पोखरामा ड्रागन बोट रेस महोत्सव सुरु

पोखरामा ड्रागन बोट रेस महोत्सव सुरु


पोखरामा नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस महोत्सव सुरु भएको छ ।

शुक्रवार नेपालस्थित चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना सुरु भएको महोत्सवको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उद्घाटन गरेका हुन् । नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा सुरु भएको बोट रेस फेवातालमा दुईदिन सम्म चल्ने छ । 

त्यसैगरी ताल किनारको क्याम्पिङ चोकमा महोत्सवको आयोजना गरिएको छ । महोत्सवमा नेपाली र चिनियाँ खाना प्रदर्शनी र चिनियाँ सांस्कृतिक कार्यक्रम आकर्षण रहेको आयोजकले जनाएको छ । नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बोट रेस तथा महोत्सवको आयोजना गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

‘ड्रागन बोट रेस’मा ड्रागनजस्तै देखिनेगरी बनाइएको डुङगा अगाडि बसेर एक जनाले ड्रम बजाउँछन् । सोही ड्रमको तालमा १० जनाले डुङ्गा खियाउँछन् र पुछारमा बस्ने एक जनाले डुङ्गाको दिशा मिलाउँछन् । निर्धारित दूरी सबैभन्दा अघि पार गर्ने टोली विजेता बन्छ ।

बोट रेसमा चिनियाँ चार र नेपाली चार गरी आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालबाट नेपाल -याफ्टिङ एण्ड क्यानोइङ एसोसिएसन (एनआरसीए), चाइना नेपाल फ्रेण्डसिप, फेवा ढुङ्गा व्यवसायी सङ्गठन, र पोखरा महानगरपालिकाको टिम रहेको छ । प्रतियोगितामा विजेता हुने दुवै विधाका टोलीलाई जनही रु पाँच लाख ५० हजारका दरले पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय हुने टोलीका लागि रु ३० लाख पुरस्कारको व्यवस्था छ ।

बोट रेस चीन बाहिर दक्षिण एशियामै पहिलोपटक हुन लागेको र कार्यक्रमबाट पर्यटकीय सहर पोखरामा र समग्र देशमा चिनियाँ पर्यटक आगमन वृद्धि हुने विश्वास लिइएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । 

Logo