संसद पुनर्स्थापित भएपछि कांग्रेसले भन्यो, ‘न्यायमूर्तिहरुलाई लाख-लाख सलाम’

संसद पुनर्स्थापित भएपछि कांग्रेसले भन्यो, ‘न्यायमूर्तिहरुलाई लाख-लाख सलाम’


सरकारले गरेको प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरेपछि नेपाली कांग्रेसले यसको स्वागत गरेको छ । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यस बारे प्रतिक्रिया दिंदै स्वागत गरेका हुन् । आज सामाजिक संजालमा एक सन्देश लेख्दै उनले भनेका छन् ,  

संसद विघटन असंवैधानिक ठहर गर्दै सिंगो देश आन्दोलनमा थियो । फैसलाले विघटनसँगै अधिनायक आकांक्षालाई समेत बदर गरेको छ । संविधान रक्षा गर्दै जनताको जीत भएको छ ।

यस्तै नेता गगन थापाले पनि यसको स्वागत गरेका छन् । उनले लेखेका छन्,

हामी सबैलाई बधाई !

संविधान विरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको छ। अदालतले बिना भय र दवाव, विवेकसम्मत रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफूलाई उभ्याउँदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको छ।

सरकारले गरेको प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । यो सँगै १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश दिएको छ । 

आज साँझ प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले फैसला सुनाएका थिए । निर्णयलाई बदर गर्दै १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश दिएको हो ।

न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएका थिए । सो फैसला अनुसार अब संसद पुनर्स्थापित भएको छ ।

आज सर्वोच्चले सो मुद्दाका रिट निवेदकहरुलाई इजलासमा बोलाएको थियो । 

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै सर्वोच्चमा १३ जनाले रिट दायर गरेका थिए ।

यता ओली निकट नेकपा बाहेक अन्य दलहरु यसको विरुद्धमा सडक संघर्षमा छन् । संसद पुनर्स्थापना भएसँगै सरकारले तोकेको निर्वाचन नहुने भएको छ भने यसको सर्वत्र स्वागत गरिएको छ । 

Logo