्थमन्त्री जनार्दन शर्माले वीरगञ्जस्थित कृषि औजार कारखानाको अध्ययन गर्न महावीर पुनसमक्ष प्रस्ताव गरेका छन् । पुनसँग आइतबार अर्थ मन्त्रालयमा छलफल गर्दै अर्थमन्त्री शर्माले यस्तो प्रस्ताव गरेका हुन् ।

सरकारले कृषि औजार कारखाना सञ्चालनमा ल्याउने निर्णय गरेको जानकारी गराउँदै अर्थमन्त्री शर्माले कारखानाको अहिलेको अवस्था अध्ययन गर्न प्रस्ताव गरेका हुन् । उनले कारखानालाई औजार उतपादन मात्र नभई आविष्कार केन्द्रका रुपमा समेत विकास गर्ने लक्ष्य रहेको बताएका छन् ।
भेटमा उक्त कारखानाबाट नेपालको कृषि क्षेत्रलाई आवश्यक पर्ने औजार उपकरणको उत्पादन, मर्मत सम्भार र नयाँ औजारको आविष्कार समेत गर्न सकिने बताएका छन् । कारखानालाई पुनर्जीवन दिएर उक्त स्थानमा कृषि औजार आविष्कार केन्द्र बनाउने अर्थमन्त्रीको योजनामा आफ्नो समर्थन रहने उनले जानकारी गराए ।

अर्थमन्त्री शर्माले राष्ट्रिय आविष्कार केन्द्रको सुझाव अनुसार सरकारले छिट्टै यो कारखानालाई पुनर्जीवन दिने बताए । २०२१ सालमा स्थापना भएको कृषि कारखाना २०५९ सालबाट पूर्ण रुपमा बन्द भएको हो । वीरगञ्जमा ९ बिघा क्षेत्रफलमा कारखाना रहेको छ ।

Logo