दिगो विकासका निम्ति ग्रामीण पर्यटन भन्ने मूल नाराका साथ पर्यटन दिवस मनाइयो

दिगो विकासका निम्ति ग्रामीण पर्यटन भन्ने मूल नाराका साथ पर्यटन दिवस मनाइयो


काठमाडौं । आइतबार ‘४१ औँ विश्व पर्यटन दिवस’ विविध कार्यक्रम गरी मनाइएको छ । यस वर्ष ‘दिगो विकासका निम्ति ग्रामीण पर्यटन’ भन्ने मूल नाराका साथ देशैभर विभिन्न कार्यक्रम गरी पर्यटन दिवस मनाइएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले पर्यटन दिवसको अवसरमा काठमडौंको चोभारस्थित मन्जुश्री पार्क पुगेर वृक्षारोपण गरेका छन् । सो अवसरमा मन्त्री भट्टराईले कोभिड–१९ का कारण अर्थतन्त्रमा नराम्रोसँग धक्का परेको अवस्थामा पर्यटनको क्षेत्रबाट अर्थतन्त्रलाई उठाउन सकिने बताए । कोभिडका कारण देशको आम्दानीका स्रोतहरु घटेको अवस्थामा राज्यले मानिसको स्वास्थ्यलाई जोगाउन पहिलो प्राथमिकता दिएपनि पर्यटन क्षेत्रको विकासका लागि पनि विभिन्न कार्यक्रम ल्याउने उनले जानकारी दिए । राज्यको आम्दानीको स्रोतको विकास गर्नका लागि उपत्यका वरिपरिका डाँडाहरुलाई घुम्न जाने नजिकको गन्तव्यको रुपमा विकास गरिने उनले बताए । चोभारलाई पनि त्यसै कार्यक्रमसँग जोडेर विकास गरिने मन्त्री भट्टराईले स्पस्ट पारेका छन् ।

मन्जुश्री पार्कसँगसँगै उपत्यका वरिपरिका पहाडहरुलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकेमा उपत्यकाको रात्रिकालिन जीवनको पनि सुरुआत हुने मन्त्री भट्टराईको भनाइ छ । उनले अबको पर्यटन ग्रामीण पर्यटनमाथि केन्द्रीत हुनुपर्ने पनि स्पष्ट पारे । ग्रामीण पर्यटनको विकासमा काम गर्न सके ग्रामीण क्षेत्रका मानिसहरुको आर्थिक जीवनमा समेत परिवर्तन ल्याउन सकिने मन्त्री भट्टराईको विश्वास छ ।

Logo