अर्घाखाँची छत्रदेवका आगलागी र मिर्गौला पीडितलाई यूएईबाट आर्थिक सहयोग

अर्घाखाँची छत्रदेवका आगलागी र मिर्गौला पीडितलाई यूएईबाट आर्थिक सहयोग


यूएई । यूएईमा कार्यरत अर्घाखाँची छत्रदेव गाउँपालिकाका युवाहरूले आफ्नो गाउँका आगलागी र मिर्गौला पीडितलाई आर्थिक सहयोग गरेका छन् ।

अघिल्लो महिना भएको आगलागीका कारण घर गोठ तथा बस्तुभाउ जलेर नष्ट हुँदा समस्यामा परेका छत्रदेव ८ अर्घातोषका गोपाल रिमालको परिवारलाई यूएईमा कार्यरत युवाहरूले ३५ हजार सहयोग गरेका हुन् । त्यस्तै उनीहरूले सोही गाउँकै मिर्गौला पीडित १४ वर्षीया मनीषा नेपालीलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

छत्रदेव गाउँपालिकाबाट यूएई आएर रोजगारी गरिरहेका युवाहरूको सङ्गठित संस्था बल्कोट दुबई सम्पर्क समिति यूएईमार्फत डेढ सातामा ६० हजार रुपैयाँ सङ्कलन गरेर आर्थिक सहयोग गरेको समाजका अध्यक्ष तुमलाल पाण्डेले जानकारी दिए ।

सङ्कलित रकमबाट ६० हजार सम्बन्धित परिवारलाई प्रदान गरिएको र अझै करिब १० हजार रुपैयाँ सङ्कलन गर्न बाँकी भएको र सो रकम समेत आपतकालिन कोषमार्फत विपदमा परेका परिवारलाई प्रदान गरिने समाजले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेल, वडा नम्बर ८ का अध्यक्ष राजकुमार श्रेष्ठ र ३ नम्बर वडाका अध्यक्ष तेजप्रसाद खनालको रोहबरमा समाजका कोषाध्यक्ष नमराज भुसालको उपस्थितिमा एक कार्यक्रमकाबीच रकम हस्तान्तरण गरिएको हो ।

Logo