‘ओली सरकारले संविधानको मूल मर्म र भावनामाथि प्रहार गरेको छ’ : प्रचण्ड 

‘ओली सरकारले संविधानको मूल मर्म र भावनामाथि प्रहार गरेको छ’ : प्रचण्ड 


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विघटित प्रतिनिधिसभा  पुनर्स्थापना हुने भएकोले ढुक्क भएर राजनैतिक गतिविधि सञ्चालन गर्न मजदूर संगठनलाई आग्रह गरेका छन्। 

मंगलबार अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको  ‘२० औं मजदूर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रम’ लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजनैतिक गतिविधि बढाउन आग्रह गरेका हुन् । उनले सामाजिक न्याय सहितको नयाँ युगको लागि पुनर्स्थापित प्रतिनिधिसभाले काम गर्ने पनि बताए । केपी ओलीको सरकारले संविधानको मूल मर्म र भावनामाथि प्रहार गरेको उल्लेख गर्दै त्यसको विरुद्धमा देशका सबै जनता खडा भइसकेको बताए । 

उनले भने,  ‘अहिले केपी ओलीको सरकारले संविधानको मूल मर्म र भावनामाथि प्रहार गरेको छ र देशभरी जनता सबै आम रुपमा नै यो विघटन गलत छ भन्नेमा खडा भइनै सकेको छ । यसको साथसाथै देशका तमाम बुद्धिजिवीहरु, साहित्यकार, कवि, कलाकार, पत्रकारहरु, संविधानविद्, कानूनविद्हरु सबै यो विघटनको विरुद्ध छन् र मलाई विश्वास छ भोलि, पर्सि या निकोपर्सिसम्म सर्वोच्च अदालतले यो संविधानमाथि गरिएको घातलाई सच्याउने छ र संसद पुनस्र्थापित हुनेछ । हामी त्यहीबाट नयाँ कानून बनाउने, जनताको हक अधिकार स्थापित गर्ने, मजदुर किसानका मौलिक अधिकार संविधानमा लेखिएको छ तर केपी ओली नेतृत्वको सरकारले लागू गरेको छैन । हामी त्यसलाई लागू गर्नेछौं र देशमा समाजवाद, सामाजिक न्यायको नयाँ युगको सुरुवात हामी अगाडि बढाउनेछौं ।’

अध्यक्ष प्रचण्डले अदालतमा बहस सिद्धिएपछि अहिले हेर्दा हेर्दैमा रहेको र कुनैपनि बेला संविधान र संसदलाई विघटन गर्ने असंवैधानिक र अलोकतान्त्रिक कदम सच्चिने र संसद पुनस्र्थापना हुने विश्वास समेत व्यक्त गरे । संविधानमा कुनै अपुग भए त्यसलाई संशोधन गर्दै लैजान सकिने समेत बताए । 

Logo