प्रधानमन्त्रीको ‘बर्थ डे’मा हेलिकप्टर र खाना खर्च मात्र ८२ लाख

प्रधानमन्त्रीको ‘बर्थ डे’मा हेलिकप्टर र खाना खर्च मात्र ८२ लाख


काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष केपी शर्मा ओलीको   जन्माेत्सव मनाउँदा हेलीकप्टर तथा खाना खर्चमा मात्र अनुमानित ८२ लाख खर्च गरिएको छ । प्रम ओलीको जन्मदिनको अवसरमा काठमाडौंदेखि तेह्रथुमसम्म ४ वटा हेली चार्टर र १० हजारलाई खाना खुवाउँदा लागेकाे अनुमानित  खर्च हो, याे।

तेहथुमको आठराईस्थित जन्मघरमा गई प्रधानमन्त्री ओलीले ६९ औँ जन्मदिन मनाएका थिए । उनको जन्मदिन मनाउनकै लागि चार वटा हेलीकप्टर चार्टर गरिएको थियो भने कैयन सरकारी गाडीको प्रयोग गरिएको थियो । त्यस्तै आठराई गाउँपालिमा स्थानीय विदा समेत दिएको थियो । त्यस्तै कर्मचारी तथा विद्यार्थीलाई अनिवार्य उपस्थितिका लागि ह्वीप नै जारी गरिएको थियो ।

प्रधानमन्त्री ओली जन्मदिन मनाउन परिवारका सदस्य, संघीय सरकारका तीन मन्त्री, दुई प्रदेश प्रमुख, प्रदेश १ का मुख्यमन्त्री र केही मन्त्रिहरुका साथमा हेलीकप्टर मार्फत आठराई गाउँपालिका पुगेका थिए ।

प्रधानमन्त्री ओली तथा धर्मपत्नी राधिका शाक्य नेपाली सेनाको एमआई–१७ हेलीकप्टरमा सवार  थिए भने उनको केक अल्टिच्युट एयर मार्फत लगिएको थियो ।

गाउँपालिका अध्यक्ष मानबहादुर लिम्वु प्रधानमन्त्री ओलीको जन्मदिनका लागि गाउँपालिकाले कुनै खर्च नगरेको बताउँछन् । ‘उहाँको जन्मदिनका लागि गाउँपालिकाले खर्च गरेको छैन्’– उनले भने– ‘वृद्धवृद्धा तथा विद्यार्थीलाई उहाँहरुले वितरण गर्ने सामाग्री लिन सहज बनाउन यातायातको व्यवस्था भने गरेका हौ ।’

त्यस्तै उनले आफैले बनाएकाे आचारसंहिताकाे उल्लघ‌ंन समेत गरेका छन् । गत माघ ५ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ११ बुंदे आचारसंहिता जारी गरेको थियो । आचारसंहितामा सबैसँग नम्र बोल्नेदेखि विवाह जन्मदिन जस्ता परम्परालाई सामान्य रुपमा मनाउँनुपर्ने उल्लेख छ । आचारसंहितको बुँदा नम्बर २ मा जन्मदिन, ब्रतबन्ध, पास्नीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सिमित गर्नुपर्नेमा जोड दिइएको छ । त्यस्तै संहिताको बुँदा नम्वर ९ मा प्रत्येक सदस्यले आफ्नो दैनिकीमा सादा जीवन र उच्च विचारलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरिएको छ । प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिनमा चार–चार वटा हेलीकप्टरको प्रयोग गर्नुले पार्टीको आचारसंहिताको नै खिल्ली उडाएको छ ।

प्रधानमन्त्री सवार हेलीकप्टर अवतरण गर्न उनकै पूर्ख्याैली घर नजिक हेलिप्याडको निर्माण गरिएको थियो । हेलिप्याड निर्माणमा लाग्ने सम्पूर्ण खर्च केन्द्र सरकारको यातायात मन्त्रालयले गरेको गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बुको भनाइ छ ।

गाउँपालिका अध्यक्ष लिम्बुका अनुसार प्रधानमन्त्रीको जन्मदिनका लागि १० हजार जना सहभागी थिए । जसमा तेह्रथुम तथा छिमेकी जिल्ला झापा र मोरङसम्मका केही प्रतिनिधि रहेका थिए । उनीहरुका लागि खानाकोे व्यवस्था गर्न झापाबाट क्याटरिङ बोलाइएको थियो । नेकपाको आचारसंहितालाई मान्ने हो भने जन्मदिनलाई पारिवारिक सदस्यमा सिमित बनाई सामान्य रुपले मनाउनुपर्ने हुन्छ । तर, १० हजार जनालाई खाना खुवाउँदा सामान्य अनुमानित लागत १ सय प्रतिव्यक्ति लगाउँदा पनि १० लाख हुन आउँछ । त्यस्तै एउटा हेलिकप्टर चार्टर गर्दा सामान्य नेपालीका लागि घण्टाको १ लाख ५० हजार लागत पर्न आउँछ । उनले प्रयोग गरेका चार हेलीकप्टरको दिनभरको लागत मोटामोटी हिसाव गर्दा पनि ७२ लाख हुन आउँछ ।

नेतृत्वको बागडोर सम्हाल्ने नेताबाटै पार्टीको आचारसंहितालाई कुल्चिदा त्यसको कार्यान्वयन कसरी हुन्छ र भ्रष्टाचारप्रति शून्य सहनशिलता भन्ने केपी ओली नेतृत्वको सरकारको नारा कसरी पूरा हुन्छ ? प्रधानमन्त्रीले सामाजिक कार्य गरेर राम्रो सन्देश दिन खोजे पनि विद्यार्थीलाई बाड्ने शैक्षिक सामाग्री तथा वृद्धवृद्धालाई दिइएको न्यानो कपडाको लागतभन्दा यातायात र खानापानमा बढी खर्च भएको छ ।

Logo