कैलालीमा छिमेकीबाटै कुटिएकी महिलाः ३८ दिनदेखि नत न्याय, न उपचार

कैलालीमा छिमेकीबाटै कुटिएकी महिलाः ३८ दिनदेखि नत न्याय, न उपचार


  • कृष्णसिंह धामी

जग्गाका विषयमा विवाद हुँदा कैलालीमा एक महिला मरासन्न हुनेगरी कुटिएको डेढ महिना वितिसक्दा पनि नत न्याय पाउन सकेकी छन् । नत उनले राम्रो उपचार पाउन सकेकी छन् । चुहा लम्की नगरपालिका–८ गप्काकी २५ वर्षीया राम जानकी डगौरालाई असार १७ गते मरणासन्न हुनेगरी कुटपिट गरिएको थियो । जग्गाको विषयमा विवाद हुँदा छिमेकी ३५ वर्षीय यमबहादुर चौधरी, उनका बुवा ५८ वर्षीय मारकुण्डे चौधरी, दिदि लक्ष्मी चौधरी लगायतले कुटपिट गरेका थिए ।

उनीहरूले लात्तैलात्ताले ढाड, पेट तथा शरिरका विभिन्न अंगमा हानेका थिए । उनीहरूको कुटाईबाट राम जानकी बेहोस भएकी थिइन् । कुटपिट भइरहँदा उनका श्रीमान तिर्थ चौधरी छुटाउँन आएका थिए । तर उनीमाथी धारिलो फरूवा लिएर मारिदिने आएपछि तिर्थ ज्यान बचाउँन घरभित्र पसेका थिए । बेहोस अवस्थामा राम जानकीलाई असपताल लगिएपनि राम्रोसँग उपचार हुने सकेको छैन् । अहिले उनको अवस्था गम्भीर रहेको अर्का छिमेकी टंक देउवाले जानकारी दिए ।

छिमेकी टंकका अनुसार राम जानकीको परिवारले गप्कामा अढाई कट्टा एैलानी जग्गा छ । त्यो जग्गाको विषयलाई लिएर यमबहादुरको परिवारले बेला–बेला झगडा गर्दै आएको थियो । यम बहादुरको परिवारले आफ्नो जमिन बढाउँदै लगेका थिए । त्यही विषयमा राम जानकीले किन यसरी जग्गाको सिमा सार्नु भएको भन्दा ‘त बढी जान्ने भएकी, बढी बोल्ने भन्दै’ खेतमै कुटपिट गरेका थिए ।

घटनापछि चुहा प्रहरी चौकीमा पीडित परिवार ठाडो उजुरी लिएर गएका थिए । प्रहरीले घटना आर्थिक लेनदेनमा मिलाउन भन्दै फर्काइदिएको थियो । पीडकले पनि आफुले उपचार गराइदिने भन्दै उजुरी नगर्न आग्रह गरेको थियो । विभिन्न वहानामा उनीहरूले घटनालाई लम्ब्याउँदै आएका थिए । पछि सात दिनमा इलाका प्रहरी कार्यालय लम्की गएका थिए । लम्कीले म्याद गुज्रिएको भन्दै उजुरी लिन मानेन् । कुनै मेडिकल रिपोर्ट नभएकाले उजुरी लिन नमानेको प्रहरीले जनाएको छ ।

कुटपिट भएको कुनै प्रमाण नहुँदा अहिलेसम्म उनीहरूको उजुरी लिन नसकिएको कैलाली प्रहरी प्रमुख एसपी सुदिप गिरीले जानकारी दिए । एकातिर म्याद गुज्रिएको तथा अर्कोतिर कुटपिट भएको वा प्रयास भएको भन्ने प्रमाण दिने मेडिकल रिपोर्ट नहुँदा उजुरी लिन समस्या भएको उनको भनाई छ ।

‘घटना प्रमाणित गर्ने सानो पनि मेडिकल रिपोर्टं लिएर आउनुहोस्, म उजुरी दर्ता गरेर पिडकमाथि कारवाही गर्छु भनेको छु । तर अहिलेसम्म उहाँहरूले प्रमाण ल्याउन सक्नु भएको छैन् । जसले गर्दा हामीलाई पनि गाह्रो भइरहेको छ ।’ एसपी गिरीले भने । उक्त घटनाप्रति आफुहरूले पनि गम्भीर भएरै हेरिरहेको उनको भनाई छ ।

तर पीडित परिवारले भने प्रहरीले कुनै प्रकारको सहयोग नगरेको आरोप लगाएको छ । उल्टै पिडकहरूले घटना बाहिर ल्याए ज्यान मार्ने धम्की दिइरहेका छन् । एकदमै सिधा श्रीमान तिर्थलाई काठमाडौंमा रहेका श्रीमती पिट्ने यम बहादुरले बारम्बार धम्की दिइरहेको पीडित परिवारको आरोप छ । बारम्बार धम्काएर “बाहिर कतै भनिस भने राम्रो हुने छैन् । यो त केही होईन बिचार गर्नु” भनेर धम्की दिइरहेको पीडितको न्यायका लागि लागेका अभियन्ता जनक सुनारले जानकारी दिए ।

राम जानकीलाई थप उपचारको लागि विभिन्न संघ–संस्थाको सहयोगमा सेती अञ्चल अस्पताल धनगढी लगिएको छ । आर्थिक अभावमा उपचार गराउन सकेका थिए । पीडितको अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएको छ । यतिबेला उनको शरिरमा रगतको मात्रा एकदमै कम भएको छिमेकी टंकको भनाई छ । ‘अहिलेसम्म उपचार नहुँदा उनको शरिर एकदमै सिथिल बनेको छ । रगतको मात्रा पनि एकदमै कम भएको छ । पुरै शरिर पहेलो भएको छ । विभिन्न संघ संस्थाको सहयोगमा हामीले थप उपचारको लागी धनगढी पठाएका छौं ।’ उनले भने ।

अब घटनामा कानूनीसँगै मेडिकल जटिलता आएको छ । घटना भएको ३५ दिन नाघिसकेकाले प्रहरीले उजुरी दर्ता गराउन सकेको छैन् । यस्ता कुटपिटको घटनामा ३५ दिनभित्र उजुरी दिनुपर्ने कानूनी व्यवस्था छ । अर्कोतिर राम जानकीको घाँउ जाँच पनि भएको छैन् । घाउँ जाँच वा कुनै मेडिकल रिपोर्टको प्रमाण भएमा उजुरी दर्ता गराएर पिडकलाई कारवाही गर्न सहज हुने एसपी गिरीको भनाई छ ।

Logo