प्रदेश नं ३ : प्रदेशसभाको बैठक अन्त्य

प्रदेश नं ३ : प्रदेशसभाको बैठक अन्त्य


काठमाडौं,

प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिमको चालू चौथो अधिवेशन अन्त्य गर्नुभएको छ । बुधबार बसेको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुख कोइरालाले पठाउनु भएको सूचना पढेर सुनाउनु भएको थियो । प्रदेशसभाको बैठक अन्त्य गर्न मुख्यमन्त्री डोरमणि पौडेलले संवैधानिक प्रक्रिया पूरा गरेर प्रदेश प्रमुख अनुराधा कोइरालासमक्ष बुधबार बिहान नै सिफारिस गरेर पठाउनु भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

दुई विधयेक पारित

प्रदेश नं ३ को प्रदेशसभाको बुधबार अपराह्न बसेको बैठकले दुई वटा विधेयकलाई बहुमतले पारित गरेको छ । प्रदेशमा सार्वजनिक निजी, सहकारी साझेदारीको व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेशभित्र औद्योगिक व्यवसाय स्थापना र सञ्चालन गर्न बनेको विधेयक २०७६ पारित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

आन्तरिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले उक्त बैठकमा सो विधेयक क्रमशः पारित गरियोस् भनी प्रस्ताव राख्नुभएको थियो । उक्त छलफलमा उठेका जिज्ञासाको आन्तरिक मामिला ढुङ्गेलले उत्तर दिनुभयो । उहाँले सरकारले निष्पक्ष र पारदर्शीको सार्वजनिक, निजी क्षेत्रका सहकारीलाई समन्वय र सहकार्यबाट प्रदेशका दुर्गम भेगका जनतालाई कृषि उत्पादन, पशुपालन एवं आर्थिक आत्मनिर्भर बढाउने कार्यक्रमलाई प्रभावकारी बनाउँदै लैजान सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

सो छलफल कार्यक्रममा प्रदेशसभाका सदस्य रीना गुरुङ, विजयाकेसी श्रेष्ठ, नारायणबहादुर सिलवाल, राजेन्द्र गुरुङले सार्वजनिक सहकारीलाई पहुँच नभएको जनताका बीच क्रयशक्ति बढाउन सरकारले कार्यक्रमका साथै अनुदान लगानी गर्नुपर्ने, सहकारीलाई नियन्त्रण गर्न तत्काल अनुगमनको प्रक्रियालाई सञ्चालन गर्न माग गर्नुभयो ।

प्रदेशसभाको चौथो अधिवेशन बैठक ०७६ वैशाख ३० गतेदेखि शुरु भई बुधबारसम्म जम्मा ३२ पटक बैठक बसेको उक्त सचिवालयले जनाएको छ । सो अवधिभित्र सचिवालयमा ४५ वटा विधेयक दर्ता गरिएको मध्ये आजको बैठकसम्ममा ४१ वटा विधेयक पारित गरिएको प्रदेशसभा सचिवालयले स्पष्ट गरेको छ । पारित भएको ४१ वटा विधेयकमध्ये ३८ वटा विधेयकमा प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रमाणीकरण गरिसक्नुभएको छ ।

प्रदेशसभाको बसेको बैठकमा प्रदेशसभाका १५ जना सदस्यले विभिन्न समयमा बैठकमा कारणबस उपस्थित हुन नसकिएका कारण दर्शाउँदै बिदा स्वीकृतिको माग गरे बमोजिम बैठकको बहुमतले बिदाको स्वीकृत प्रदान गरेको छ ।

प्रदेशसभामा सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेस, साझा विवेकशील पार्टी, नेपाल किसान मजदूर पार्टी, राप्रपा, राप्रपा संयुक्त र एक स्वतन्त्र सांसदसहित जम्मा १०९ जना प्रदेशसभाका सदस्य हुनुहुन्छ । प्रदेशसभाको बैठक मुख्यमन्त्री परिषद्को सिफारिस बमोजिम प्रदेश प्रमुख कोइरालाले गए राति १२ बजेदेखि अन्त्य गर्नुभएको हो ।
रासस

Logo