महाशिवरात्री २०७९ को विशेष तयारी [भिडियोसहित]

महाशिवरात्री २०७९ को विशेष तयारी [भिडियोसहित]


हिन्दूहरूमा भगवान् श्री पशुपतिनाथप्रति ठूलो आस्था छ ।

श्री पशुपतिनाथको स्तुति, पूजा, आराधना, मन्त्रको जप र यिनको महात्म्यबारे वेद, पुराण, धार्मिक साहित्यिक र तान्त्रिक ग्रन्थहरूमा विस्तृत रूपमा पाइन्छ । हिन्दू समाजमा परापूर्वकालदेखि नै शिवजीको पूजाआजा, उपासना गर्ने चलन रहिआएको छ । नेपालका साथै भारतलगायत विश्वका हिन्दूहरूको बाहुल्यभएका क्षेत्रहरूका शिवमन्दिर, शिवालय, शिवलिंगेश्वर, ज्योतिर्लिंगेश्वर आदि स्थानहरूमा यस पर्वमा असंख्य भक्तजनहरूको भिड लाग्ने गर्दछ । फागुन कृष्ण चतुर्दशीमा महाशिवरात्री पर्व काठमाडौंस्थित पशुपतिनाथको मन्दिरमा ठूलो महत्वका साथ सम्पन्न गरिन्छ ।

भारतलगायत विश्वका विभिन्न राष्ट्रहरूबाट साधु–सन्त, महन्थ, भक्तजनहरू शिवरात्रि पर्वमा पशुपतिनाथको पूजा–आराधना र दर्शनार्थ प्रत्येक वर्ष पशुपति क्षेत्रमा भेलाहुने गर्दछन् । महाशिवरात्रिका दिन पशुपतिनाथको शोडषोपचारले विधिपूर्वक पूजा–आराधना गरिन्छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने पर्व यस वर्ष फागुन ६ गते शनिबारका दिन परेको छ । शिवरात्री नजिकिँदै गर्दा पशुपतिनाथमा व्यवस्थापनको तयारी अगाडि बढाइएको छ । मंगलबार पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचारप्रसार तथा स्वयंसेवा परिचालन व्यवस्था उपसमितिले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । कस्तो छ त यसपालिको तयारी ?

१. ३० लाख भक्तजन आउने अनुमान

यस वर्षको महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा २० लाख जनाले दर्शन गर्ने र पशुपति क्षेत्रमा ३० लाख भक्तजन आउने अनुमान गरिएको छ । गतवर्ष १४ लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गरेका थिए । पशुपति क्षेत्रमा पुग्ने भक्तजनको संख्या भने गत वर्ष २० लाख थियो । यस वर्ष गत वर्ष जस्तो कोरोना महामारी र डेङ्गुको त्रास नभएकाले पनि भक्तजन बढी आउने अनुमान गरिएको हो ।

२. ८० लाख बजेट विनियोजन

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्व व्यवस्थापनका लागि ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । महाशिवरात्रिका लागि कोषको निमन्त्रणामा जगन्नाथपुरीस्थित गोवर्द्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वती काठमाडौँ आएका छन् । फागुन ५, ६ र ७ गते तीन दिन उनले पशुपति क्षेत्रमा विशेष प्रवचन गर्ने कार्यक्रम रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

३. साधुसन्तको चहलपहल बढ्दै

महाशिवरात्री नजिकिदै गर्दा साधु सन्तहरु पशुपतिनाथको मेला भर्न काठमाडौ भित्रिने क्रम सुरु भएको छ । महाशिवरात्री शुरु हुनभन्दा अघि भारत र नेपालबाट हजारौंको संख्यामा साधुहरु पशुपति आउने गरेका छन् । महाशिवरात्रिमा कम्तीमा पाँच हजार साधुसन्त भारतलगायत विभिन्न देशबाट आउने अनुमान गरिएको छ । साधुसन्तलाई महाशिवरात्रिको पर्वको प्रमुख आकर्षक मध्येमा लिने गरिएको छ ।

४. मूल समारोह समिति,आठ वटा उपसमिति  र चार हजार स्वयंसेवक परिचालन

महाशिवरात्रि पर्वको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा दुई सय एक सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । मूल समारोह समितिअन्तर्गत आठ वटा उपसमिति पनि बनाइएको छ । मूल समारोह समिति र यसअन्तर्गत गठन भएका उपसमितिले महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा पु–याएका हुन् । महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने भक्तजनलाई लाममा व्यवस्थापन गराउनचार हजार स्वयंसेवक खटाइने कोषले जनाएको छ । पर्वका दिन पशुपतिनाथ मन्दिरअघि संस्कृति महाशाखा रहेको भवनको डबली क्षेत्रमा मूल स्वास्थ्य शिविर आयोजना गरिएको छ । पशुपति क्षेत्र नजिक रहेका सबै अस्पतालमा महाशिवरात्रिका अवसरमा आवश्यकताअनुसार शय्याका लागि पनि व्यवस्था गरिएको कोषले जनाएको छ ।

५. ‘स्वच्छ पशुपति, सफा पशुपति’ अभियान

महाशिवरात्रि पर्वकै अवसर पारेर कोषले माघ २९ गतेदेखि नै ‘स्वच्छ पशुपति, सफा पशुपति’ अभियान सुरु गरिसकेको छ । जसअन्तर्गत प्रत्येक दिन सफाइ भइरहेको छ । पहिलो चरणमा एक महिनासम्म यो अभियान चल्ने जनाइएको छ ।

६. पाँच ठाउँमा जुत्ता चप्पलको व्यवस्थापन गरिने

भुवनेश्वरीमा स्थायीरुपमा जुत्ता चप्पलको व्यवस्था भक्तजनका लागि पहिलेदेखि नै हुँदै आएको छ । यस अतिरिक्त महाशिवरात्रिका दर्शनार्थीका लागि लाइनलाई पायक पर्ने गरी दक्षिणामूर्ति रुद्रगाडेश्वर दर्शनमार्ग, भुवनेश्वरी नजिक ९शङ्कराचार्य मठ पछाडि०, बज्रघर दक्षिणतर्फ र वाग्मतीपारि राम मन्दिर नजिक गरी पाँच ठाउँमा जुत्ता चप्पल व्यवस्थापन गर्न लागिएको हो ।दर्शनार्थी मन्दिर प्राङ्गणबाट बाहिर निस्कने स्थान नजिकै मुख्य क्षेत्रभित्र, जयबागेश्वरी, बज्रघर अगाडि दक्षिण ढोका, तिलगङ्गामा समेत नेपाल वेद विद्याश्रमका बटुकद्वारा चन्दन वितरणको व्यवस्था मिलाइने भएको छ ।

७. बाहिरी क्षेत्रबाट तीन दर्शन मार्ग

गुह्येश्वरी–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट, मित्रपार्क–जयवागेश्वरी–इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका पश्चिम ढोकाबाट, बत्तीसपुतली–गौशाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–तिलगङ्गा भएर पिङ्गलस्थान–सुमार्गी भवन अगाडिबाट चार शिवालय–पञ्चदेवलबाट एक एक गरी बाहिरी स्थानबाट तीन वटा दर्शन मार्गको व्यवस्था गरिएको छ । तिलङ्गा–राममन्दिरतर्फ समेत आवश्यकताअनुसार लामको व्यवस्था गर्न सकिने गरी कोषले तयारी गरेको छ । महाशिवरात्रिका दिन बिहान ७ बजेअघि नै नित्य दर्शनार्थीले दर्शन गरिसक्ने गरी व्यवस्था मिलाइएको छ । महाशिवरात्रिका लागि आवश्यकताअनुसार ट्राफिक व्यवस्थापन, साधुसन्तको सेवा एवं धार्मिक कार्यक्रमको पनि आयोजना गरिएको कोषले जनाएको छ । साजसजावट तथा मेला बजारको पनि व्यवस्था गरिने छ ।

Skip This
Logo