गण्डकी प्रदेश सरकारका माओवादी केन्द्रका दुई मन्त्रीद्वारा राजीनामा

गण्डकी प्रदेश सरकारका माओवादी केन्द्रका दुई मन्त्रीद्वारा राजीनामा


गण्डकी प्रदेशका आन्तरिक मामला मन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था तथा कृषिमन्त्री लेखबहादुर मगरले राजीनामा दिएका छन्। माओवादी संसदीय दलका नेतासमेत रहेका चुमानले आज प्रदेशसभा बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई राजीनामा बुझाएको जानकारी दिए।

आज माओवादीको संसदीय दलको बैठकले आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम आफूहरु दुवै जनाले मुख्यमन्त्रीलाई राजीनामा बुझाएको चुमानले जानकारी दिएका छन्। तीन वर्षसम्म सरकारमा रहँदाको साथ र सहयोगका लागि उनले मुख्यमन्त्री गुरुङप्रति आभार व्यक्त गरेका थिए । प्रदेशसभा बैठकलाई सम्वोधन गर्दै चुमानले वर्तमान बिडम्बनापूर्ण राजनीतिक परिस्थितिले गर्दा नमिठो निर्णय लिनु परेको बताए ।

माओवादी केन्द्रले प्रदेश सरकारबाट मन्त्रीहरूलाई फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । यसबारमा माओवादी केन्द्रले पछि छलफल गर्ने प्रतिक्रिया दिएको छ। गण्डकी प्रदेशमा माओवादी केन्द्रले सरकारको साथ यदि छोड्ने नै हो भनेपनि त्यहाँको गणित केन्द्रको भन्दा फरक देखिन्छ । 

माओवादीले समर्थन फिर्ता लिएपनि ६० सदस्यीय गण्डकी प्रदेश सभामा एमाले एक्लैका २७ सांसद छन् । उक्त २७ संख्या एमालेको एकल बहुमतका लागि ३ सिटले अपुग हो। अर्कातर्फ माओवादी केन्द्रसँग १२ सांसद छन् । त्यसमा एक जना सभामुख रहेका छन्। 

वर्तमान गण्डकी प्रदेश सरकारलाई माओवादीसँगै जनमोर्चाले पनि समर्थन गर्दै आएको छ । जनमोर्चासँग ३ जना सांसद छन् । बहुमतका लागि ३० सांसदको समर्थन चाहिन्छ, जुन एमाले र जनमोर्चाका संसद जोड्दा सहजै पुग्छ। त्यसैले गण्डकी प्रदेश सरकार सुरक्षीत रहेकोमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ ढुक्क देखिन्छन्।

Logo