तरुण दलद्वारा कालोबजारी र कृत्रिम अभाव रोक्न माग

तरुण दलद्वारा कालोबजारी र कृत्रिम अभाव रोक्न माग


काठमाडौं ।

नेपाल तरुण दलले कारोना भाइरसको सम्भावित सङ्क्रमणलाई लिएर बजारमा दैनिक उपभोग्य बस्तु, खाद्यान्न, ग्यास, माक्स, औषधिलगायत अत्यावश्यक साम्रगीको अभाव र कालोबजारी देखिन थालेको जनाउँदै नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

अध्यक्ष जितजङ्ग बस्नेतले एक विज्ञप्तिमार्फत कालोबजारी र कृत्रिम अभावको निगरानी गर्न तरुण दल केन्द्रिय समिति र सम्पूर्ण सदस्यलाई निर्देशन समेत दिएका छन् । छिमेकी मुलुक चीनबाट शुरु भएर विश्वका विभिन्न मुलुकमा माहामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गरी सजग रहन तरुण दलले सबैमा आह्वान गरेको छ ।

एक अर्कासँग भेट हुँदा, हार्दिकता साटासाट गर्दा हात नमिलाउन र नमस्कार भनेर सम्बोधन गर्न आग्रह गर्दै उनले विद्यालय विश्वविद्यालय जस्ता समूहमा बसेर अध्ययन अध्यापन हुने ठाउँमा विशेष सावधानी अपनाउन अनुरोध गरेका हुन् । एक अर्कामा रङ्ग लगाई सद्भाव साटासाट गर्दै मनाइनाले होली पर्वमा विगतका वर्ष जस्तो ठूला भिडभाड हुने र साङ्गितिक कार्यक्रम यो वर्ष आयोजना नगर्न नगराउन विभिन्न तहका तरुण दलका समितिलाई विज्ञप्तिमार्फत अनुरोध गरिएको छ ।

अध्यक्ष बस्नेतले कोरोना भाइरसबारे आम मानिसमा देखिएको त्रासलाई न्यूनीकरण गर्न, सम्बन्धित निकायबाट जारी गरेका आधिकारिक धारणा जानकारी गराएर समाजमा सचेतना फैलाउनेमा कार्यमा लाग्न सम्पूर्ण तरुणमा आग्रह गरे।रासस

Logo