एआइजीको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली अमेरिका प्रस्थान

एआइजीको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली अमेरिका प्रस्थान


नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) किरण बज्राचार्यको नेतृत्वमा प्रहरीको पाँच सदस्यीय टोली सोमबार अमेरिका प्रस्थान गरेको छ।

संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसी र न्युयोर्कमा यही वैशाख २७ देखि २९ गतेसम्म हुन लागेको नेतृत्व विकाससम्बन्धी कार्यक्रममा भाग लिन आज साँझ एआइजी बज्राचार्यको नेतृत्वमा पाँच सदस्यीय टोली अमेरिका प्रस्थान गरेको हो ।

अमेरिका प्रस्थान गर्नेमा एआइजी बज्राचार्यसँगै एआइजी सुदीप गिरी, प्रहरी नायब महानिरीक्षक(डिआइजी) रामदत्त जोशी, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रबहादुर धामी र प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्का रहेका छन् ।

अमेरिकामा हुने उक्त कार्यक्रममा भविष्यमा हुने सुरक्षा चुनौती र आतङ्कवाद, डिजिटल अपराध, क्रिप्टोकरेन्सी कारोबार, वित्तीय अपराध अनुसन्धान तथा नियन्त्रणका बारेमा ज्ञान आदानप्रदान हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार्यक्रमबाट नेपाल र अमेरिकाका सुरक्षा निकायहरूबीचको सम्बन्ध सुमधुर हुने अपेक्षासमेत लिइएको छ ।

Logo