नयाँ खोज तथा नवप्रवर्तनलाई सरकारले ५ लाख रुपैंयाँ सहयोग गर्ने

नयाँ खोज तथा नवप्रवर्तनलाई सरकारले ५ लाख रुपैंयाँ सहयोग गर्ने


काठमाडौं ।

सरकारले नवप्रवर्तन शुरुवाती पूँजी अनुदान कार्यविधि, ०७६ जारी गरी व्यक्तिको सीप क्षमता र योग्यताको कदर गर्ने भएको छ । स्वअध्ययन वा अनुसन्धानबाट सार्वजनिक हितका लागि कुनै वस्तु वा सेवाको आविष्कार गर्ने, व्यक्ति वा संस्था, नवीन ज्ञानको प्रयोग गरी वस्तु तथा सेवा उत्पादन गर्ने लघु, घरेलु साना तथा मझौला उद्योग, फार्म वा कम्पनीले प्रस्ताव हाल्न सक्ने व्यवस्था गरिएको छ ।

अनुदान लिनका लागि ‘स्टार्टअप’ लाई प्रस्ताव आह्वान गरिएको अर्थ मन्त्रालयले जनाएको छ । राष्ट्रिय योजना आयोगले गत वैशाख २९ गते एक सार्वजनिक सूचनामार्फत प्रस्ताव आह्वान गरेको छ । आयोगले नवीनतम ज्ञान, सीप र क्षमता भएका आविष्कारकर्ता, उद्यमी, व्यवसायी शक्ति वा संस्थालाई त्यस्तो उद्यम वा व्यवसाय सञ्चालनका लागि शुरुवाती पूँजीको रूपमा अनुदान उपलब्ध गराउने भएको हो । आयोगका अनुसार ३० दिनभित्र प्राप्त भएका त्यस्ता प्रस्तावलाई अध्ययन गरी सहयोग रकम उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

प्रविधिको माध्यमबाट कम समय, कम लागत तथा कम स्रोतको प्रयोग गरी उच्च गुणस्तरको आविष्कार तथा प्रणालीको विकास गर्ने वा स्वउद्यम गर्ने कार्यलाई कार्यविधिले समेटेको छ ।

समितिले सूचना प्रविधि, कृषि, ऊर्जा, स्वास्थ्य सेवा, पर्यटन, प्रविधिको विकास, रोजगारी सिर्जना गर्ने जस्ता नवप्रवर्तनीय ज्ञान, सीप र क्षमता भएका आविष्कारकर्ता, नवप्रवर्तनीय ज्ञान र सीप भएका र व्यवसाय गर्न आवश्यक लगानीयोग्य पूँजी जुटाउन नसकेका लघु, घरेलु साना तथा मझौला, उद्यमी वा व्यवसायीलाई त्यस्तो अनुदान प्रदान गर्न प्रस्ताव आह्वान गर्नेछ ।

अनुदान लिन चाहनेले आफूले गर्न खोजेको खोजले अर्थतन्त्रमा पार्न सक्ने सकारात्मक प्रभाव लगायतका विषय समावेश गर्नु पर्नेछ । सरकारले छनोट भएका प्रस्तावलाई कूल लागतको बढीमा ५० प्रतिशतभन्दा नबढ्ने गरी अधिकतम पाँच लाख रुपैंयाँ उपलब्ध गराउनेछ ।

Logo