प्रदेश नं ५ : सङ्क्रमितको संसर्ग र सम्पर्कमा आएकाको खोजी गरी परीक्षण गर्न आग्रह

प्रदेश नं ५ : सङ्क्रमितको संसर्ग र सम्पर्कमा आएकाको खोजी गरी परीक्षण गर्न आग्रह


बाँके ।

प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले कोरोना सङ्क्रमित देखिँदैमा त्रसित नभई संयमित हुन आग्रह गरेका छन् ।

बाँकेमा १६ जना कोरोना सङ्क्रमित भेटिएपछि अवस्था बुझ्न नेपालगञ्ज आएका मन्त्री बरालले जिल्ला प्रशासन कार्यालय बाँकेमा आयोजित जिल्ला सुरक्षा समन्वय बैठकमा धैर्यका साथ सबैले आआफ्नो भूमिका निर्वाह गर्न आग्रह गरे ।

मन्त्री बरालले सङ्क्रमितको संसर्ग भएका र सम्पर्कमा आएका सबै व्यक्तिको खोजी गरी परीक्षण गर्न आग्रह गर्दै भने, ‘सङ्क्रमित फेला पर्दैमा आत्तिनु पर्ने अवस्था छैन, सङ्क्रमितको सम्पर्कमा रहेका सबैको परीक्षण गर्नुस्, त्यसका लागि आवश्यक सामग्री अभाव हुँदैन ।’

सम्भावित जोखिमलाई ध्यानमा राखी प्रदेश सरकारले बाँकेको खजुरामा स्थापना गरेको कोरोना विशेष आइसोलेशन अस्पतालमा सङ्क्रमितलाई उपचारको व्यवस्था गरी जोखिम बढ्न नदिन आवश्यक सम्पूर्ण तयारी गरिएको उनको भनाइ छ ।

मन्त्री बरालले कोरोना रोकथाममा खटिएका स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि प्रदेशका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई आवश्यक सामग्री र उपकरणसहितको सेवा सुविधा प्रदान गरिएको जिकिर गरे।

जिल्ला स्वास्थ्य कार्यालय र भेरी अस्पताल नेपालगञ्जका स्वास्थ्यकर्मीसँग छलफल गर्दै मन्त्री बरालले विपद्का बेला स्वास्थ्यकर्मीले उच्च मनोबलका साथ आफ्नो योगदान गर्नुपर्ने बताए । बाँकेमा कोरोना सङ्क्रमणको अवस्थाबारे प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र भेरी अस्पतालका प्रमुख डा प्रकाश थापाले जानकारी गराएका थिए। नेपालगञ्जमा भेटिएका १६ कोरोना सङ्क्रमितलाई प्रदेश सरकारले स्थापना गरेको आइसोलेशन अस्पतालमा राखेर उपचार शुरु गरिएको छ ।रासस

Skip This
Logo