‘प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सदर भयो भने देश ठूलो राजनैतिक भूमरिमा फस्छ’ : प्रचण्ड

‘प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सदर भयो भने देश ठूलो राजनैतिक भूमरिमा फस्छ’ : प्रचण्ड


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समुहका अध्यक्ष पुष्पमकल दाहालले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सदर भएको खण्डमा नेपाल ठूलो राजनैतिक भूमरिमा फस्ने बताएका छन् ।  

नेपालबाट अन्तर्राष्ट्रिय संञ्चार माध्यमका लागि काम गर्दै आएका पत्रकारहरुसँग मंगलबार काठमाडौंमा भएको भेटमा अध्यक्ष दाहालले बाहिर सुन्नमा आए जस्तै सेटिङ अनुसार नै निर्वाचन आयोग र सर्वोच्च अदालतको निर्णय आयो भने मुलुक ठूलो राजनैतिक भूमरिमा फस्ने चेतावनी दिए।  

यद्यपी आफूहरु संविधानको अक्षर र भावना अनुसार नै न्यायलयबाट निर्णय आउने विश्वस्त रहेको उनले स्पष्ट पारे । प्रधानमन्त्री ओलीले संविधान भन्दा बाहिर गएर गरेको निर्णयलाई सर्वोच्चले सदर गर्छ जस्तो नलागेको उल्लेख गर्दै उनले त्यसो भयो भने आफूहरुले गम्भीररुपमा विचार गर्नुपर्ने अवस्था श्रृजना हुने बताए। उनले असंबैधानिक र अलोकतान्त्रिक कदम अनुसारको निर्वाचन पनि अलोकतान्त्रिक र असंबैधानिक नै हुने तर्क गरे ।

उनले भने , “अलोकतान्त्रिक, निरंकुश र स्वच्छेचारी कदमलाई सदर गरियो भने देश निकै ठूलो राजनीतिक भूमरिमा नेपाल पर्छ । संवैधानिक र अलोकतान्त्रिक ढंगले संविधान मिचिईसकेपछि त्यसको मातहतमा आयोजना हुने निर्वाचन पनि असंबैधानिक र अबैधानिक नै हुन्छ । यदि प्रधानमन्त्रीले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई जे भन्यो त्यही मान्ने मान्छे ठान्नुभएको छ भने निकै ठूलो भ्रम हो भन्ने हाम्रो भनाइ छ । यदि सेटिङ नै भए जसरी निर्णय भयो भने हामी गम्भीर ढंगले सोच्छौं । त्यो निर्वाचनलाई हामी सहज ढंगले लिन सक्ने स्थिति हुँदैन । नैतिक रुपले अनि राजनैतिक रुपमा निकै ठूलो प्रश्न खडा हुन्छ । हामी निर्वाचन विरोधी होइनौं र हुन सक्दैनौ तर असंवैधानिक र अलोकतान्त्रिक तरिकाले जबरजस्ती भनियो भने त्यो अबैधानिक, असंबैधानिक र अलोकतान्त्रिक निर्वाचनका बारेमा हामीले गम्भीररुपमा विचार गर्नुपर्ने नै हुन्छ । ”

अध्यक्ष दाहालले प्रधानमन्त्री ओली आफैंले प्रतिगमन गरेर आफैं प्रतिगमनका विरुद्ध सभा आयोजना गर्नु आश्चरयजनक रहेको टिप्पणी गरे । उनले सरकारको संविधान विरोधी कदम विरुद्ध आफूहरु संघर्षमा लाग्नु स्वभाविक भएपनि सरकारपक्षले नै सभा गरेर तेश्रो जनआन्दोलन सुरु भयो भन्नु लोकतन्त्र विरुद्धको उपहास भएको बताए । उनले प्रधानमन्त्री ओलीले राज्यशक्तिको दुरुपयोग र प्रतिष्पर्धामा उत्रिएको दाबी गरे ।

प्रधानमन्त्रीले निरंकुश ढंगले आफ्नो शासन अवधि लम्ब्याउन खोजेको र त्यो पूरा नहुने ठोकुवा गरे । उनले मुलुकमा लोकतन्त्र खतरामा परेकाले सबै लोकतन्त्रवादी अन्तर्राष्ट्रिय समुहदायसँग समर्थनका लागि अपिल पनि गरिएको जानकारी दिए। उनले आवश्यकता अनुसार सामुहिक भेटघाटको पनि आयोजना गर्न सकिने संकेत गरे ।

Logo