अस्ताए नेपाली साहित्यका धुरन्धर विद्वान

अस्ताए नेपाली साहित्यका धुरन्धर विद्वान


ज्ञानमणि नेपाल कालोटोपी

काठमाडौं । कोशकार वसन्तकुमार शर्म्मा नेपालको ९७ वर्षको उमेरमा निधन भएको छ । शनिबार दिउसो २ बजे कुमारीगालस्थित आफ्नै निवासमा निधन भएको उहाँका छोरा साहित्यकार विनयकुमार शर्म्मा नेपालले जानकारी दिए । उहाँ बिगत ४ महिना यता फोक्सोको रोगबाट पीडित हुनुहुन्थ्यो । पछि उहाँलाई अन्य समस्याहरु पनि देखिए । करिव २ महिना विभिन्न अस्पतालहरुमा उपचार गराएर पनि निको नभएपछि नेपाललाई घरमै लगिएको थियो । २ महिनादेखि मान्छे नचिन्ने समस्या पनि उहाँमा देखिएको थियो । यहि समस्याबाट उहाँको निधन भयो ।

शनिबार उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि दुई घण्टा पशुपति आर्यघाटमा राखिएको थियो । शनिबार साँझ नै उहाँको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उहाँका ४ छोरा र ३ छोरी हुनुहुन्छ । वसन्तकुमार शम्र्मा नेपालको निधनले नेपाली साहित्यले एउटा धुरन्धर विद्वान गुमाएको छ ।

वि.सं. १९७९ साल चैत्र रामनवमीका दिन उहाँको जन्म भएको हो । गएको चैत्र ३० गते उहाँ ९७ वर्षमा प्रवेश गर्नुभएको थियो । नेपाली साहित्य–धर्मशास्त्र–राजशास्त्रमा शास्त्री गरेका नेपालले हिन्दी साहित्यमा साहित्यभूषण, नेपालीमा एम.ए., बी.एड तथा हामियोडाक्टर उपाधि हाशिल गर्नु भएको थियो । नेपाली भाषाको सबैभन्दा ठूलो शब्दकोश नेपाली शब्दसागर सहित ७६ वटा कृतिका सर्जक नेपालका करिव डेढदर्जन कृति छाप्न बाँकी छन् ।

नेपाली भाषा प्रकाशिनी समिति र भाषानुवाद् परिषदमा बृहत नेपाली शब्दकोशका सहायक सम्पादक तथा संक्षिप्त संस्कृत नेपाली शब्दकोशका सहायक सम्पादक भएर काम गर्नुभएका उहाँ नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान गद्यसाहित्य विभाग तथा विदेशी साहित्यकार सम्पर्क समितीका सचिव र चित्रकला विभागका सहायक सचिव पनि हुनु हुन्थ्यो । उहाँ नेपाली शिक्षा परिषदका संस्थापक शिक्षक, रत्न राज्यलक्ष्मी क्याम्पसका संस्थापक सचिव र प्राध्यापक पनि हुनुहुन्थ्यो ।

उहाँ पशुपति बहुमुखी क्याम्पस चाबहिलका संस्थापक, सदस्य सचिव र क्याम्पस प्रमुख पनि हुनुहुन्थ्यो । कन्या क्याम्पस डिल्लीबजारका संस्थापक प्राध्यापक रहनु भएका नेपाल पद्मोदय मावि रामशाहपथका शिक्षक पनि हुनुहुन्थ्यो । यसका साथै दर्जन भन्दा वढी स्कुल र क्याम्पसमा प्राध्यापन गर्नुका अतिरिक्त देशका विभिन्न स्थानमा विद्यालय खोल्नमा पनि उहाँको सक्रियता उल्लेखनिय रहेको छ ।

विश्व प्रसिद्ध साहित्यकार मेक्सिम गोर्कीको आमा कृतिलाई नेपालीमा अनुवाद गरेपछि उहाँ २०१० सालमा रुस सरकारबाट पुरस्कृत हुनुभएको थियो । शिक्षा सेवा नगद पुरस्कार २०२९ बाट पुरस्कृत उहाँ विश्व हिन्दु परिषदबाट पनि अभिनन्दित हुनु भएको थियो । वीरेन्द्र–ऐश्वर्य सेवा पदक ०५८ बाट विभुषित उहाँ त्यहि वर्ष नेपाल वंशज परिषदबाट पनि अभिनन्दित हुनुभयो । सुप्रवल गोरखा दक्षिणबाहु ०५९, देवकोटा काव्य सम्मान ०६० पाउनु भएका नेपालले करिव ४ दर्जन संस्थाहरुबाट सम्मानित र पुरस्कृत हुने अवसर पाउनु भयोे ।

उहाँको पहिलो कृति युगको वारिस (लघुनाटक) २००८ सालमा प्रकाशित भएको हो । वि.सं. २०१० सालमा विधवा विवाह खण्डकाव्य पनि प्रकाशित भयो । उहाँले बालकथा, निबन्ध, व्याकरणलेखन, पाठ्यपुस्तकको सहलेखन गर्नुका साथै कथा, नाटक र महाकाव्य पनि लेख्नु भएको थियो । उहाँको पहिलो महाकाव्य विप्रलम्भ ०४४ सालमा प्रकाशित भएको हो ।

विभिन्न भाषाका काव्यरचनाहरुलाई नेपालीभाषामा अनुवाद गर्नुभएका उहाँले अंग्रेजी भाषामा पनि शब्दकोशहरु लेख्नुभएको छ । उहाँको बृहत नेपाली शब्दसागर (शब्दकोश) अहिले सम्मकै नेपालीभाषाको सबैभन्दा ठूलो शब्दकोश हो ।

उहाँको पछिल्लो कृति भासका समग्र नाट्यकृति शिर्षकको नाटक संग्रह (अनुवाद) ०७६ वैशाख १ गते बिमोचन गरिएको थियो । उहाँ शब्दार्थ प्रकाशन र नेपाल वंशज परिषद्का संरक्षक पनि हुनुहुन्थ्यो । उहाँको निधनले नेपाली साहित्यमा अपुरणिय क्षती पुगेको छ । साहित्यमा उहाँको अभाव सधैं खड्किरहने छ ।

Logo