ब्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएनः सभामुख

ब्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएनः सभामुख


प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेल ब्यवस्थामा परिवर्तन भए पनि अवस्थामा परिवर्तन नभएको बताएका छन् । 

१६ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना दिदै सभामुख घिमिरेले तीनै तहको सरकारको नेतृत्व जनताको हातमा आएकोमा गर्ब गर्नुपर्ने भने जनाएका छन् ।

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकाससँगै देशको समृद्धि र सुशासन आजको प्रमुख आवश्यकता हो, हाम्रा आन्दोलनहरूले व्यवस्थामा परिवर्तन ल्याए पनि अवस्थामा खासै परिवर्तन नभएको आम अनुभूति छ, ‘आफनो शुभकामना सन्देशमा उनले भनेका छन, ‘नागरिकका विकासका चाहनाहरू, समृद्धिका अपेक्षाहरू र सेवा प्रवाहका लागि अपेक्षित सहजताहरू प्रदान गर्न अझै प्रयत्न गर्नुपर्ने आवश्यकता देखिएको छ ।’  उनका अनुसार सुशासनका पक्षमा निर्ममतापूर्वक काम गर्न जनताको प्रयत्न उत्तिकै बलशाली हुँदै गएको छ । 

यस्तो छ, सभामुखको शुभकामना सन्देशः 
गणतन्त्र दिवस– २०८०को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गर्दछु । साथै, लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनास्वरूप हामीले प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मनाउँदै आएका छौँ । लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनमा नेतृत्व गर्ने राजनीतिक दल, राजनीतिक कार्यकर्ता, नागरिक समाज एवं आम जनसमुदायको योगदानको स्मरण गर्न चाहन्छु ।

नेपालमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रका लागि पटक–पटक आन्दोलन भएका छन् । आन्दोलनको जगमा बनेको संविधान सभाले निर्माण गरेको सङ्घीयतासहितको संविधान कार्यान्वयन भइसकेको छ । राजनीतिक आन्दोलनबाटै वंश परम्पराको शासन अन्त्य भएको छ भने शासन सत्ता जनताको हातमा आएको छ । आवधिक निर्वाचनबाट जनताले आफ्ना प्रतिनिधिमार्फत तीन वटै तहमा शासनको नेतृत्व गरिरहेका छन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकाससँगै देशको समृद्धि र सुशासन आजको प्रमुख आवश्यकता हो । हाम्रा आन्दोलनहरूले व्यवस्थामा परिवर्तन ल्याए पनि अवस्थामा खासै परिवर्तन नभएको आम अनुभूति छ । नागरिकका विकासका चाहनाहरू, समृद्धिका अपेक्षाहरू र सेवा प्रवाहका लागि अपेक्षित सहजताहरू प्रदान गर्न अझै प्रयत्न गर्नुपर्ने आवश्यकता देखिएको छ भने सुशासनका पक्षमा निर्ममतापूर्वक काम गर्न जनताको प्रयत्न उत्तिकै बलशाली हुँदै गएको छ । 

अन्त्यमा, गणतन्त्र प्राप्ती र यसका उपलब्धीलाई रक्षा गर्दै अघि बढ्न सरकार, राजनीतिक दल, प्रशासन संयन्त्र तथा आम नागरिकलाई अपिल गर्दछु । गणतन्त्रले ल्याएका परिवर्तनलाई नागरिकको जीवनपद्धतिमा प्रयोग गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।
 

Skip This
Logo